थारू समुदायका ११ प्रतिशतलाई सिकल सेलको संक्रमण

समताखबर
  २१ माघ २०७७, बुधबार ११:२१

बर्दिया । बर्दिया जिल्लाको थारू समुदायमा ११ प्रतिशतलाई सिकल सेल रोगको संक्रमण भएको पाइएको छ । वंशाणुगत रुपमा थारु समुदायमा जनस्वास्थ्यको प्रमुख समस्या बनेको सिकल सेलबारे हालै अध्ययन गरेको स्वास्थ्य अनुसन्धान परिषदले समयमै रोग नियन्त्रण नगरे स्थिति अझै जटिल बन्ने निष्कर्षसहित सरकारलाई प्रतिवेदन बुझाएको हो।

रगतको रातो रक्तकोषभित्र रहने र शरीरमा अक्सिजन प्रवाह गर्ने हेमोग्लोबिनलाई असर पार्ने वंशाणुगत रोग हो सिकल सेल । यसले रक्तकोषलाई हँसिया वा अर्ध चन्द्र आकारको स्वरूपमा परिवर्तन गरिदिन्छ । अहिलेसम्म यो रोग थारु समुदायमा मात्रै देखिएको छ ।स्वास्थ्य अनुसन्धान परिषदले बर्दियाका एकदेखि २९ वर्ष उमेर समूहका २० हजारमा गरेको अध्ययनमा २२ सय ५६ जना अर्थात ११ प्रतिशतभन्दा बढीमा सिकल सेल रोग लागेको पुष्टि भएको छ । दुई वर्ष लगाएर गरेको अनुसन्धानमा सिकलसेलबाट पुरुष र महिला बराबरजस्तै प्रभावित भएको पाइएको छ । 

सिकल सेलको तत्काल कुनै लक्षण देखिँदैन । आमा वा बुबाबाटै बच्चामा पनि वंशानुगत रूपमा आएको हुन्छ। तर सिकल सेल रोग भएकाहरुमा बारम्बार ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्नेजस्ता लक्षणहरु भने देखिने अनुसन्धानकर्ताहरु बताउँछन् ।

अहिलेसम्म पश्चिम तराईका थारु समुदायमा बढी देखिएको यस रोगको अन्य समुदायमा प्रभावबारे भने अध्ययन भएको छैन । तर चिकित्सकहरूका अनुसार, अरुमा पनि हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न । वंशाणुगत रुपमै सर्ने र सामान्य अवस्थामा पहिचान समेत नहुने भएकोले यसको बृहत अनुसन्धान र नियन्त्रणमा तदारुकता देखाउनुपर्ने विज्ञहरुको सुझाव छ ।  कान्तिपुरटिभीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *