पहिचानसहितको नागरिकता पाइन् पारालिङ्गी संगिताले

मनिका विश्वकर्मा
  २९ माघ २०७७, बिहीबार ०९:१७

चितवन । पारालिङ्गी महिलाको रुपमा परिचित भरतपुर महानगरपालिका शरदपुरकी २२ बर्षिय संगिता अधिकारीले आफ्नो पहिचानसहितको नागरिकता पाएकी छन् ।

यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिले नाम र लिङ्ग सच्याएर नागरिकता लिन पाउने गरी २०७३ साल माघ १० गतेदेखी लागु गरिएको कानुन अनुसार संगिताले पहिलो पटक आफ्नो पहिचान अनुसारको नागरिकता पाएकी हुन् ।

चितवन जिल्लामा पहिलो पटक यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिलाई पहिचानसहितको नागरिकता उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

पहिचानसहितको नागरिकता पाउनको लागि संगिताले चार वर्ष प्रशासन कार्यालय धाउनु परेको थियो । परिवार र छिमेकीको सनाखत हुँदा पनि उनलाई प्रशासनले भने पत्याइरहेको थिएन । नागरिकता प्राप्त गर्न धेरै संघर्ष गर्नु परेको संगिता बताउँछिन् । उनले भनिन्, ‘नागरिकताको लागि चार वर्ष त धाएँ तर अन्तिममा म को हुँ भनेर प्रमाणित गर्नुपर्‍यो ।

नागरिकता प्राप्त गर्न मेडिकल चिकित्सकबाट प्रमाणीकरण (मेडिकल प्रुफ) गर्नुपरेको उनले तितो अनुभव सुनाईन । ‘अन्य’ भनेर नागरिकता प्राप्त गर्न धेरै संघर्ष गर्नुपरेको बताउँदै उनले नागरिकता सिफारिसका लागि वडा कार्यालयमा व्यक्तिगत कुरा बुझाउनु परेको बताइन् । पहिलो कुरा त वडालाई पारालिङ्गी भनेकोनै थाहा नभएको र पछि यसै सम्बन्धी दुईरतीन वटा कार्यक्रममा सहभागी गराएपछि मात्र वडा कार्यालयले सिफारिस बनाइ दिएको उनको अनुभव छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कानुनमा उल्लेख नभए पनि आवश्यकता अनुसार नागरिकता दिनु परेकोले त्यसरी चिकित्सकद्वारा प्रमाणित गर्नुपरेको बताए । उनले भने, ‘ यसरी जसलाई पनि म तेस्रोलिङ्गी भन्दैमा नागरिकता दियो भने समाजमा समस्या पैदा हुन जान्छ ।’

बुबाआमासँगै बस्दै आएकी संगिताको जन्मदर्तामा ‘छोरा’ उल्लेख छ । उमेर बढ्दै जाँदा उनमा छोरीका गुण देखा प¥यो । पछिमात्रै उनले आफू पारालिङ्गी भएको थाहा पाइन् ।

अदालतले प्रष्ट व्याख्या गरेर पहिचान दिन आदेश गरेको लामो समय भइसके पनि नेपाली नागरिकता लिने उनको धोको पूरा हुन सकेको थिएन । यसका लागि जन्मदर्ता मुख्य बाधक बनेको थियो । मेडिकल रिपोर्टलेनै पुष्टि गर्नुपर्छ । त्यही रिपोर्ट बनाउन लाग्ने ठूलो धनराशीको जोहो गर्न नसक्दा पनि समय धेरै खर्चिनु परेको संगिता बताउँछिन् ।

लैङ्गिक पहिचानको लागि मेडिकल उपचारमा पाँच लाखसम्म रकम खर्च लाग्ने र त्यो जुटाउन समय लागेकाले नागरिकता प्राप्त गर्न यतिका समय कुर्नु परेको संगिताले बताइन् । ‘मैले त पाए । अरुले किन नपाउने’ पहिचान अनुसारको नागरिकता नपाएकाहरुको लागि आवाज उठाउने उनले भनिन्

मानव सचेत समाज चितवनका कार्यक्रम संयोजक देव श्रेष्ठका अनुसार यसरी चिकित्सकबाट पारालिङ्गी हो होइन भनेर प्रमाणित गर्नु नै गलत तरिका रहेको बताए । भावनात्मक रुपमा आफू महिला, पुरुष भन्दा फरक क्षमताको भएपछि पनि त्यसलाई प्रमाणित गर्नुपर्ने आवश्यक नरहेको श्रेष्ठ बताउँछन् । चितवनमा ३ सय बढी यौनिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको तथ्याक छ । संगिता बाहेक अन्यले नागरिकता प्राप्त गर्न सकेका छैन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ की सानु लामाले पनि पहिचानसहितको नागरिकता प्राप्त गरेकी छन् । उनले भने सहजै तरिकाले नागरिकता प्राप्त गरेकी थिइन् । लामाले कुनै मेडिकल प्रुफ गर्न नपरेको निल हिरा समाज मकवानपुरका कार्यक्रम संयोजक किरण थापाले बताए । वडाले सिफारिस बनाइ दिएपछि सहज रुपमा प्रशासनले पहिचानसहितको नागरिकता पाएको उनले बताए । मकवानपुरमा अहिलेसम्म तीन जनाले पहिचान सहितको नागरिकता पाएका छन् ।

नारायणीअनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *