बस्तीमा सकस : परालै सिरक,परालै डसना

गोपालप्रसाद बराल
  ४ माघ २०७७, आईतवार २१:१७

महोत्तरी : जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण’ अर्थात् तल गोविन्द, माथि नारायण । खासमा पराले झुप्राका गुजुमुज्ज गरिब बस्तीमा यो आहान (उक्ति) तराईमा चरितार्थ हुन्छ, जाडोयाममा ।

बाँसको खाँबा र झिक्राझिक्रीको बार (बेराघेरा) का भित्ताको भरमा अडिएका पराले छानाका केही हात लम्बाइरचौडाइका झुप्रा छन् । यी झुप्रामा जीवन गुजारा चलाउने गरिबका लागि जाडो छल्ने दुईवटा तरिका देखिन्छन् । एउटा बाटोघाटोबाट सोहोरेर ल्याइएको पातपतिङ्गर, मिल्किएका झुत्रा लुगा र प्लाष्टिक बटुलेर बालिने ‘घूर’ । जहाँ बस्तीभरिकै बूढाखाडा, बालवनिता (केटाकेटी) र महिला पचपची निस्कने ‘घूर’ को धुँवाबीच हात फैलाएर तातो लिएको अनुभूति गर्छन् । अर्को तल (भुँइ) मा पराल पसारेर घुँडा खुम्च्याएर सुत्ने, माथि (शरीरमाथि) पराले चटाइ (एकप्रकारको गुन्द्री) तेस्र्याउने । अर्थात् पराल नै डस्ना, पराल नै सिरक । यसैलाई गरिबले जाडो छल्ने उपायमा ‘तर गोविन्द, उपर नारायण’को उक्ति सुनाउने गरेका हुन् ।

“हजुर, हाम्रो ठण्डी (चिसो, जाडो) छल्ने यै (यही) सहारा हो”, झुरुमुट्ट बस्तीको झुप्रा अगाडि आङ्गनमा १०/१२ आफ्ना परिवारजन र छिमेकीसहित ‘घूर’ का चारैतिर हात फैलाएर बसेकी महोत्तरीकै भङ्गाहा नगरपालिका–३ सकरी मुसहरी बस्तीकी करिब ६० वर्षीया रामराजी सादा मुसहरले भने, “रात कटाउन पराल छ, उज्यालो भएपछि घूर ।” लगातार बढ्दै गएको चिसोले बनीबुतो (मजदूरी) गर्न जान नपाएपछि उदरपूर्ति (खाने कुरा) को पनि समस्या बढेको रामराजीको थप ब्यथा छ ।

रामराजीजस्तै भङ्गाहा–८ धर्मपुरको अन्हारवन बस्तीकी सुथरी बाँतर पनि छिप्पिदो जाडोले यसपालि लाने हो कि भन्ने ठान्छिन् । “न खायके कोनो ठिकान, न ओढ बैसके कोनो बिस्तर” (न खाने कुरा यो भन्ने छ, न ओढ्ने, बस्ने लुगा) करिब ५० वर्षीया सुथरीले थुरथुरी जाडोमा ओठ कमाउँदै भनिन्, “हम गरिबके देखवाला कोइ नई, बुझाइय जे अइबेर जाडमे नई जियब” (हामी गरिबलाई हेर्ने कोही छैनन्, लाग्छ, यसपालिको जाडोबाट बाँच्न सकिन्न) ।

चुुनावका बेला थरिथरिका आश्वासन दिने नेता अर्को चुनाव नआएसम्म बस्तीमा नदेखिने गरिब बस्तीका पाका व्यक्ति बताउँछन् । विगतमा आफ्नो गरिबी, अभाव र पछौटेपनबारे कसैप्रति गुनासो नगर्ने मुसहर, बाँतर अब भने आपूmलाई हेर्ने बुझ्ने कसैले नगरेको बताउन थालेका छन् ।

मुसहर, बाँतर, डोम, हलखोर, मेस्तर, खत्बे, चमार र दुसाध जाति समुदायका बस्तीमा आमरूपमा छ्याङ्छ्याङ्ती गरिबी झल्कन्छ । यीमध्ये पनि मुसहर र बाँतर बस्ती चाहिँ पराले झुप्राका गुजुमुज्ज (झुरुमुट्ट) बस्तीले सजिलै चिनिन्छ । मुसहर, बाँतरको बारेमा सुनेकै भरमा पनि अपरिचित ठाउँमा पुग्ने जोसुकैले पराले झुप्रा देख्नासाथै यी त मुसहर, बाँतरका घर हुन् भनेर सजिलै लख काट्न सक्ने महोत्तरीको भङ्गाहा नगरपालिका–३ का बासिन्दा समाजशास्त्री (समाजविज्ञ) शिवराज दाहालले बताए ।

महोत्तरी जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा मुसहर जातिको बसोबास छ । यीमध्ये भङ्गाहा, गौशाला, बर्दिवास र लोहारपट्टी नगरपालिकामा अन्य भन्दा बढी मुसहर जातिको बसोबास छ । सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक सूचाङ्कका दृष्टिले अति नै पिछडिएका मुसहरजस्तै बाँतर पनि हुन् । दुवै जातिको रीतिथिति र बसउठ समान नै देखिने समाजशास्त्री दाहालको भनाइ छ ।

सम्पत्तिका नाममा पराले झुप्रामात्र हुने मुसहरमा छोराछोरी किशोरवयमा पुगेपछि एउटा नयाँ आशा पलाउँछ । छोराछोरी हुर्केपछि बनीबुतो गरेर अन्नपात ल्याउने हुनाले जीवन गुजारामा सहयोग पुग्ने औरही नगरपालिकाको टिम्किया बस्तीका पल्टा मुसहरले बताए । “जाडो छल्ने पोरा (पराल) पनि गिरहत (मालिक, आपूmले बनीबुतो गर्ने किसानलाई मुसहर गिरहत वा मालिकको सम्बोधन गर्छन्) को घरबाट मागी ल्याउन र गाई, बाख्रा चराउन सक्ने भएको छ”, करिब १३/१४ वर्षको छोरा सोमनातिर देखाउँदै पल्टाले भने, “यिनै नानी हाम्रा धन हुन् ।”

मुुसहर, बाँतरमा छोराछोरीको नाम राख्ने चलन पनि मिल्दोजुल्दो छ । न पुरोहित चाहिने, न कुनै हेरकोर १ आइतबार (रविबार) जन्मने छोरो रेविया, छोरी अइती । त्यसैगरी सातवटै बारसँग मिल्ने नाम राखिन्छन्, सोमना-सोमनी, मङ्गला-मङ्गली, बुधना-बुधनी, विपना-विपनी, शुकना-शुकनी र शनिचरा-शनिचरी आदि । यीबाहेक बन्ठा, भुट्टा, कैला, नेङरा आदि मुसहर, बाँतर बस्तीमा बाक्लै सुनिने नाम हुन् । नाममा पनि बस्तीका गिरहतका छोराछोरीसँग मिल्ने हो कि भनेर नाम बिगारेर राख्छन् । रोहितभन्दा हुने ठाउँमा यी दलितका छोराको नाम ‘रोहिता’ हुन्छ । छोरीको पनि त्यस्तै स्त्रीवाचक मिलाएर नाम राखिन्छन् ।

मुसहर जिल्लाका सबै स्थानीय तहमा रहे पनि बाँतर भने भङ्गाहा नगर क्षेत्रमा मात्र भेटिन्छन् । आफ्नो नगर क्षेत्रमा मुसहर र बाँतरको एक ठाउँ गणना हुँदा फरक–फरक जाति समुदाय बसोबास तालिकाको अभिलेखमा मुख्य स्थान ओगट्ने भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साहले स्वीकारे । जिल्लामा विसं २०६८ को पछिल्लो जनगणनाले मुसहरको २३ हजार ३६४ र बाँतरको दुई हजार ७९४ जनसङ्ख्या रहेको देखाएको छ । त्यसयताका एकदशकमा यो सङ्ख्या बढेर दुवैको गरी ४० हजारको हाराहारी पुगेको तथ्याङ्क कार्यालय महोत्तरीका विज्ञको अड्कल छ ।

अहिले करिब ४० हजारको हाराहारी पुग्नै लागेको जनसङ्ख्याभित्रका मुसहर, बाँतर समुदायबाट प्रवेशिका उत्तीर्ण गर्ने सङ्ख्या १५ कटेको छैन । विद्यालयमा प्रत्येक वर्षजसो भर्ना अभियानका नाममा यी समुदायका नानीहरुको नाम विद्यालयमा लेखिए पनि गरिबी र अभावले टिक्न सक्दैनन् । जिल्लामा वर्सेनीजसो शीतलहरको प्रकोप नै हुँदै आएको छ । तर जनप्रतिनिधिमूलक निकाय होस् वा सेवाप्रदायक राज्यका निकाय होउन्, कसैले प्रकोपको पूर्वतयारी गरेका नदेखिने यहाँका आम बुद्धिजीवीको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *