बझाङमा वर्षासँगै हिमपात, जनजीवन कष्टकर

समताखबर
  २३ माघ २०७७, शुक्रबार ०८:४८

बझाङ । बिहीबार बिहानैदेखि मौसममा आएको परिवर्तनसँगै बझाङमा भारी हिमपात भएको छ । भदौदेखिको लामो खडेरीले सुख्खा भैरहेको बझाङमा बिहीबार रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ । हिमपात र वर्षाका कारण चिसो बढेको छ ।

गत वर्ष मंसिरको दोस्रो सातामै हिमपात भएको भए पनि यस वर्ष ढिला हिमपात भएको हो । जिल्लाको बुङगल नगरपालिका, छविसपाथीभेरा, तल्कोट, साईपाल, मष्टा खप्तडछान्ना, थलारा, वित्थडचिर र दुर्गाथली गाउँपालिकामा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन ।

हिमपातका कारण एक गाउँबाट अर्को गाउँसम्म पुग्न सकिने अवस्था नरहेको बुङगल नगरपालिका वडा नं २ का जय धामीले बताए ।

उनले भने, ‘गाँउमा २ फिट भन्दा बढी हिँउ परेको छ । एक घर बाट अर्को घरसम्म जान सकिने अवस्था छैन ।’ दैनिक कामकाजका लागि मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् ।

हिमपात र वर्षासँगै बढेको चिसोका कारण दैनिक कामकाज गर्न असहज भएको उनको भनाइ छ । विगतका वर्षहरुको भन्दा यस वर्ष चिसो अत्यधिक बढेको स्थानीयको भनाइ छ । चिसोको असर बालबालिका र बृद्धबृद्धाहरुमा बढी परेको छ ।

हिमपातका कारण आंशिक रुपमा टेलिफोन, यातयात र विद्युत सेवा प्रभावित भएको छ । बैतडीको ढोल्या मोड, खोड्पे बजार, अनारखोली, नाचन्थलीलगायतका ठाँउहरुमा बाक्लो हिमपात भएका कारण बझाङ भित्रने सावरी साधनहरुलाई सकस भएको छ । बादलले सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिक रुपमा प्रभावित भएको छ ।


बिहीबारदेखि नै बेला बेलामा नेटर्वकले काम नगर्ने समस्या देखिएको बुङल नगरपालिका वडा नं १० देउलीकोटका मोहन बोहराले बताए । वर्षा नभएका कारण अधिकांश क्षेत्रमा हिउँदे बाली राम्ररी उम्रन पाएका छैनन् भने उम्रेका बाली पनि सुकेर पहेँलो हुन थालेका छन् ।

ढिलो गरीे पानी परे पनि यो वर्ष बालीनालीका लागि पर्याप्त नभएको किसानहरुको भनाइ छ । विगतका वर्षहरुमा कात्तिकको पहिलो सातातिर हिमपात भएको थियो । यसपाली ढिलो हिमपात भएको छ । हिमपात ढिलो भए पनि बाली सप्रने किसानहरुको भनाइ छ । शिलापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *