
प्यूठान ३ असार : ‘पहिले यस्तो कुनै सीप थिएन । सीप सिक्दा ढिलो भएको महसुस भएको छ,’ क्रिष्टल (चुरापोते) बनाउने सीप सिक्दै आएकी स्वर्गद्वारी नगरपालिका–२ खालकी भूमा परियारले भनिन्, ‘सिकेको सीपलाई व्यावसायिक रुपमा अगाडि बढाउने अठोट जागेको छ ।’
स्थानीय गाउँमै सीप सिक्ने अवसर पाउँदा खुसी छिन् उनी । सिक्दै गरेको सीपमा तल्लीन भएर लागेकी छिन् । ‘विभिन्न डिजाइनमा चुरापोते, माला, औँठीलगायत क्रिष्टलका सामग्री बनाउन सक्षम भइसकेका छौं,’ परियारले भनिन्, ‘७ दिनको सीपले व्यवसाय गर्ने प्रेरणा मिलेको छ ।’ गाउँका अन्य महिलासँगै मागको आधारमा क्रिष्टल व्यावसायिक तालिम रोजेको उनले बताइन् । ‘८ दिनको व्यवसाय सम्बन्धी उद्यमशिलता तालिमपश्चात् क्रिष्टल तालिमको माग गरेका हौं,’ उनले भनिन् । यस पूर्व कुनै सीप नहुँदा घरायसी काममै सीमित थिइन् उनी । सीप सिक्दा आयआर्जनको बाटो समाउन सहजता आएको उनले बताइन् ।
भूमासँगै गाउँका अन्य ६ जना महिला क्रिष्टलको गरगहना बनाउने सीप सिकेका छन् । चुलोचौको र घाँस दाउरा गर्नमा सीमित उनीहरू आयआर्जनको बाटो रोज्दै सीप सिक्न थालेका हुन् । स्वर्गद्वारी आउने दर्शनार्थीलाई मध्यनजर गर्दै क्रिष्टलको गरगहना बनाउन थालेको श्रीना जैसी बताउँछिन् । ‘मालापोतेको राम्रो सम्भावना छ,’ उनले भनिन् ‘स्वर्गद्वारी आउने पर्यटकलाई सामान बेच्न सकिन्छ ।’
स्वर्ग ढारी वार्ड नम्वर–२ का स्थानीय एवं पुराना उद्यमी देवेन्द्र पुनले लघुउद्यममा महिलाहरूको आकर्षण बढ्दै गएको बताए । स्थानीय स्तरमा गर्न सकिने व्यवसाय छनौट गरी उनिहरू सीप सिक्न थालेको पुनले बताए । ‘घरमै बसेर पनि दिदिबहिनीले काम गर्न सक्छन्,’ उनले भने, ‘सीप सिकेपछि आयआर्जनका सम्भावना पनि धेरै छन् ।’
चालू आर्थिक वर्षमा सञ्चालन भएको गरिबि निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत उद्यमी सृजनाको काम भइरहेको छ । घरेलु तथा साना उद्योग समिति मुख्य शाखा प्यूठानको सहयोगमा ग्रामीण आर्थिक विकास मञ्च प्यूठान मार्फत सीप दिन थालिएको हो ।
४ स्थानीय तहमा नयाँ उद्यमी सृजना गर्न थालेको कार्यक्रम संयोजक रन्जना श्रेष्ठले बताइन् । ‘१ सय ६७ जना नयाँ उद्यमी सृजना गर्दै छौं,’ संयोजक श्रेष्ठले भनिन्, ‘स्थानीय बजारलाई मध्यनजर गरी स्थानीयकै छनोटमा व्यावसायिक तालिम दिने गरेका छौं ।’ क्रिष्टल, हाते होजीयारी, बुटिक, सिलाई, कुखुरा पालन, बंगुर पालन, दुनाटपरी, डोको मुढा, डल्स, अगरवत्ति, व्यूटिपार्लर, हेयर कटिङ्ग, च्याउ खेती लगाएत तालिम सञ्चालन गरेको उनले जानकारी दिइन् । यो समाचार हामीले कारोबार दैनिकबाट साभार गरेका हौँ ।
Leave a Reply