छाउगोठ भत्कियो, छाउडी प्रथा कायमै

समताखबर
  ६ माघ २०७७, मंगलवार २०:३१

बाजुरा : बाजुरामा छाउगोठ भत्काइए पनि छाउपडी प्रथा भने कायमै रहेको छ । धामी झाक्रीको डरका कारण छाउपडी प्रथालाई कायमै राखिएको हो ।

२०७६ पुस २४ गते बाजुराको बुढीनन्दा नगरपालिकाका–९पाण्डुसैनको अगाउँपानीस्थित छाउगोठमा सुतेका बेला आगोले निसासिएर आमा र दुई छोराहित तीन जनाको ज्यान गएको थियो । सो घटनापछि छाउगोठ भत्काउन गृह मन्त्रालयले बाजुराका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पठाएसँगै नौ वटै स्थानीय तहमा छाउगोठ भत्काइएको छ ।

तर धामीझाँक्रीका डरले महिनावारी भएका बेला महिलाहरुले घरमा बस्न नमानेपछि छाउप्रथा कायम रहेको हो । छाउगोठ भत्काउने अभियान सुरु भएपछि महिनावारी भएका बेला अधिकांश महिला आ–आफ्नै घरको कोठामा सुत्न थालेका थिए ।

धामीझाँक्रीहरु घरमा अनिष्ट भएको भन्दै रिसाउन थालेपछि अहिले अधिकांश महिला त्रिपाल हालेर बाहिर सुत्न थालेको बुढीगङ्गा नगरपालिका–८ का स्थानीय मीना सार्कीले बताइन् ।

२०७५र७६ सालमा १६८ र २०७६/०७७ सालमा ३४३ गरी जम्मा ५११ वटा छाउँगोठ भत्काएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रशासान कार्यालय बाजुराको निर्देशनमा प्रहरी, स्थानीय र जनप्रतिनिधिहरुलाई छाउगोठ तथ्याङ्क सङ्कलन गर्न आग्रह गरेपछि बाजुरामा ५११ वटा छाउगोठ भेटिएका थिए ।

जनप्रतिनिधिलेसमेत अहिले आ–आफ्नो स्थानीय तहमा महिलालाई महिनावारी भएको समयमा घरमै सुताउने अभियानमा लागि परेका छन् । तर पनि धामीझाँक्री र पुजारीका घरमा महिला भने बाहिर त्रिपाल हालेर बस्ने गरेको सार्कीले बताइन् ।

महिनावारी भएका बेला घरमा सुतेपछि देवता रिसाउँछ भन्दै धामीझाँक्रीले डर देखाउन थालेपछि त्रिपाल हालेर बाहिर सुत्न थालेको बुढीगङ्गा नगरपालिका –८ का पार्वती सार्कीले बताइन् । गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *