घुम्ने होइन त शुक्लाफाँटा ?

लक्ष्मी जोशी
  २२ माघ २०७७, बिहीबार ०८:११

धनगढी । कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो निकुञ्ज अवलोकनका लागि स्थानीय तथा बाह्य पर्यटकहरुकोे रोजाइको क्षेत्र हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज २०२६ सालमा सिकार आरक्षको रुपमा स्थापना भई २०३२ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्षको रुपमा घोषणा गरिएको थियो । पछि २०७३ साल फागुन ९ गते शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको हो ।

थोरै क्षेत्रफलमा धेरै वन्यजन्तु रहेको शुक्लाफाँटा जैविक विविधताका दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । सबैभन्दा बढी बाघको जनघनत्व रहेको संरक्षित क्षेत्रका रुपमा चिनिने शुक्लाफाँटा ३०५ वर्ग किमीमा फैलिएको छ । निकुञ्ज भित्र पाइने विश्वमै सबैभन्दा ठूलो संख्या दुई हजारभन्दा बढीको बाह्रसिङ्गाको झुन्ड, विभिन्न प्रजातिका वन्यजन्तु, वनस्पति र चराचुरुङ्गीको चिरबिरले यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउँछ ।

सङ्कटापन्न वन्यजन्तु तथा प्रजातिको संरक्षणमा उच्च प्राथमिकता दिइँदै आएको आरक्ष पर्यटकीय दृष्टिकोणले आगामी दिनमा थप परिचित हुनेमा यहाँका पर्यटन व्यवसायीको बुझाइ छ । नेपालका संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी खयर मजुर रहेको शुक्लाफाँटाभित्र तराईका संरक्षित क्षेत्रमध्ये सबैभन्दा ठूलो घाँसे मैदानसमेत रहेको आरक्ष कार्यालयले जनाएको छ । नेपालको तराईका संरक्षित क्षेत्रहरू मध्ये सबैभन्दा बढी वनस्पति प्रजाति पाइने, दुर्लभ वन्यजन्तु तथा पंक्षीको वासस्थान, निकुञ्जमा अवस्थित ताल, हात्तीको सवार र तराईका संरक्षित क्षेत्रहरू मध्ये सबैभन्दा बढी खर मयुर र कृष्णसारको पुनर्स्थापना गरिएको नेपालको पहिलो संरक्षित क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका विशेषता हुन् ।

यस्तो छ विशेषता
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा २०१८ को गणनाअनुसार १६ वटा बाघ रहेका छन् । निकुञ्जमा मौसमी हात्तीहरू ४०/५० को झुन्डमा आउने गरेको भएपनि ४ वटा रैथाने हात्ती रहेको निकुञ्ज कार्यालयले जनाएको छ । २०१७ को गणना अनुसार १७ वटा गैँडा रहेको निकुञ्जमा २०१४ को गणना अनुसार २३०१ वटा बाह्रसिङ्गा रहेका छन् भने ७४ वटा कृष्णसार रहेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् । भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, २०१३ को गणना अनुसार ८०–९० वटा नीलगाई र ४ सय २४ प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । विश्वमै दुर्लभ मानिएको सारस, खर मजुर, सिम तित्रा, राज धनेश र लेसार भुडीफोर जस्ता वन्यजन्तु समेत शुक्लाफाँटामा रहेका छन् ।

स्तनधारी वन्यजन्तुमा ५३ वटा भन्दा बढी प्रजातिहरू रहेका छन् । जसमा पाटे बाघ, एकसिंहे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा, चित्तल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल आदि रहेका छन् ।

अघिल्ला वर्षहरूमा पर्यटकहरू हात्तीको सवार गरी शुक्लाफाटा अवलोकन गर्न आउने गरेको भएपनि यो बर्ष कोरोना महामारीका कारण पर्यटक भित्र्याउन नसकिएको निकुञ्जले जनाएको छ । कोरोना महामारीमा अन्य व्यापार व्यवसाय ठप्प भएसँगै पर्यटन उद्योग पनि बन्द थियो । कोरोनाको जोखिम सामान्य रहेकोले यसअघि नै कार्तिक १ गते देखि शुक्लाफाटा आवागमनका लागि खुला गरिसकेको सूचना मार्फत जनाइएको छ ।

जङ्गल सफारी, वाक सफारी र हात्ती सफारी खुला गरीएपनि फिसिङ, र्याप्टिङ र क्याम्पिङलगायत गतिविधिमा भने रोक लगाइएको छ । १७ वटा एकसिङ्गे गैँडा, १६ वटा पाटे बाघ, मुलुककै सबैभन्दा ठूलो घासे मैदान, जैविक विविधताले भरिपूर्ण दर्जनबढी तालतलैया र सयौं प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न पाइने शुक्लाफाँटामा पछिल्ला वर्षहरुमा पर्यटक आवमन बढिरहेको तथ्याङ्कले देखाएको छ ।

कोरोना महामारी पछि मङ्गलवारसम्म ९८५ पर्यटक भित्रिसकेका शुक्लाफाटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रविन चौधरीले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा १७७५ जनाले शुक्लाफाटा भ्रमण गरिसकेका छन् । जसमध्ये १६०३ जना नेपाली पर्यटक,७२ जना सार्क राष्ट्रका पर्यटक र १०० जना विदेशी पर्यटक रहेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार सबैभन्दा बढी पर्यटक कार्तिक र पौष महिनामा निकुञ्ज भित्रिएको पाइन्छ ।

ओझेलमा शुक्लाफाँटा
प्राकृतिक विशेषताले भरिपूर्ण हरियाली मनोरञ्जन र आनन्दित बनाउने स्थान भएपनि प्रचारप्रसार नहुँदा लक्ष्यअनुरूपको पर्यटक भित्र्याउन नसकेको देखिन्छ । समाज र विद्यालय स्तरबाट पनि घुम्नको लागि टाढा टाढा गन्तव्य रोज्ने भएकोले नजिकको तीर्थ हेला भनेजस्तै भएको छ ।

त्यसै गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै रहेको मझगाउँ विमानस्थल बन्द हुनुले पनि यहाँको आर्थिक विकास र पर्यटन व्यवसाय फस्टाउन नसकेको हो । विदेशी पर्यटक निश्चित समयका लागि नेपाल घुम्न आउने भएकाले यहाँको भौगोलिक विकटताले पनि छोटो समयमा सबै ठाउँ घुम्न सम्भव छैन । जसका लागि मझगाउँ विमानस्थल सञ्चालन हुन जरुरी देखिन्छ ।

निकुञ्जभित्र रहेका थुप्रै तालहरू ओझेलमा छन् । यो वर्ष कालीकिच र रानी तालको व्यवस्थापन हुने सूचना अधिकारी रविन चौधरीले बताए । ‘यो वर्ष कालीकिच र रानी तालमा केहि व्यवस्थापन हुन्छ, यो कार्य चाहिँ वैशाख देखि सुरु हुन्छ’ उनले भने ।

निकुञ्ज प्रवेशका लागि बेलडाँडी देखि शुक्लाफाटा द्रुत प्रवेश गर्न सकिने नयाँ प्रवेशद्वारको गत वर्ष शिलान्यास भइसकेको थियो । निकुञ्ज प्रवेशद्वारको तयारी भइरहेको र केहि दिनमै खुल्ने उनको भनाइ छ ।

निकुञ्ज संरक्षणमा सबैले लाग्नु पर्ने उनले बताए । निकुञ्ज परिसरमा घाँस दाउरा काट्ने, रुख काट्ने, डढेलो लगाउने, माछा मार्ने, जङ्गली जनावरको सिकार गर्ने जस्ता अमानवीय क्रियाकलाप रोक्न र सबै मिली संरक्षण संवर्द्धन जोड दिन उनले आग्रह गरे । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचार प्रसारमा जोड दिन सके सोचे अनुरूप पर्यटक भित्रिने र आर्थिक समृद्दी सँगै स्थानीय जनजीवनमा ठूलो टेवा पुग्ने देखिन्छ ।

2 responses to “घुम्ने होइन त शुक्लाफाँटा ?”

  1. Sher saud says:

    आउनु पर्ला घुम्न

  2. I’m extremely inspired together with your writing skills as smartly ass
    with the layout in your blog. Is this a paid theme
    or did you modify it yourself? Either way stay up the excellent high
    quality writing, it is uncommon to look a great weblog like this oone
    theze days..
    https://works.bepress.com/americanhistoryessaytopicsfamousperson/29/
    writing an essay for college
    writing an essay for college https://www.smore.com/765jt

Leave a Reply

Your email address will not be published. Required fields are marked *