महिलाले व्यवसाय गर्दा चाहिने बिशेष ७ टिप्सहरू

धनगढी,बैशाख २२

व्यवसाय सुरु गर्नु नै एक किसिमको चुनौती हो।  अझ हाम्रा जस्तो पुरुषप्रधान समाजमा, महिला भएर व्यवसाय गर्नु त एकदमै चुनौतीपूर्ण मानिन्छ । महिला भएकै कारण व्यवसाय गर्दा कसैले नपत्याईदिने, जस्तै की व्यवसायको लागि चाहिने सामान पठाउनुपर्नेले महिलाको व्यवसाय भनेर समान नपठाउने, कर्मचारीले काम राम्रोसँग नगर्दिने जस्तो समस्या आउन सक्छ । त्यसै गरी घर-परिवार पनि हेर्नुपर्ने, व्यवसायलाई पनि ध्यान दिनुपर्ने, अनि अन्य आफन्त साथी भाइसँगको नाता सम्बन्ध पनि कायम गर्नुपर्ने, यस्ता धेरै जिम्मेवारी बोकेका महिलाहरूलाई सफलरूपमा व्यवसाय सञ्चालन गर्न चुनौतीपूर्ण हुने गर्दछ । यो लेखमा हामीले महिलालाई व्यवसाय गर्दा सहयोग पुग्ने टिप्सहरू समेट्न प्रयास गरेका छौँ ।

१. लक्ष्य  निर्माण गर्नुहोस् : कुनै पनि काम गर्दा किन काम गर्दै छु, मेरो जीवनको लक्ष सँग मैले गरेको काम मिल्छ कि मिल्दैन भनेर सोच्नुहोस् । आफ्नो जीवनको लक्ष र व्यवसायको उद्देश्य प्रस्टसँग निर्माण गर्नुहोस् । यदि तपाइले उदेश्यलाई लेखेर राख्नु भयो भने अझ प्रस्ट हुन सजिलो हुन्छ । र तपाइले गर्ने प्रत्येक कामलाई आफ्नो लक्ष र उदेश्यका साथ गर्नुभयो भने तपाईँलाई काम गर्न सजिलो हुन्छ । लक्ष्य  निर्माण गर्दा आफ्नो समय, लगानी, आफ्नो व्यक्तिगत र पारिवारिक जीवन जस्ता कुरालाई ध्यानमा राखेर निर्माण गर्नुहोस् ।

२. गर्नुपर्ने कामहरूको सुची तयार गर्नुहोस् : आफूले गर्ने कामहरूको सुची बनाएर, समय तोकेर क्यालेन्डरको निर्माण गर्‍यो भने काम गर्न सजिलो हुन्छ । आफूले गर्नुपर्ने कामहरू योजना बनाएर गरियो भने काम गर्न सजिलो हुन्छ । अब यसपछि के काम गर्नुपर्छ, अहिले सम्मको काम कहाँ पुग्यो भनेर आफूलाई राम्रो सँग जानकारी भयो भने आराम सँग कामहरू गर्न पाइन्छ र योजना पुरा गर्न सजिलो हुन्छ ।

३. चुनौती स्वीकार गर्नुहोस् :  महिला भएकै कारणले तपाईँ कुनै पनि रूपमा व्यवसाय गर्न कम्जोर हुनुहुन्न । तपाइले व्यवसायमा आउने प्रत्येक चुनौतीहरू स्वीकार गर्न सिक्नुभयो र चुनौतीहरूलाई स्वीकार गर्नुभयो भने तपाईँलाई व्यवसाय गर्ने हिम्मत बढेर आउँछ र जस्तो सुकै समस्याको पनि समाधान निस्कन सक्छ । तर यदि चुनौतीलाई स्वीकार गर्नुभएन भने तपाईँलाई व्यावसायिक जीवनमा मात्र नभएर व्यक्तिगत जीवनमा आएका समस्याहरूलाई समाधान गर्ने भित्री शक्ति हुँदैन । सफल त्यही व्यक्ति हुन्छ जसले चुनौती स्वीकारेर अगाडी बढ्छ ।

४.उद्देश्य ठुलो राख्नुहोस् : “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ” भने जस्तै तपाइले राख्ने उद्देश्य सधैँ ठुलो हुनु पर्छ । महिला भएको कारणले तपाइको पहिलो उद्देश्य व्यवसाय हैन भनेर समाजले भन्ने चलन छ  होला , तर तपाइको जीवनको उद्देश्य तपाइ महिला वा पुरुष हुनुले फरक पार्दैन । त्यसैले तपाइले उद्देश्य ठुलो राख्नुहोस , जसले गर्दा तपाइले त्यस उद्देश्य प्राप्तिको लागि काम गर्न प्रेरित हुनुहुन्छ र त्यसको लागि काम गर्नुहुन्छ । तपाईँलाई पुरानो बिचार-धाराले कहिल्यौ रोक्नु हुँदैन । तपाइले आफ्नो भविष्य र आफ्नो जीवन निर्माण स्वतन्त्र रूपले गर्न सक्नुहुन्छ ।

५. नेतृत्व लिनुहोस् : तपाइको व्यावसायिक जीवनमा यस्तो विभिन्न मोड आउन सक्छ जहाँ नेतृत्वको अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सानो नै किन नहोस् , नेतृत्वको आवशर आएको बेलामा नेतृत्व लिन नहीचकिचाउनुहोस ।आफ्नो विभिन्न क्षमताहरू प्रस्तुत गर्नुहोस् ।  जस्तै  : तपाईँ जस्तै व्यवसायीहरूको समूह बनाएर विभिन्न कार्यक्रमहरू गर्ने, त्यस्ता कार्यक्रममा नेतृत्व लिएर देखाउने गर्नुभयो भने तपाइको आफ्नो क्षमता त वृद्धि हुन्छ नै तपाइको व्यावसायिक कौशलता पनि अभिब्रिद्दी हुन्छ ।

६. सञ्जाल ( नेटवर्क ) समूहमा आबद्ध हुनूहोस : व्यावसायिक समूह , दिदिबहिनि समूह , क्लब आदि विभिन्न खाले सामाजिक तथा व्यावसायिक समूहमा आबाद्द भएर आफ्नो व्यवसायलाई प्रबर्धन साथ्साथै आफू जस्तै व्यवसाय गर्ने महिलाहरू सँग भेटघाट, छलफल , आफूलाई परेको समस्याको समाधान आदि गर्न सकिन्छ । यस्ता किसिमका समूहमा आबद्ध हुँदा, आफू जस्तै समस्या भोगेका महिलाहरू भेटिन्छ , समाधानका उपायहरू पत्ता लगाउन सकिन्छ र परेको बेला यस्ता समूहका साथीहरूले सहयोग गर्न सक्छन् । यस्तो भेटघाट महिनाको वा हप्ताको एक चोटि जस्तो गरेर नियमित रूपमा गर्न सकिन्छ ।

७. आत्मा विश्वास कायम राख्नुहोस : व्यवसाय गर्दा चुनौती हरू आउछन, एकै पटकमा कोही पनि सफल हुँदैन , जीवनमा कति पटक लडिन्छ, तर लडे पनि उठेर अगाडी बढ्नसक्नुपर्छ । एकचोटी फेल हुनुभयो भनेर निराश नहुनुहोस । आफ्नो आत्माबिस्वास सधैँ आफूसँग राख्नुहोस र म गर्न सक्छु भनेर हिम्मतका साथ काम गर्नुभयो भने सफलता हात पार्न सक्नुहुन्छ ।

महिलाले व्यवसाय गर्दा म गर्न नसकुँला कि भन्ने सोचहरू आउन सक्छन् ।  यस्ता सोचलाई बदल्नु होस् र म गर्न सक्छु भन्ने हिम्मतका साथ अगाडी बढ्नुहोस । सफलता तपाइकै हातमा छ । उधमीनेपालबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *