ब्रोइलर पालन : घरमै बसी लाखौ आम्दानी गर्न सकिने व्यवसाय !

धनगढी,बैशाख २२

ब्रोइलर एउटा कम समयमा मासु उत्पादन गर्ने क्षमता भएको कुखुराको प्रजाति हो।  यो लगभग ६ हप्तामा ३८- ४० ग्राम वजनको चल्लादेखि बढेर लगभग १ केजी ७०० ग्राम सम्म पुग्छ। यसको व्यवसाय गर्ने हो भने निकै राम्रो आम्दानी गर्न सकिन्छ।

मासु उत्पादनका लागि व्यापारिक उदेश्यले पालिने ब्रोइलरका प्रजातिहरू:

  • कलर ब्रोइलर
  • हाई – ब्रो
  • भेनकब
  • केरीब्रो
  • बेबकोब
  • कृषिब्रो

खोर कसरी बनाउने?

खोरका लागि सबैभन्दा पहिला पर्याप्त जमिनको छनौट गर्नुपर्छ।  घरेलु तथा मानव क्रियाकलापदेखि अलग ठाउँको छनौट गर्दा राम्रो हुन्छ। खोरको मोहडा पूर्व अथवा पश्चिम फर्केको हुनु उचित मानिन्छ।  खोर बनाउनका लागि स्थानीय रूपमा पाइने सामाग्री जस्तै बाँस, माटो र छानाको लागि भने खर, पराल, छ्वाली वा जस्तापाता आदिको प्रयोग गर्न सकिन्छ।  खोर बनाउँदा तलको एक फिट भाग इटाको पर्खाल लगाउने र माथिको भागमा जाली लगाउनु उचित हुन्छ।

खोरको व्यवस्थापन कसरी गर्ने?

खोरका लागि पानी तथा बिजुलीको राम्रो व्यवस्था मिलाउनुपर्छ। खोर बनाउँदा हावादार बनाउनुपर्छ।  यसका लागि दुई विपरीत दिशामा तारको जाली भएको भेन्टिलेसन बनाउन सकिन्छ। खोरहरूको बिचमा कम्तीमा ३० फिट खाली भाग हुनुपर्छ। यसो गर्दा पनि खोरहरूमा हावाको राम्रो आवतजावत हुन्छ।

साना चल्ला हुर्काउने खोर र ठुला, कुखुरा तथा फुल पार्न आँटेका कुखुराको खोरभन्दा ३०० फिट टाढा बनाउनुपर्छ।

ओस सोस्न र कुखुरालाई आराम दिनका लागि कम्तीमा २ इन्च बाक्लो सोत्तर हाल्नुपर्छ।  काठको धुलो, धानको भुस, बदामको बोक्रा, छिमलेको घाँसका टुक्रा आदिलाई सोत्तरका रूपमा प्रयोग गर्न सकिन्छ।  सोत्तरलाई ५ पत्र पत्रपत्रिकाले छोप्नुपर्छ।

चल्लाहरूलाई न्यानो राख्न पनि उत्तिकै जरुरी हुन्छ।  खोरमा चल्ला हुल्नुभन्दा २४ घण्टा अगाडी ब्रुडरको बत्ती/हिटर बाली खोरको तापक्रम ९० देखि ९५ डिग्री फरेनहाइट राख्नुपर्छ।  तर चल्ला ठुला भएपछि ५० डिग्री फरेनहाइटसम्म घटाउन मिल्छ। हावाहुरीको समस्या आएमा झ्यालढोकामा जुटको बोरा वा पोलिथिनको पर्दा प्रयोग गर्न सकिन्छ।

दानापानीको व्यवस्था कसरी गर्ने?

दाना पानी खुवाउन धातु वा प्लास्टिकका भाडा प्रयोग गर्न सकिन्छ।  ब्रोइलर कुखुरालाई पहिलो दुई हप्ता स्ट्राटर B0 दाना दिनुपर्छ। त्यसपछि दुई हप्ता B1 र पछि बिक्री गर्ने बेलासम्म B2 फिनिसर दाना दिनुपर्छ।

बजारमा दाना खरिद गर्दा भरपर्दो, विश्वासनीय तथा प्राविधिक सल्लाह र क्षतिपूर्तिसमेत दिने दाना उद्योग वा आपूर्तिकर्तासंग लिनु बुद्धिमानी हुन्छ।  नेपालमा ब्रोइलर दाना उत्पादन गर्ने उद्योग धेरै छन् जस्तै दउन्ने, पोसक, शक्ति, अन्नपूर्ण, बिजय आदि।

स्वास्थ्यको व्यवस्था कसरी गर्ने?

आफूले कुखुरा पाल्ने क्षेत्रमा कस्ता खालका रोग लाग्ने सम्भावना हुन्छ सोही अनुसारको खोप दिने व्यवस्था गर्नुपर्छ।  कुखुराको उमेर अनुसार मिल्ने गरी सो खोप लगाउनुपर्छ। यसो नगर्दा कुखुरालाई रानी खेत, गम्बोरो, लिचीजस्ता रोग लग्न सक्छ।  यस्तो रोग लागेपछि कुखुराको उपचार सम्भव छैन। खोर वरिपरिको सफाइ गर्दा नियमित चुनपानी छर्नुपर्छ। खोरमा मरेका कुखुरालाई सुरक्षित रूपमा गाडेर तह लगाउनुपर्छ।

बर्डफ्लु जस्ता रोगको जोखिम हुने हुनाले समयमै व्यवसाय बिमा गर्न जरुरी हुन्छ।

कस्तो छ यसको व्यवसायिक सम्भावना?

थोरै लगानीमा धेरै आम्दानी लिन सकिने व्यवसाय मध्ये यो पनि एक हो। व्यवस्थित रूपमा पाल्ने हो भने घरमै बसी महिनामा १ देखि डेढ लाख सम्मको आम्दानी गर्न सकिन्छ।

पहिले पहिले नेपाली बजारमा चाडपर्वहरुमा मात्रै मासुको खपत बढ्ने देखिन्थियो भने, बढ्दो व्यवसायिक कुखुरापालन संगै हिजोआज दैनिक जीवनमा पनि उत्तिकै बिक्री हुने गरेको छ। व्यावसायिक कुखुरापालनबाट बजारमा मासु सस्तो हुदै जानु र सर्वत्र रुपमा उपलब्ध हुनुले ग्राहकलाई यसले आकर्षित गरेको छ ।

अन्य व्यवसायमा जस्तो कुखुराको मासुको बजारको लागि धेरै गाह्रो परेको देखिंदैन, गाउँ-घरमा उत्पादित मासु धेरैजसो स्थानीय बजारमै खपत हुने गरेको भेटिन्छ । धेरै उत्पादन भइ बिक्रि गर्न कठिनाई भए नजिकैको बजारमा सानो मासु पसल खोलि काटेर बेच्ने काम गरे पनि बिक्रि गर्न गार्हो पर्दैन । त्यस्तै ठूला-ठूला फ्रेसहाउसहरुले समेत हिजोआज खोरसम्मै आई ब्रोइलर कुखुरा खरिद गरि लाग्ने गरेको पाइन्छ।

आर्थिक वर्ष २०७२/७३ को तथ्यांक अनुसार देशमा ५५,०४१ मेट्रिक टन  कुखुराको उत्पादन भएको थियो । सोहि तथ्यांक अनुसार कुखुरापालनका लागि नेपालमा  ८० बिलिअन लगानी परेको देखिन्छ भने कुखुरा पालनबाट कुल ग्राहस्त उत्पादनमा ४ प्रतिशत पुगेको थियो त्यस्तै एक लाख पचासहजार भन्दा बढीले यस व्यवसायबाट रोजगार पाएका थिए। थप जानकारीका लागि नेपाल इन डाटाद्वारा तयार पारिएको तथ्यांक चित्र हेर्नुहोस्।

देशका सातै प्रदेशहरुमा कहाँ कहाँ कति कति फर्महरु छन् भन्ने जानकारी तलको तथ्यांकले देखाउछ। यस तथ्यांकबाट नेपालमा सबैभन्दा बढी अरु कुखुराभन्दा ब्रोइलर पालन सबैभन्दा धेरै अर्थात् ८७% भएको देख्न सकिन्छ। थप जानकारीका लागि नेपाल इन डाटाद्वारा नै तयार पारिएको अर्को तथ्यांक चित्र हेर्न सक्नुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *