व्यावसायिक बन्दै कफी खेती

इलाम,साउन ३०

झापा विर्तामोडका भोजराज श्रेष्ठ माओवादी सशस्त्र द्वन्द्वकालका लडाकू हुन् । करीब दुई वर्ष लडाकू भएर काम गरेका भोजराजलाई सरकार–माओवादी शान्ति सम्झौतापछि फेरि सेना–प्रहरीमा जागीर खान खासै मन भएन ।

त्यसपछि झापाको विर्तामोडमै केही समय सानोतिनो पसल गरेर बसे । त्यसबाट पनि खासै राम्रो आम्दानी हुन नसकेपछि आम्दानी हुने बाटो रोज्नु पर्ने बाध्यता आइलाग्यो । गाउँघरमा रहेर त्यति साहै्र काम नगरेका भोजराजलाई यसै गर्दा सम्पत्ति कमाइएला भन्ने पत्तो थिएन । एकदिन भोजराजकै एक साथीसँग भेट भयो र कफीखेती गर्ने सल्लाह आयो । कफीबाट राम्रो हुने त उनले बुझे तर, झापा जस्तो गर्मी क्षेत्रमा कफीखेती गर्ने कुरा आएन ।

गाउँघरका अरू केही व्यक्तिलाई सोध्दा कफीका लागि इलाम जिल्ला उचित हुने बुझे । सबै घरजग्गा झापातिरै रहेका श्रेष्ठलाई शुरुमा कुन ठाउँमा गएर कफीखेती गर्ने भन्ने निर्णय लिन गा¥हो भयो तर पनि, लामो सोचविचार पछि आफ्नो पुख्र्यौली घर रहेको इलामस्थित इलाम नगरपालिकाको गोदकमा ठेक्कामा जग्गा लिने र कफीखेती शुरु गर्ने निछोडमा पुगे ।

जग्गा लिजमा लिन पनि सहज थिएन । सबै सजिलो र गुणस्तरीय खोज्दै पहाडबाट तराई झरिरहेका बेला एक्ला भोजराजलाई पनि पहाड गएर केही गरिएला भन्ने खासै लागेको थिएन । धेरैले पहाड जानभन्दा झापातिरै केही गर्न आग्रह पनि गरे तर पनि, भोजराजले हिम्मत हारेनन् ।

इलाम आएर अरू साथीहरूसँग पनि सरसल्लाह लिएर सामूहिक रूपमा कफीखेती गर्न अनुरोध गरे । चिया मात्र खेती हुने बुझेका धेरैले इलाममा कफीखेती पनि हुन्छ भन्ने कुरा पत्याएनन् । केही साथीभाइ मिलेर २० रोपनी जग्गामा कफी खेती शुरु गरे । यही बगानबाट यस वषै भोजराजले करीब दुई हजार बिरुवा बेचे ।

उनी भन्छन्, “यस वर्ष बिरुवा मात्र बेचियो । अर्को वर्षदेखि फल पनि बिक्ने हुन्छ ।” गोदकमा लगाएको कफीखेती खासै नफस्टाएपछि उनी यसलाई सारेर रोङ गाउँपालिकाको सलकपुरमा सार्ने योजनामा छन् भने अन्य दुई ठाउँमा पनि खेती विस्तार गरेका छन् । भोजराजले यसै वर्ष मात्रै पनि इलाम नगरपालिकास्थित बरबोटे र सुम्बेकमा खेती गर्ने योजना बनाएका छन् ।

यस्तै, इलाम नगरपालिका वडा नं ८ सिङफ्रिङका नरेश श्रेष्ठले पनि अहिले कफीखेती शुरु गरेका छन् । आफू मात्र नभई अन्य साथीको सहयोगबाट कफी कम्पनी नै खोलेर आफैं बिरुवा उत्पादन गर्दै नरेशले खेती शुरु गरेका हुन् ।

खेती केही वर्षदेखि नै शुरु गरेको भए पनि कफीका बारेमा प्राविधिक ज्ञान नभएकाले उनले राम्रो उत्पादन लिन सकेका भने थिएनन् । आलु, मकैलगायतका पराम्परात खेती गरिरहेका नरेशले अहिले कफीखेतीबाटै आम्दानी लिने गरी खेतीमा लागेका छन् ।

“धेरै लगानी डुबिसक्यो, राम्रै आम्दानी हुन्छ भन्ने आशमा छु,” नरेशले भने । कफीखेतीका लागि नरेशसहित उनका कम्पनीका साथीहरुले अहिलेसम्ममा करीब ७०र८० लाख रुपैयाँ लगानी भइसकेको छ । “पहिले पनि खेती त गरेका थियौं तर, बिरुवा कमसल परेकाले उत्पादन लिन सकिएन,” नरेशले भने, “अर्को वर्षदेखि भने फल बेच्न सकिन्छ ।”

नेपाली अर्गानिक कफी प्रालि नामको कफी कम्पनीको नरेश कोषाध्यक्ष हुन् । अहिले कम्पनीका सदस्यले कफीमा मिहिनेत गर्न नसक्ने भएपछि भने खेती गर्नका लागि कामदार राखेका छन् । “खटाइ धेरै पर्छ, हामी सबैको आ–आफ्नो छुट्टै अर्को पनि पेशा भएकाले काम गर्न भने कामदार राखेका हौँ,” नरेशले भने ।

खेती मात्र नभई कफीको बिक्रीमा पनि राम्रो आम्दानी हुने भएपछि अहिले धेरैले यो व्यवसाय शुरु गरेका छन् ।

तालीम तथा दक्ष जनशक्ति भएमा खेती गर्न सहज हुने अर्का कफी किसान दीप लामाको भनाइ छ । सूर्योदय नगरपालिकाको ‘फिक्कल टी एण्ड कफी कम्पनी’ खोलेका लामाले कफी खेती मात्र नभई प्रशोधन समेत गर्ने गरेका छन् ।

उनले यहाँ कफीको प्रशोधन गरेर काठमाडौँंमा बेच्ने गरेको छ । यी माथिका किसान त उदाहरण मात्र हुन् । अहिले धेरैले जिल्लामा कफीको व्यावसायिक खेती शुरु गरिसकेका छन् । चियाको जिल्ला भनेर चिनिने इलामको वातावरण कफीका लागि पनि उचित हुने भएकाले कफीको व्यावसायिक खेती शुरु भएको हो ।

पछिल्लो समयमा कफी खेती गर्दा सरकारीस्तरबाट समेत केही अनुदान र सहुलियत प्राप्त हुन्छ । यही कारण पनि धेरैले यो खेतीबाट लाभ उठाएका छन् ।

कफी खेती समुद्री सतहदेखि ८०० देखि १,६०० मिटर सम्मको उचाइमा खेती हुने गर्छ । त्यही भएर पनि इलाम कफीका लागि उत्कृष्ट खेतीयोग्य जिल्लामा पर्दछ ।

एक तथ्याङ्कका अनुसार इलाम जिल्ला प्रदेश नं १ कै उत्कृष्ट खेती हुने जिल्लामा पर्दछ । यस प्रदेशको ३४ दशमलव ७ हेक्टर क्षेत्रफलमा कफीखेती हुने गरेकामा १० दशमलव ३ प्रतिशत हेक्टर क्षेत्रफलमा भने इलाममै खेती हुने गरेको छ ।

तथ्याङ्क विभागले गरेको सर्वेक्षण अनुसार इलाममा २३६ फार्म सङ्ख्या छन् भने ६७ हजार ४५७ फल लाग्ने उमेर भएका बिरुवा रहेको देखिन्छ । सर्वेक्षणका अनुसार प्रदेश १ को १० जिल्लामा ५६९ किसानले व्यावसायिक कफीखेती गरेका छन् । विभागले ५० बोटभन्दा बढी कफी बोट लगाएर खेती थालेका किसानलाई मात्रै सर्वेक्षणमा समावेश गरेको छ ।

“व्यावसायिक कफीखेतीको सर्वेक्षण भएकाले ५० बोटभन्दा कम हुनेको तथ्याङ्क लिइएको छैन,” केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले भने, “तथ्याङ्क सङ्कलनको काम २०७४ मा भएकाले त्यसयता खेती थालेका किसान छुटेका छन् ।”

प्रदेश १ को १२० हेक्टर क्षेत्रफलमा कफीखेती भइरहेको छ । त्यसमध्ये इलाममा ४३ हेक्टरमा व्यावसायिक रूपमा खेती गरिएको छ । प्रदेश १ मा एक लाख तीन हजार ६६१ किलोग्राम ‘फ्रेस चेरी’ उत्पादन हुने गरेको छ । कफीको बोक्रा पेलेर फ्याँकेपछिको भित्री भाग चेरी हो ।

इलाममा वार्षिक ४२ हजार ६४९ फ्रेस चेरी उत्पादन हुने गरेको छ । इलाममा पछिल्लोपटक कम्पनीमार्फत ठूलो क्षेत्रफलमा कफी लगाउन थालिएको छ । सूर्योदय नगरपालिकामा ४०० रोपनीमा कफी लगाइँदैछ । इलाम नगरपालिका, देउमाईको जीतपुर, गजुरमुखीलगायतका ठाउँमा ठूलो क्षेत्रफलमा कफीखेती थालिएको छ । प्रदेश १ को तेह्रथुममा १६६ किसानले १६ हेक्टर क्षेत्रफलमा कफी खेती गरेका छन् ।

पाँचथरमा १३ हेक्टर, उदयपुरमा तीन दशमलव पाँच, खोटाङमा पाँच हेक्टर, ताप्लेजुङमा चार हेक्टर, भोजपुरमा १७ हेक्टर, सङ्खुवासभामा नौ हेक्टर, ओखलढुङ्गामा एक हेक्टर, धनकुटामा छ हेक्टरमा कफी खेती हुने गरेको छ । सर्वेक्षणअनुसार नेपालको ३२ जिल्लामा कफीखेती भइरहेको छ ।

कफीका लागि प्रख्यात जिल्ला गुल्मी मानिए पनि उत्पादन भने काभ्रेपलाञ्चोकमा बढी हुने गरेको छ । तथ्याङ्कका अनुसार काभ्रेपलाञ्चोकमा मात्र ६५ दशमलव ५ प्रतिशत हेक्टर क्षेत्रफलमा कफीखेती हुने गरेको छ ।

मुलुकभरमा जम्मा ५०९ दशमलव नौ हेक्टर क्षेत्रफलमा कफीखेती हुने गरेको छ । व्यावसायिक कफीखेती सर्वेक्षण २०७५र७६ अनुसार नेपालमा ६ हजार ३४६ वटा कफी उत्पादन गर्ने कृषि फार्म सञ्चालनमा छन् । देशभरमा ९७३ हेक्टरमा जमीनमा व्यावसायिक कफीखेती गरिएको छ भने करीब १५ लाख ५ हजार कफीका बोटहरु रोपिएका छन् ।

अध्ययन अवधिमा ८ लाख २१ हजार कफीको बोटबाट फल उत्पादन भइरहेको छ । सरदर वार्षिक रूपमा अध्ययन अवधिभर नेपालमा १५ लाख ७३ हजार किलोग्राम कफीको कच्चा दाना (फ्रेस चेरी) उत्पादन हुने गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *