अन्तरजातीय विवाहको उत्पीडनमा दलित महिला

गणेश नेपाली
  १९ मंसिर २०७७, शुक्रबार ०६:५०

धनगढी १८ मंसिर | अन्तरजातीय विवाह हुदा दलित समुदायका महिला होस या पुरुषले चरम यातना, अपमान, छुवाछुत, विभेद, भोग्न बाध्य हुनुपर्छ । तुलनात्मक रुपमा दलित पुरुष भन्दा महिलाले भोग्नु पर्ने पीडा निकै बढी देखिन्छ। किन भने विवाह भनेकै पितृसत्तात्मक समाजमा महिलाले पुरुषको घरमा जानुपर्छ। यसरी विवाह भएर महिलाले पुरुषको घरमा जादा महिलालाई पुरुषका बुवा आमा, दाजु भाइ, दिदी बहिनी र कुटुम्ब समेतले स्वीकार्नु पर्दछ। विशेष गरेर दलित पुरुषले गैर दलित महिला सग विवाह गर्दा गैर दलित महिलालाई दलित परिवारले गौरव र सम्मानका साथ पारिवारिक सदस्यका रुपम ग्रहण गर्दछन । त्यसको ठिक विपरित दलित महिलाले गैर दलित पुरुष संग विवाह गर्दा गैर दलित परिवारले कुनै पनि हालतमा बुहारीका रुपमा स्वीकार गर्न चहादै चहादैन। अन्तरजातीय विवाह पनि महिलाका लागि गलाको पासो सावित हुने गरेको छ। अन्तरजातीय विवाह हुदा देखिएका दलित महिला उत्पिडित भएका प्रतिनिधि केही विवाहहरु उल्लेख हुन जरुरी छ।

नर्मदा विश्वकर्मा (नाम परिवर्तन) कैलालीको चुरे फेदमा अवस्थित आफ्नै गाउँको क्षेत्री जातको केटासंग माया प्रेममा परिन्। उनको प्रेमीसंगको मायाप्रेम शारीरिक सम्बन्धसम्म पुगिसकेको थियो। लुकिछिपी गरेको प्रेम नर्मदा गर्भवती भएपछि सार्बजनिक भयो। यस्तो अवस्था उत्पन्न भएपछि नर्मदाका परिवार र आफन्तले उनलाई उनको प्रेमीको जिम्मा लगायो। तर केटाको परिवारले उनलाई बुहारीको रूपमा स्वीकारेन् । केटालाई पनि डर देखाई उसकी प्रेमिका संग बिछोडिन बाध्य बनायो। नर्मदा न्यायको खोजीमा धनगढी स्थित दलित गैर सरकारी संस्थाहरू सम्म पुगिन्। दलित संस्थाहरुको पहलमा नर्मदाको घरवार उसको प्रेमी जस्को गर्भ उनले बोकेकी थिईन, उसैसंग हुनुपर्ने भनी क्षेत्री परिवार र गाउलेहरूसंग पटक पटक छलफल भयो। बदलिदो समयको हवाला दिईयो। विद्यमान कानूनका प्रावधान जानकारी गराईयो। क्षेत्री परिवार कुनै हालतमा पनि नर्मदालाई स्वीकार्न तयार नभएपछि न्यायालयसम्म मुद्दा पुग्यो। न्यायालयले नर्मदाको पक्षमा फैसला गर्‍यो। न्यायालयको फैसलाका बावजुद पनि क्षेत्री परिवारले नर्मदालाई बुहारीको रूपमा भित्र्याएन्।

न्यायालयले नाता कायम गरि दिदा समेत धेरै प्रयास पछि उनले पतिको नामबाट नागरिकता पाईन। उनलाई नागरिकता उनको पति चन्द्र सिंह क्षेत्री, नाम परिवर्तन को नामबाट नागरिकता प्रमाण पत्र पाउन निकै झन्झट भयो। न्यायालयले नाता प्रमाणित गरिदिदा नि जातीय भेदभाव र छुवाछूतको भावनाले ग्रस्त निजामती प्रशासनले पति वा ससुराले सनाखत गर्नुपर्ने अत्तो थाप्यो र नागरिकता दिन एक पछि अर्को कृत्रिम समस्या उत्पन्न गरिने काम भैरहन्थ्यो। नेपाल प्रहरीलाई गुहारे पछि नर्मदाको ससुरा सनाखत गर्न बाध्य भयो।नागरिकताको प्राप्ति पछि उनले अंश पनि पाईन्। उनलाई अंश दिन बाध्य भएको उनको परिवार त्यो गाउँ नै छोडेर अन्यत्रै बसाई सर्‍यो। अढाई कट्ठा जमिन उनको भागमा परेको थियो। देशमा आमूल परिवर्तन भएको देखिएको छ। जातीयता भने पञ्चायती व्यवस्था र राजतन्त्र समाप्त भए जसरी समाप्त हुन सकेको छैन्।

त्यस्तै पूर्वपश्चिम लोकमार्गमा रहेको कैलालीको सानो ग्रामीण नगरमा सुनको गहना बनाउने सुनार को छोरासंग कञ्चनपुर कि चेतना परियार नाम परिवर्तन, को प्रेम सम्बन्ध पनि सफल वैवाहिक जीवनमा परिणत हुन सकेन्। कारण थियो जातीय विभेदको चरम अपमान, दमन र शोषण भोग्न विवश दलित समुदाय भित्र पनि विश्वकर्मा भित्र पर्ने सुनार जातिले परियार भन्दा उच्च ठान्छ र परियार समुदाय संग विभेद र छुवाछुत गर्दै आएको छ। परियारसंग वैवाहिक सम्बन्ध स्थापित गर्न विश्वकर्मा समुदायले अस्वीकार गर्दै आईरहेको छ। चेतनालाई न्याय दिलाउन धनगढी स्थित दलित संघ संस्थाहरु न्वारन देखिको तागत लगाएर लागे। परियार भन्दा उच्च ठान्ने सुनार परिवारले दलित संस्थाका अनेकौ प्रयासहरूलाई भुत्ते बनाई दियो। कैलाली जिल्ला अदालतले चेतनालाई न्याय दियो। तर जातीय विभेदको जाँतोमा सदियौं देखि पिसिदै आएको सुनार परिवारले चेतनालाई न्याय दिन सकेन्।

धनगढीको हुलाकी सडक छेउमा रहेको एक टोलमा माईतीघर भएकी रेखा सुनार नाम परिवर्तन, को प्रेम सोही गाउँका जीवन शर्मा नाम परिवर्तन, संग थियो। जीवन शर्माले रेखालाई विवाह गर्न त सके तर आफ्नो घरमा भित्र्याउन सकेनन्। बरु उनी ससुरालीको संरक्षणमा बसे। सदाका लागि आफ्ना बाहुन नातेदार र सहोदर सबै परिवारजन संग अलग भए। उनको यो अलग्याईको कारण दलित महिलासंग विवाह गर्नु थियो। जीवन शर्माले आफ्नो परिवार त्याग्दा ससुरालीको संरक्षण र सामिप्यता पाए तर उनकी श्रीमती रेखाले आफ्ना बाहुन परिवारबाट उपेक्षा, तिरस्कार, बहिष्कार र घृणा भोगिरहनु परेको छ। डडेल्धुराका पत्रकार विमल जैरुको प्रेम विवाह कञ्चनपुरकी पार्वती सुवेदीसंग सत्ताईस बर्ष अघि भएको थियो। पार्वतीका माईती पक्षले हालसम्म पनि मान्यता नदिएको उनीहरुको वैवाहिक सम्बन्ध समाजमा अनुपम उदाहरण बनेकोछ। पार्वती सुबेदी जैरू परिवार र कुटुम्बमा सम्मानित छिन्।

कञ्चनपुरकै महेश नेपाली नाम परिवर्तनले अत्तरिया कैलालीकी हेमा क्षेत्री संग प्रेम विवाह गरे। हेमाका आमा बुवा र दाजुभाइले अस्वीकार गरेको उनीहरुको विवाहलाई महेश नेपालीको परिवारले भने प्रतिष्ठाका रूपमा ग्रहण गरेको छ। हेमाले महेशको परिवारबाट पाएको माया र खुशीले विगत र जातीय भावनाले ग्रस्त आफ्नो जन्म परिवारलाई बिर्सिसकेकी छिन। अन्तरजातीय विवाह दुई किसिमको हुने गरेको छ । पहिलो स पुरुष कथित उच्च वर्ण वा जातको र महिला कथित तल्लो वर्ण वा जात हुने विवाह अनुलोम विवाह हो। त्यसै गरी पुरुष कथित तल्लो वर्ण वा जात र महिला उच्च वर्णको हुने विवाह प्रतिलोम विवाह हो।

माथि उल्लेख भएका प्रतिनिधि अनुलोम र प्रतिलोम विवाह हरुले के देखाउछन् भने कथित तल्लो वर्ण वा जात महिला भएको अनुलोम विवाह हुदा दलित महिला अति अपमानित, अस्वीकृत, बहिष्कृत, घृणित र उपेक्षित भईरहेको देखिन्छ। अन्तरजातीय प्रेम विवाह हुदा कथित तल्लो वर्ण वा जात भएका महिलाहरूले पाउदै आएको जातीय अपमान, धोका, उत्पिडन, बहिष्करण, कहाली लाग्दो छ। चिनको वुहान शहरबाट उत्पन्न भै विश्व भर फैलिएको नोवेल कोरोना भाइरसका कारण फैलिएको कोविड(१९ महाव्याधिले त्रस्त विश्व समुदाय सगै बन्दाबन्दीको कहाली लाग्दो प्रतिकूल अवस्थामा मिति २०७६ जेष्ठ महिनामा बलात्कार पछि अन्तरजातीय विवाह गराईएकी अंगीरा पासी को रहस्यमय रुपमा झुण्डिएको अवस्थामा भेटिएको शवले पनि अन्तरजातीय विवाहको भयावह परिणाम दलित महिलाले भोग्नुपरिरहेको देखाउछ।

लेखक सामाजिक रुपान्तरणको पक्षमा कलम चलाउने साहित्यकार एवं धनगढी नमूना मावि कैलालीका शिक्षक हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *