विप्लवसहित चार दलको रणनीतिक एकता

समताखबर
  २९ माघ २०७७, बिहीबार २०:५२

काठमाडौं । विभिन्न ४ कम्युनिस्ट पार्टीहरुले रणनीतिक कार्यगत एकता घोषणा गरेका छन्।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपाल र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच रणनीतिक कार्यगत एकता भएको हो।

प्रज्ञा प्रतिष्ठानमा आयोजित एक सभामा यी पार्टीबीच एकता घोषणा गरिएको हो। एकीकृत पार्टीले अब फागुन ६ गते बुटवलमा, १४ गते इटहरीमा र १८ गते धनगढीमा आमसभा गर्ने घोषणा समेत गरेको छ।

पुस ५ गते अघि नै वर्तमान सरकारले प्रतिगमन गरेको भन्दै विरोध स्वरुप आमसभा गर्ने तयारी गरिएको हो।

विप्लव नेतृत्वको नेकपालाई कामचलाउ प्रधामन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक रुपमा प्रतिबन्ध लगाएका छथियो। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा विभाजन भएपछि भने ओलीले विप्लवसँग वार्ता गर्न पहल गरिरहेको छ।

वैज्ञानिक समाजवादी पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीले विप्लव माथि लागेको प्रतिवन्ध हटाइनुपर्ने माग गरे।

हामीले प्रतिबन्धलाई खारेज गर्दै कार्यगत एकता गर्दै पार्टी एकता गर्छौं, उनले भने।

प्रतिगमन पुस ५ गते बाट पछि मात्रै नभइ त्यसअघि नै भएको उनको दाबी छ। संसद विघटन राजनीतिक पाटोबाट भएको एउटा मात्र प्रतिगमन भएको आहुतीको तर्क छ।

दोस्रो संविधानसभा हुँदा प्रचण्डले आत्मसमर्पण गरेर प्रतिगमन सुरु भएको उनको भनाई थियो।

दोस्रो संविधानसभा हुँदा माओवादीको पुरानो नेतृत्व प्रचण्डले आत्मसमर्पण गर्दा प्रतिगमन सुरु भयो। पहिलो संविधान सभा सम्म केन्द्रीकृत भएका अधिकार दोस्रो संविधानसभाबाट त्यसलाई हरण गरियो, उनले भने।

संसदको पुनर्स्थापना गरेर हल नुहने आहुतिको भनाई छ। क्रान्तिकारीहरु एक हुनु जरुरी भएको उनले बताए। संयुक्त सरकार र अहिलेको व्यवस्थामा प्वाल परेको आहुतिको तर्क छ।

अब बेला आएको छ क्रान्तिकारीहरू एक हुन जरूरी छ। बस रिजर्भ गरेर कार्यकर्ता काठमाडौं ल्याउँदैमा परिवर्तन हुँदैन। जनता जागेर परिवर्तन आउँछ। राजनीतिक समीक्षा सभा गरौँ, संयुक्त सरकार यो व्यवस्थाम प्वाल पर्‍यो। क्रान्तिकारीले त्यो प्वाललाई भ्वाङमा परिवर्तन गर्न जरुरी छ, उनले भने।

यस्तै, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष ऋषिराम कट्टेलले अहिलेको राजनीतिक व्यवस्थाले समस्याको समाधान नहुने बताए।

कोही पुनर्स्थापना गरेर जनताको समस्या समाधान हुन्छ भनेर त कोही चुनाव गरेर ठिक हुन्छ भन्ने भ्रम छर्दैछन्। न त संसद पुनर्स्थापना गरेर समृद्ध हुन्छ न चुनावले न‌ै समस्या समाधान हुन्छ, उनले भने।

अहिलेको राज्यसत्ता असफल भइसकेको भन्दै उनले त्यसलाई खारेज गरेर जनताको राज्यसत्ता बनाउनुपर्ने माग गरे। रणनीतिक एकता सभामा कट्टेलले आफूहरुको मोर्चाले जनताको नयाँ राज्यसत्ताको नेतृत्व गर्ने दावी गरे।

यो असफल व्यवस्था खारेज गरेर,यो राज्यसत्ताको विस्थापन गरेर जनताको राज्यसत्ता नबनाउँदा सम्म यो समस्या समाधान हुन्न, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *