प्रधानमन्त्री ओलीको प्रमुख रोजाई किन बन्यो सुदूरपश्चिम ?

समताखबर
  २४ पुष २०७७, शुक्रबार १०:५९

धनगढी २४ पुष : सुदूर पूर्व झापा घर भएका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो एक महिनाएता सुदूर पश्चिम मोह गजवसंग देखिएको छ ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संसद बिघटन गरी मध्यावधीको निर्बाचन घोषणा गरेपछि उनको पार्टी बिभाजन भयो । पार्टी बिभाजनसंगै सरकारमा रहेका माधव प्रचण्ड समूहका सात जना मन्त्रीले राजिनामा दिए । जसमध्ये तीन वटा मन्त्रालयको जिम्मेवारी सुदूरपश्चिमका नेताहरुलाई दिए । यहाँ निर पनि उनको सुदूरपश्चिम मोह उजागर भयो ।

ओलीकै पालामा सुदूरपश्चिमले अहिलेसम्मकै सबैभन्दा बढि (चार जना मन्त्री) पाएको दावी गर्दै नेकपाका नेताहरुले त हर्ष बढाई नै गरे ।

ओलीको सुदूरपश्चिम मोह यतिमै सिमित रहेन । उनले देशव्यापी दौडाहाको पहिलो गन्तव्य पनि सुदूर पश्चिम बनाए । आज धनगढीमा आयोजना हुने आमसभाका ओली मुख्य वक्ता हुन् ।

सरकारमा सुदूरपश्चिमका नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिनु र पार्टी बिभाजनपछिको नेकपालाई एक नम्बर बनाउने मिसन अन्तर्गत शुरु भएको देशव्यापी दौडाहाका लागि सुदूरपश्चिम नै रोजाई बन्नुका थुप्रै कारण छन् ।

नेकपा बिभाजित हुनुअघि पार्टी भित्र ओलीका चर्को बिरोधीका रुपमा कोही चिनिन्थे त, ती हुन्, भीम रावल । सुदूरपश्चिम रावलको गृह क्षेत्र हो । ओलीको भित्रि ईच्छा रावललाई उनकै क्षेत्रमा कमजोर बनाउने हो ।

रावललाई टक्कर दिन ओलीले नेता लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको ईञ्चार्जको जिम्मेवारी दिईसकेका छन् । ओली रावललाई कमजोर भएको हेर्न चाहन्छन । र उनलाई काउण्टर दिन लडाकु स्वभावका प्रेम आलेलाई बनमन्त्रीको जिम्मेवारी समेत दिईसकेका छन् । बन मन्त्री भएपछि आलेले निरन्तर रुपमा रावलमाथि हमला गरिरहेका छन् ।

सधै ओलीको बिरोधमा समय खर्चिने रावल भने आलेसंगको पौठेजोरीमा अल्झिएका छन् । यतिबेला रावललाई केन्द्रीय राजनीति र राष्ट्रवाद भन्दा आलेको बिरोधमा समय खर्चिन भ्याई नभ्याई छ । अझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटिको खातामा रहेको ३० लाख रुपैया रातारात झिकेपछि रावल नेकपा ओली समूहको तारो बनेका छन् । रावलको बाँकी समय त्यही ३० लाख रुपैयाको विषयमा स्पष्टिकरण दिदा दिदै बितिरहेको छ ।

आलेले रावलको राष्ट्रवाद अछाममा अछामवाद र कुवर–रावलवादमा पुगेर भुत्ते भएको टिप्पणी गर्दै आएका छन् ।

आज धनगढीमा आमसभा नभएर ओली नेतृत्वमा शक्ति प्रदर्शन हुदैछ । आमसभा मार्फत ओलीले फरक समूहमा लागेका आफ्ना पुराना नेता तथा कार्यकर्तालाई आकर्षित गर्ने मात्र छैनन । सुदूर पश्चिममा आफ्नो दवदवा पनि देखाउने छन् ।

पार्टी बिभाजन हुनुका कारणहरु र प्रचण्ड माधव समूहले गरेको असहयोगका विषयमा ओलीले जनतालाई आमसभा मार्फत जानकारी दिने नेकपाका एक केन्द्रीय नेताले बताए ।

पार्टी बिभाजनपछि निराश र हताश भएका आफ्ना कार्यकर्ताहरुमा उत्साह भर्न थालिएको देशव्यापी दौडाहा अन्तर्गत आज हुने आमसभामा जुट्ने भीडले ओलीलाई उत्साही बनाउने निराश बनाउने तय गर्ने छ । सुदूरपश्चिमका नेताहरु यतिबेला ओलीमा उत्साह भर्न आमसभामा ५० हजार भन्दा बढिको संख्यामा कार्यकर्ता जम्मा गर्ने दावी गरिरहेका छन् । पश्चिमटुडेबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *