प्रेमसागरको पौरख : बाख्रापालनबाट करोडको कारोबार

टोपराज शर्मा,बुटवल जेठ २२

जीवनको ऊर्जावान उमेरको डेढ दशक पत्रकारिता र साहित्य क्षेत्रमा बिताएका प्रेमसागर पौडेलको परिचय र दैनिकी अहिले फेरिएको छ । १७ वर्षसम्म विभिन्न अखबार, पुस्तकमा लेख र समाचारमार्फत कृषि र पशुपालनको प्रवर्द्धनमा कलम चलाएर अरुलाई यो पेशा गर्न उत्प्रेरित गरे । समाजशास्त्रमा एमफिल तथा शिक्षाशास्त्र र साहित्यमा स्नातकोत्तर प्रेमसागरले १६ भन्दा बढी पुस्तक लेखे । तर, अहिले उनी उन्नत जातका बाख्रा पालनमा रमाउन थालेका छन् ।

रुपन्देहीको सैनामैना–४, रानीबगिया लखनपारामा १० बिघा जग्गा भाडामा लिएर २५ वटा बाख्राबाट उनले व्यवसाय सुरु गरेका थिए । उनको ‘सैनामैना सामुदायिक बाख्रापालन तथा नश्ल सुधार केन्द्र’मा अहिले ३ सय ५० माउसहित करिब ६ सय बढी बाख्रा छन् । २०६९ देखि शुरु भएको उनको फार्म यसै वर्ष नेपालमै सबैभन्दा धेरै पाठा–पाठी उत्पादन गर्ने नमूना फार्मको रुपमा राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नार्क) बाट पुरस्कृत पनि भयो ।

स्थानीय पर्रोहा उच्च माविको ७ बिघा र निजी ३ बिघामध्ये ७ कठ्ठामा २ वटा आधुनिक दुई तले खोरमा बाख्रा पालन गरेका प्रेमसागरले फार्मलाई विस्तार गर्न अहिले थप २ सय ५० बाख्रा पाल्न मिल्ने नयाँ खोर बनाउँदैछन् ।

यो फार्म खासगरी मासुका लागि खसी–बोकाको उत्पादनमा नभई उन्नत जातका पाठा–पाठी उत्पादन गर्न केन्द्रित छ । शुरुमा १४ जातका बाख्रा पालन गरेपनि अहिले भने उनको फार्ममा विश्वकै उत्कृष्ट मानिने बोयर, संसारकै ठूलो शरीर र छिटो बढ्ने अस्ट्रेलियन बिट्टल र सबैभन्दा स्वादिस्ट मासु मानिने अफ्रिकन बारबरी जातका बाख्रा मात्र उनले राखेका छन् ।

५० लाख रुपैयाँबाट शुरु भएको फार्ममा अहिले करिब तीन करोड रुपैयाँ लगानी पुगेको प्रेमसागर बताउँछन् । बाख्र पालनासँगै उनले करिब ६ बिघामा घाँस खेती गरेका छन् । बाख्रा फार्मका लागि घाँस त्यहीँ उत्पादन हुन्छ भने देशका विभिन्न ३५ जिल्लामा उक्त घाँस तथा घाँसका बिरुवा बिक्री पनि हुने गरेको छ ।

वार्षिक आम्दानी एक करोड

फार्ममा उच्च पहाडी क्षेत्रदेखि तराईका जिल्लामा पाल्न सकिने उन्नत नश्लका बाख्रा र तिनैमार्फत ब्रिडिङ गरी पाठापाठी उत्पादन हुन्छ ।

‘कुन क्षेत्रमा कुन नश्लका बाख्रा पाल्दा फाइदा हुन्छ, सोही अनुसार पाठापाठी उत्पादन गरिन्छ,’ प्रेमसागरले भने । यहाँ उत्पादन हुने उन्नत जातका पाठा–पाठी प्रदेश ५ सहित गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका जिल्लाहरुसम्म पुग्छन् ।


पहिलोपटक १० महिनामा एकपटक र त्यसपछि ८ महिनाको अन्तरालमा माउ बाख्राले सन्तान उत्पादन गर्ने प्रेमसागरले बताए । ‘दुई वर्षमा तीन पटक सन्तान उत्पादन गर्दा माउ बाख्राको स्वास्थ्य राम्रो रहन्छ,’ उनले भने, ‘यस हिसाबले वर्षमा सरदर एक हजार पाठा–पाठी उत्पादन भइरहेको छ ।’

३ महिना पुगेपछि पाठापाठी बिक्री गर्न मिल्छ । प्रतिकेजी एक हजारका दरले तीन महिनाको पाठा पाठीको तौल २० केजीसम्म हुने हुँदा सरदर २० हजार रुपैयाँ मूल्य पर्ने उनी बताउँछन् । ‘वर्षमा एक करोड रुपैयाँ बराबरको पाठापाठी बिक्री हुने गर्छ,’ प्रेमसागरले भने ।

लोकल कुखुरा र गाई पनि

उन्नत जातका बाख्रासँगै प्रेमसागरले गाई र लोकल कुखरा पनि पाल्न थालेका छन् । बाख्राले नखाएर छाडेका दानाको खपतका लागि फार्ममा १० वटा गाई पालेका उनले यसै वर्षदेखि लोकल कुखुरा पनि पाल्न शुरु गरेका छन् ।
फार्म परिसरमा लोकल कुखुरा चर्ने ठाउँ र आहारा पर्याप्त हुने भएकाले चितवनबाट १५ सय चल्ला ल्याएर पाल्न थालेको उनले बताए । ‘बजारमा लोकल कुखुराको माग अत्यधिक छ, बाख्रा फार्ममा ठाउँ र उपयुक्त वातावरण देखिएकाले शुरु गरेका हौं,’ उनले भने, ‘परीक्षणका रुपमा अझै पाँच सय थपेर २ हजार पुर्‍याउछु, सफल भयो भने अझ विस्तार हुन्छ ।’

कुखुरा चराउन २ कठ्ठा जग्गामा उनले तारबार गरेका छन् । ९० रुपैयाँमा चल्ला किनेर ३ महिना पाल्दा चल्लासहित तीन सय रुपैयाँ लागतमा करिब डेढ केजी तौल पुगेको उनले बताए । बजारमा लोकल कुखुरा प्रतिकेजी ७ सय रुपैयामाँ बिक्री हुने उनी बताउँछन् ।

सरकारप्रति गुनासो

पत्रकारिता गर्ने बेलामा कृषि र पशुपालनका विषयमा लेख्दा कैयौं मान्छेले अरुलाई अर्ती उपदेश दिन सजिलो छ, गरेर देखाउन गाह्रो छ भनेकाले आफू पेशा परिवर्तन गरेर बाख्रा पालनमा होमिएको पौडेल स्मरण गर्छन् । उनको फार्ममा १२ जनाले रोजगारी पाएका छन् । यद्यपि काम गर्ने मजदुर अभाव रहेको प्रेमसागर बताउँछन् ।

कृषि क्षेत्रमा लागेकाहरुलाई टिकाउन सरकार उदासिन रहेको उनको गुनासो छ । ‘बर्सेनि अर्बौं रुपैयाँको मासु र खाद्यान्न विदेशबाट आयात भैरहेको छ, तर युवाहरूलाई पशुपालन र कृषिमा आकर्षित गर्न र टिकाउन सरकार उदासीन जस्तै छ, यो परिपाटीको अन्त्य हुनुपर्छ,’ उनले भने ।


‘विदेशिएका नेपालीलाई हाम्रो कामले प्रेरणा मिलोस् र स्वदेशमै आएर केही गरून् भनेर अन्यत्र राम्रा अवसर हुँदाहुँदै पनि बाख्रापालन रोजियो, तर हामीसँग काम गर्ने मजदुर पाउन मुस्किल परेको छ,’ उनले भने, ‘हाम्रो एकमात्र उद्देश्य कृषि प्रधान देश नेपाल कमसे कम कृषि र पशुपालनमा त आत्मनिर्भर हुनुपर्‍यो भन्ने हो ।’

राज्यले प्रदान गर्ने कृषि ऋण र अनुदान वास्तविक किसानलाई भन्दा सरकारमा रहेका नेताका आसेपासेले कागजी प्रकृया पूरा गरेर खाने गरेकामा पनि पौडेल असन्तुष्ट छन् ।

युवालाई विदेश पठाउने र रेमिट्यान्सको रकम घडेरीमा खर्च गर्ने परिपाटी नरोक्ने हो भने मुलुक कृषिमा कहिल्यै आत्मनिर्भर नहुने पौडेलको निश्कर्ष छ । ‘खेतीयोग्य जमिन घडेरी बनाएर गरिने किनबेचलाई प्रतिबन्ध गर्नुपर्छ,’ पौडेल भन्छन् ।

क्याम्ब्रिज युनिभर्सिटीमा पढेकी पत्नीको साथ

बागलुङ पैंयु थनथापका प्रेमसागरलाई बाख्रा फार्म अगाडि बढाउन उनीसँग अन्तरजातीय विवाह गरेकी पत्नी ज्ञानकुमारी पुनको दरिलो साथ छ ।

क्याम्ब्रिज युनिभर्सिटीबाट बिजनेस म्यानेजमेन्टमा पोस्ट ग्राजुएट सकेर स्वदेश फर्किएकी ज्ञानकुमारीले अरु जागिर नरोजी श्रीमानसँगै बाख्रापालनमा निरन्तर साथ दिएकी छन् । ‘फार्मको सफलतामा मेरोजत्तिकै श्रीमती ज्ञानुको योगदान छ,’ प्रेमसागरले भने ।

अनलाइनखबरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *