विद्यालय नचल्दा माछा मार्दै टीकापुरका बालिका

टीकपुर, ४ साउन

दैनिक वर्षा भएपछि कैलालीका नदीमा पानीको बहाव बढेको छ। पानीको बहाव बढेसँगै यहाँ नदी तथा खोला किनारमा माछा मार्ने महिलाको सङ्ख्यासमेत बढेको छ। उर्लिएर आएका खोला किनारमा थारू समुदायका महिला तथा बालिका हेल्का बोकेर माछा मारिरहेका छन्।

पानीमा माछा मार्न स्वास्थ्य तथा सुरक्षाका हिसाबले जोखिम हुन्छ, तर थारू समुदायमा परम्पराका रुपमा रहेको माछा मार्ने चलन अहिले पनि अभ्यासमा छ। बर्सातमा धानखेती लगाइसकेपछि फुर्सदको समयमा थारू समुदायका महिला दिनभरि माछा मारेर साँझ तरकारीको जोहो गर्ने गर्दछन्। लामो समय विद्यालय बन्द रहेपछि कैलालीको जोशीपुरका बालिका दैनिक माछा मार्नमा व्यस्त भएका छन्।

जोशीपुरका बालिका आमासँगै फुर्सदको समयमा नदी तथा खोला किनारमा माछा मार्न जाने गरेको उनीहरु बताउँछन्। नौ वर्षीया मुना चौधरी आमाको हेल्का बोकेर कुलरिया नदी किनारमा माछा मार्दैछिन्। “आजभोलि दैनिक आमासँग माछा मार्न आउँछु, मसँगै मेरो साथीहरु पनि छन्। रमाइलो भएको छ”, मुनाले भनिन्, “माछा मार्न सिक्दैछु। बिहान खाना खाएर आएका हौँ, दिनभरि मार्दा २०० ग्राम पनि मार्न सकिनँ, आमाले अलि धेरै मार्नुभएको छ।”

कक्षा ६ मा अध्ययनरत उषा चौधरी पनि दिनभरि पानीमा भिजेर माछा मार्न आमासँगै हिँडिन्। उनले दिनभरि लगाएर १०० ग्राम जति माछा मारेको बताइन्। “विद्यालय बन्द भएर घरमै कति बस्नु रु त्यसैले आमासँगै माछा मार्न आयौँ।” जोशीपुरमा रहेको कुलरिया नदीमा महिलासँगै दर्जनौँ बालबालिका नदी किनारमा माछा मारिरहेका हुन्छन्।

नदीमा दैनिक पानीको बहाव बढ्दै गएकाले बालबालिकालाई पानीमा खेल्नुपर्ने काममा लगाउनु गलत भएको स्थानीयवासीको भनाइ छ। “नदी उर्लिएर आएको छ। बालबालिका नदी किनारमा बोक्न नसक्ने गहु्रँगो हेल्का बोकेर माछा मारिरहेछन”, स्थानीय रमेश विक भन्छन्।
“यसरी पानीमा भिज्दा सरुवा रोगको जोखिम बढ्छ, नदीमा डुब्ने, बग्ने डर पनि हुन्छ। अभिभावक सचेत हुनुपर्छ।”

थारू समुदायका महिला माछा मार्न सिपालु हुन्छन्। पानी परेर भेल बगेको दिनमा बढी माछा पाइने भएकाले फुर्सदमा माछा मार्ने गरेको सुदेश्नी डगौराले बताए। “हामी खेतीपातीपछि यो सिजनमा माछा मार्ने गर्छौँ, हामी समूहमा निस्कन्छौँ”, सुदेश्नीले भने, “रमाइलो पनि हुन्छ, बेलुका तरकारीको जोहो पनि हुन्छ।”रासस
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *