८८ हजार ७ जनाले लगाए कोरोना विरुद्धको खोप

समताखबर
  १९ माघ २०७७, सोमबार १२:०३

काठमाण्डौँ । कोभिड–१९ विरुद्धको खोप आइतवार पाँचौँ दिनसम्म ८८ हजार सात जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतवारसम्म प्रदेश नं १ मा १२ हजार सात सय ६३, प्रदेश नं २ मा ११ हजार ५७, वाग्मती प्रदेशमा २८ हजार ६ सय ८३ जनाले खोप लगाएका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा १२ हजार तीन सय ११, लुम्बिनी प्रदेशमा १० हजार सात सय ६०, कर्णाली प्रदेशमा पाँच हजार पाँच सय ५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार आठ सय ७७ जनालाई खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिशिल्ड खोप यही माघ १४ गतेदेखि देशभर एक सय ८५ खोप केन्द्रबाट अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो । मन्त्रालयले पहिलो चरणमा प्राथमिकता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिस पत्र जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरि खोप लगाउन आग्रह गरेको छ ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले कोभिशिल्ड सुरक्षित र प्रभावकारी रहेको कुरा वैज्ञानिक अध्ययनले पुष्टि गरेको बताए । खोप लगाएपछि केही व्यक्तिमा सामान्य असर देखिए पनि सुरक्षित र प्रभावकारी देखिएको उहाँले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *