गाउँघरमा कट्वाल प्रथा अझै कायम

समताखबर
  १२ माघ २०७७, सोमबार ११:०६

धनगढी । सूचना प्रबिधीको विकासले गर्दा बिश्व समुदाय साधुरिदै छ । तर हाम्रो मुलुकका अधिकांस गाउँहरुमा भने अझैपनि सूचना आदानप्रदानका लागि परम्पराकाल देखि प्रयोग हुँदै आएको कट्वाल प्रथा कायमै छ ।

सञ्चार र प्रविधिको अहिलेको युगमा पनि परम्परागत सञ्चारको माध्यम कटुवाल कराउने प्रथा कायम छ । गाउँघरमा सार्वजनिक सूचना पाउने भरपर्दो माध्यमका रुपमा यसलाई लिइन्छ ।

सुदूरपश्चिम प्रदेशका कैलाली र कंचनपुर जिल्लाका थारु समुदायमा पनि कट्वाल प्रथा कायम रहेको छ । हरेक बर्ष माघीका बेला थारु समुदायले बडघर,भलमन्सा र कट्वाल चुन्ने गर्दछन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा पनि यो प्रथा अझै कायम छ । भने रुकुम, बर्दिया, गोरखा, बागलुङ, वर्वत, सिन्धुली लगायतका जिल्लाहरुमा पनि कट्वाल प्रथा कायमै छ । कट्वाल काम गरे बाफत हरेक घर परिवारले बार्षिक रुपमा अन्न र पैसा दिने चलन छ ।

रुकुम
रुकुम पिपल ४ का ३५ बर्षिय पशुपति बिकले गाउँमा कुनै छलफल, सभा, समारोह र गोष्ठी लगाएतका कार्यक्रम गर्नु पर्दा गाउँको अग्लो डाँडामा गएर चर्को स्बरमा कराएर कार्यक्रमबारे जानकारी दिन छन । उनलाई कहिले काहि हुने कार्यक्रमको सूचना गराउन गाउँलेहरुले कट्वाल राखेका छन ।

गाउँमा हुने जुनसुकै घटनालाई सवै गाउँलेहरुलाई जानकारी दिनु र एक गाउँको सुचना सम्वन्धीत अर्को गाउँमा पु¥याउनु उनको मुख्य काम हो । उनि मात्र होईन कांक्रि रुकुमका का ४५ वर्षिय जोरलाल बिकले पनि गाउँका कट्वाल हुन ।

शुरुमा लेकमा गएर दमाह बजाएर सबै गाउँलेको ध्यान आर्कषण गर्नु र त्यसपश्चात हुन लागेको कार्यक्रमबारे जानकारी गराउनु उनको पनि दैनिकी नै हो । त्यस्तै कोल गाविसका मान बहादुर बिक र हुकाम गाविसका पन्थलाल दमाईको पनि गाउँका कट्वाल नै हुन । उमेर ६० बर्ष काटिसकेका दमाई अझै पनि सूचना दिन सबैको घरघरमा पुग्छन ।

कट्वाल बनेर गाउँमा हुने कार्यक्रमबारे जानकारी गराए बाफत प्रत्येक घरबाट बर्षको एक/एक पाथी अन्न पाउने गर्छन । पीपल सगै जिल्लाका राङसी, काक्री, रन्मामैकोट, तकसेरा, कोल, सिस्ने, हुकाम र जाङ लगाएतका दर्जनबढी गाउँहरुमा सुचनाको लागी कट्वाल नै राख्ने गरिएको रुकुम राङसीका स्थानीय नामेन्द्र सुनुवार बताउछन ।

गाउँमा कुनै संघ सस्थाका कार्यक्रम देखि लिएर गाउँमा हुने विवाह र मृत्यु लगाएतका घटनाको सुचना एक ठाउँबाट अर्को ठाउँमा जानकारी दिन अझै कट्वालमा नै निर्भर हुनु पर्ने बाध्यता रहेको छ । जिल्लाको ग्रामीन स्तर सम्म टेलिफोन सेवा भरपर्दो र गुणस्तरीय सेवाको रुपमा विकास हुन नसक्दा अझै पनि परम्परागत रुपमा हुँदै आएको कट्वाल प्रथामै स्थानीयहरु निर्भर हुने गरेका हुन ।

बागलुङ
गलकोट नगरपालिका–७ मल्मका भक्तबहादुर विक ४ वर्षदेखि कट्वालको भूमिकामा छन् । कट्वालको कामलाई ‘हाँको हाल्ने’ भनेर समेत बुझिन्छ । पहिले अग्ला डाँडामा पुगेर चर्को आवाज निकालेर खबर वा सूचना दिने भन्ने चलन थियो । अहिले भने कट्वालले हाते माइकको साहारा लिन थालेका छन् । गाउँ भेला, सार्वजनिक कार्यक्रम, पूजाआजा, बनमा घाँसदाउरा फुक्दा सूचना पु(याउने काम कट्वालको हो । ‘वर्षमा १५/२० पटक सूचना दिइने भन्ने काम पर्छ’ ५० वर्षीय विकले भने ।

मल्म गाउँको माथिल्लो भेग टोक्री, झिर्कासम्मै पुगेर उनले सूचना प्रवाह गर्छन् । यसअघि कटुवाको भूमिकामा रहेका शेरबहादुर विकको निधन भएपछि गाउँलेले भक्तबहादुरलाई जिम्मा दिएका थिए । ‘यो पेशाबाट जीविकोपार्जनमा पनि केही टेवा पुगेको छ,’ उनले भने, ‘सूचना वाहकको काम बापत गाउँका प्रत्येक घरबाट वार्षिक एक पाथी अन्न लिने गरेको छु ।’
अन्न नहुनेले सोही बराबरको नगदसमेत दिने गरेका छन् । विकले घरघरमा अन्न उठाउँदै हिँड्न कठिन भएपछि एकमुष्ट नगद दिने व्यवस्थाका लागि समुदायसँग माग गरेका छन् । सुविधा थप गर्न वडा कार्यालयमा पनि कुरा राखेको उनले बताए ।

मल्ममा सूचनाका अन्य माध्यमको पहुँच पनि छ । ‘हाँको’ हाल्दा धेरै जनामा एकसाथ सूचना पुग्ने हुँदा गाउँमा यसको प्रभावकारिता देखिएको हो । गाउँमा खबर पु(याउन यसबाट सुलभ र छरितो समेत हुने गरेको कार्यवाहक वडाध्यक्ष लोकबहादुर थापाले बताए । वडा कार्यालयले सुविधा र पारिश्रमिक थप्न पहल गरिरहेको उनको भनाइ छ ।

अन्नको सट्टा नगद पारिश्रमिक दिइनुपर्ने कटुवालको माग छ । कट्वाललाई प्रथा नभएर पेशा बनाउनुपर्ने पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले बताउँछन् । कट्वालको ठाउँमा अन्य कुनै नाउँ पनि दिन सकिने उनको सुझाव छ ।

गोरखा
२०३३ सालदेखि बारपाकमा कट्वालको भूमिका निर्वाह गर्दै आउनु भएका गुरुङ अहिले ६४ वर्ष हुनुभयो । पञ्चायत कालदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राज्य व्यवस्था ठूलो परिवर्तन भए पनि उहाँको पेशा भने फेरिएको छैन । ‘मैले नभनेसम्म गाउँलेले अरुको कुरा पत्याउँदैनन्’ गुरुङले भन्नुभयो ‘वडा कार्यालयले समेत मलाई नै सूचना भन्न लगाउँछ ।’

करिब १५ सय घरधुरी रहेको बारपाकमा हुने सभा समारोह, जडीबुटी खोल्ने, दाउरा काट्ने, महिला तथा आमा समूहको सूचना गाउँलेलाई सुनाउने, मानिस मर्दापर्दा लगायतका काममा कटुवाल लगाउने चलन छ । ‘वडा कार्यालयको योजना र कार्यक्रम पनि मै सुनाउँछु’ उहाँले भन्नुभयो ‘पञ्चायतदेखि नै सरकारी सूचना मैले भन्थे, पछि गाबिस र अहिले वडाको पनि मलाई नै लगाउनु हुन्छ ।’

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ का सबै सूचना उहाँले सुनाउने गर्नुहुन्छ । वडा कार्यालयले प्रवाह गर्ने सेवा सुबिधाका सूचनाहरु, गाउँपालिकाले गरेका निर्णय, योजना सम्झौतादेखि भुक्तानी लिनेसम्मका सबै सूचना कटुवाल लगाएर टोलटोलमा सुनाउने गरिएको छ ।

बारपाकमा आधुनिक सञ्चारका सबै सुबिधा छन् । त्यहाँ स्थानीय एफ्एम रेडियो समेत सञ्चालनमा छ । तर पनि कट्वाल लगाउने प्रचलन हराएको छैन ।

‘अहिले सबैको हातमा मोबाइल छ, घरमा रेडियो टिभी पनि छन्’ उहाँले भन्नुभयो ‘तर खबर मैले नै सुनाउनु पर्छ ।’ गाउँमा नयाँ सूचना आउने बित्तिकै उहाँ सुनाउन दौडिहाल्नुहुन्छ । हाते माइक बोकेर गुरुङ मनिडाँडा उक्लिएपछि गाउँमा केही नयाँ कुरा भयो भन्ने सबैलाई लाग्छ । ‘बाजे डाँडातिर गएको देखेपछि हामी त काम छोडेर घर बाहिर निस्कन्छांै’ स्थानीय साममाया घलेले भन्नुभयो, ‘कहिले देखिँदैन बोलेपछि मात्र थाहा हुन्छ ।’

कट्वाल लगाए बापत उहाँलाई गाउँलेले हरेक सात महिनामा एक मानाका दरले अन्न दिन्छन् । करिब १५ सय घर धुरी रहेको त्यहाँ कतिपयले भने एक सय रुपियाँ दिने गरेका छन् । ‘हरेक सात महिनामा सबैले एक–एक माना मकै, कोदो, गहुँ, जौँ दिन्छन्’ गुरुङले भन्नुभयो ‘खेतिपाती नगर्ने, गोरखा बजार र काठमाडौंमा घर हुनेहरुले पैसा पठाउँछन् ।’

बुदबहादुरले कट्वाल लगाएपछि उहाँकी सहयोगी कान्छी गुरुङले उक्त अन्न र पैसा संकलन गर्नुहुन्छ । संकलन भएको अन्नपात र रकमले दुबैको परिवार चल्ने गरेको छ । अन्यत्र परम्परागत कट्वाल पेसा हराउँदै गएपनि बारपाकमा भने अहिलेसम्म जीवित छ । बृद्ध अबस्थामा ढल्कँदै गरेका उहाँलाई परम्परागत पेशाको चिन्ता लाग्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *