राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

समताखबर
  ११ माघ २०७७, आईतवार १०:२७

लाहान । ११ बुदे लाहान घोषणा पत्र जारी गर्दै राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको दोस्रो राष्ट्रिय सम्मेलन सिराहको लाहानमा सम्पन्न भएको छ । सो सम्मेलनले दशनलाल मण्डलको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा श्रीप्रसाद सदा, महासचिवमा लागेन्द्र सदा, सहसचिवमा रामदयाल सदा र कोषाध्यक्षमा राजवतीदेवी मण्डल निर्वाचित भएका छन् भने सदस्यहरुमा आशा खातुन, गीतादेवी सदा, आशादेवी पासवान, सुमित्रादेवी खंग र सुनितादेवी सदा चयन भएका छन् ।

सरकारले हरवाचरवाका नाममा रहेको अनुचित ऋण खारेजीसहित औपचारिक मुक्तिको घोषणा गर्न, स्थानीय तहको नेतृत्वमा सामाजिक संघ/संस्थाहरुसंगका सहकार्यमा हरवाचरवाको स्पष्ट तथ्यांक संकलन, प्रमाणीकरण र परिचयपत्र वितरण गर्न माग गरिएको छ ।

सरकारद्धारा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भइसकेको सन्दर्भमा हरवाचरवालाई विशेष सवालको रुपमा प्राथमिकतामा राख्दै जिल्ला स्तरीय आयोग तथा सहजीकरण समूहमा उनीहरुको अनिवार्य सहभागिता सुनिश्चित गर्दै जमिन उपलब्ध गराउने व्यवस्था गर्न माग गरेको छ ।

हरवाचरवामाथि हुंदै आएको ऐतिहासिक उत्पीडनको क्षेतिपूर्ति स्वरुप हरवाचरवा परिवारहरुले स्वतन्त्रता पूर्वक सम्मानजनक जिउन सक्ने गरी पुनःस्थापनाको एकीकृत प्याकेज निर्माण गर्दा काम, ज्याला, समानता, स्वतन्त्रता सहित शिक्षा, स्वास्थ्य, दिगो जिविकोपार्जन र रोजगारीको सुनिश्चितता गर्न र हरवाचरवाको पुनःस्थापनाको प्याकेजसहित प्रयाप्त भूमिको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रदेश नम्बर २ का सामाजिक समितिका सभापति जयनुल रायनले उद्घाटन गरेका रायनले संघीय लोकतान्त्रिक व्यवस्थामा समेत हरवाचरवा जस्ता दास प्रथाका अवशेषहरु कायम रहनु लज्जाजनक अवस्था भएको स्वीकार गर्दै मधेश विद्रोहको जगबाट निर्माण भएको प्रदेश सरकारले तत्काल हरवाचरवा मुक्तिको घोषणा गरी न्यायिक पुनःस्थापना गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सभा सांसद सुनिता रामले आफू यही दलित भूमिहिन तथा हरवाचरवाको मुक्तिको लागि अन्तिमसम्म लड्ने र नेतृत्वदायी भूमिका लिन आफ्नो पार्टीको सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाइन् ।

राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष गणेश विकेले कमैया र हलियाको मुक्ति भइसकेको सन्दर्भमा हरवाचरवाको समेत तत्काल मुक्तिको घोषणा हुनुपर्नेमा जोड दिए । उनले यसका लागि सुनिता राम लगायतका दलित साासदहरुको पहलमा संकल्प प्रस्ताव दर्ता गर्न सुझाव दिए ।

सो सम्मेलनमा द फ्रिडम फण्डका बालाराम भट्टराई, जनता समाजवादी पार्टीका नेता विन्देश्वर पञ्जियार, विरेश्वर यादव, हरवाचरवा अधिकार मञ्चका नेताहरु देबलाल राम (सप्तरी), श्याम सुन्दर सदा (सिराह), रामदयाल सदा (धनुषा) लगायतका बक्ताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रमको संचालन संजय महराले गरेका थिए भने अध्यक्षता दशनलाल मण्डलले गरेका थिए ।

दलितअनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *