
धनगढी ४ मंसिर : मंगलबार बिहानै उमादेवी वादी धनगढीमा भेटिइन् । उनको दुबै हातमा रहेका मोवाइलहरु बजिरहेका थिए । उनलाई फोन उठाउन भ्याइ नभ्याइ थियो । एउटा फोन नसकिदै अर्को फोन बजिहाल्थ्यो । सोमबार बेलायती प्रशारण संस्था बीबीसीले विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाहरूको सूची सार्वजनिक गर्दा उमा त्यसको १० औँ नम्बरमा परिन् । बीबीसीको सूचीमा नेपालबाट उनी एक्लै समावेश छिन् । यो खबर सार्वजनिक भएपछि स्वदेशमा रहेका तथा बिदेशमा रहेकाहरुले उनलाई बधाई तथा शुभकामना दिइरहेका छन् ।
प्रदेश सभा सदस्य हुँदाको भन्दा बढि शुभकामना र बधाई
उमादेवी वादी सुदूरपश्चिम प्रदेश सभाकी सदस्य हुन् । उनी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद भएकी हुन् । मुलुककै पहिलो वादी सांसद भएपछि उनलाई शुभकामना र बधाइको ओइरो लाग्यो तर त्यो भन्दा पनि बढि शुभकामना र बधाई अहिले आइरहेको उनले सुनाइन् ।
‘अहिले फोन उठाउनै धौ–धौ भएको छ । बाटोमा देख्ने बित्तिकै पनि रोकेर बधाई दिइरहनु भएको छ’ उनले भनिन्, ‘त्यो बेला भन्दा यो बेला मलाई धेरैले सम्झिए जस्तो लागेको छ ।’
बीबीसीको विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाहरूको सूचीमा आफू पनि समाबेश भएको खबर उनले सोमबार करिब ६ बजेतिर थाहा पाएकि थिइन् । ‘मलाई बीबीसी काठमाडौँको एकजना बैनीले फोन गर्नुभएको थियो । शुभकामना र बधाई दिदै तपाई बीबीसीको १०० प्रभावशाली र प्रेरणादायी महिलाहरूको सूचीमा पर्नुभयो भन्नुभयो । त्यो बेला मैले केहि बुझिन’ उमाले भनिन्, ‘त्यस लगत्तै मलाई फोनको ओइरो सुरु भयो ।’
उनले प्रदेश सभा सदस्य हुँदा पनि यति धेरै फोन, शुभकामना र बधाई नआएको बताइन् । ‘हिजो साँझ छ बजेपछि फोन आउन थाल्यो । राति ११ बजेसम्म उठाएँ, फेरी बिहान ५ बजे देखि आउँदै छ, अहिले पनि उठाएर धन्यबाद हजुर भनिरहेकि छुँ । हेर्नुहोस् त फेरी अर्को फोन आयो’ बाँया हातमा रहेको मोवाइल देखाउँदै उनले भनिन् ।
‘सगरमाथाको चुचुरोमा पुगेझै लागेको छ’
‘मानिसहरु सगरमाथाको चुचुरोमा पुग्दा कति खुशी हुन्छन् होला त्यो मलाई थाहा छैन तर, मलाई आज त्यो भन्दा बढि खुशि मिलेको छ ’ उमाले केहि भावुक हुँदै भनिन्, ‘एउटा दलित समुदाय दलित भित्र पनि वादीकी छोरीलाई संसारले चिन्ने भए, त्यो भन्दा ठूलो कुरा मेरा लागि के हुन सक्छ र’
फिरन्ते जीवनबाट आएकि उनले यो सफलता कहिल्यै मिल्ला भन्ने कल्पना नगरेको बताइन् । आफूले गरेको संघर्ष ब्यक्तिगत सफलताका लागि मात्रै होइन भन्छिन् उनी ।
राजपरिवार कहाँ हुने उत्सव र चाँडबाडमा नाचगान गर्ने त्यस वापत केही जिन्सी र नगर लिने र त्यसैले जीविकोपार्जन गर्ने समुदायकी एक महिला संसारको १० जना भित्र पर्दा अहिले सम्मकै सबै भन्दा बढि खुशीको क्षण भएको उनी बताउँछिन् ।
‘हाम्रो समयुदायको उत्थानका निम्ति हामीले लडेको लडाइको प्रतिफल हो’ उमाले भनिन्, ‘यो सफलता मेरो होइन, त्यो लडाइमा साथ दिनुहुने सबै वादी दिदी बहिनीहरुको हो ।’
‘कतिपय बादी महिलाहरू बाध्यात्मक यौन पेसा मार्फत जीविकोपार्जन गर्थे । त्यही क्रममा उनीहरूबाट बच्चा जन्मिन्थे । ती बच्चाहरूको बाबुको पहिचान हुँदैनथ्यो । बाबुको पहिचान नभएपछि बच्चाहरूले नागरिकता पाउन सक्दैनथे । नागरिकतामा बाबुको नाम उल्लेख हुनुपर्ने अनिवार्य कानुनी व्यवस्था थियो । वादी समुदायका अधिकांश व्यक्तिहरू नागरिकताविहीन थिए । उनीहरू नागरिकता नभएकै कारण शिक्षा–दीक्षा र रोजगारी लगायतका कुराबाट बञ्चीत थिए । हामीले त्यसैको निम्ति संर्घष ग¥यौँ’ उमाले बिगत सम्झिन् ।
‘सम्मानले थप संघर्षका लागि प्रेरणा दिएको छ’
नेपाल सरकारको मन्त्रि परिषद् बैठकले २०६५ पुस २३ गते यौन पेसामा लागेका वादी महिलालाई आत्म सम्मानका साथ पुनस्थापना गर्ने निर्णय गरेको थियो । तर अहिले पनि ठूलो संख्यामा वादी महिलाहरुको पुनस्थापना हुन सकेको छैन । सरकारकोे लापरबाही र ढिलासुस्तीले अझै पनि आफूहरुको समुदायका महिलाहरु कष्टपूर्ण जीवन बिताउन बाध्य रहेको उनी बताउछिन् ।
उनले भनिन्, ‘मलाई जुन सम्मान मिलेको छ यसलाई हौसाउने भन्दा पनि हौषला दिने काम गरेको छ । मेरा समुदायका महिलाहरुले भोग्नु परेको समस्याका बिषयमा म थप संघर्ष गर्नेछुँ’
२०६४ असार १७ गते आन्दोलनको नेतृत्व गरेर काठमाडौँ पुगेकि उमा वादी वादी महिलाहरुको मुक्तिका लागि सिंहदरबारको गेटमा झुण्डिएकि थिइन् । सरकारले आफूहरुको समुदायका बिषयमा गम्भिर नभए फेरी पनि त्यस्तो अवस्था दोहोरिन सक्ने उनले चेतावनी दिइन् ।
Leave a Reply