बाजुरामा आकस्मिक प्रसुुति सेवा शुरु

समताखबर
  ८ फाल्गुन २०७७, शनिबार १३:०२

बाजुरा । बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुुति सेवा सञ्चालनमा आएको छ । पहिलो दिन शुक्रवार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा मुगुकी २९ वर्षिय निर्मला चदाराको सफल शल्यक्रिया गरी प्रसुती गराइएको जानकी प्राप्त भएको छ ।

शुक्रवार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान बाल रोग विशेषज्ञ डा.नम्रता सिन्धान, एनेसथेसिष्ट डा.अर्जुन प्रसाद तिवारी, स्त्री तथा प्रसुतीमा विशेषज्ञ डा.दिसाही रोका, प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका स्वास्थ्यकर्मीहरुले मुगुकी चदाराको शल्यक्रिया गरेका थिए ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानका निर्देशक डा.मंगल रावलले कोल्टीमा प्रसुती सेवा निरन्तरता दिन कर्णाली प्रतिष्ठान प्रतिबद्ध रहेको बताए । आकस्मिक प्रसुती सेवा नहुँदा बाजुराका चार, हुम्ला, कालीकोट, मुगुका पाँच वटा गरी नौ वटा स्थानीय तहका महिलाहरु प्रसुती सेवाबाट बञ्चित थिए ।

कोल्टीमा प्रसुती सेवा सञ्चालनमा आएपछि चार जिल्लाका नौ वटा स्थानीय तहका महिलाहरुले प्रसुती सेवा लिनकै लागि नेपालगन्ज र मार्तडी जानु पर्ने अवस्थाको अन्त्य भएको बुढीनन्दा नगरपालिकाकी उपमेयर श्रृष्टि रेग्मीले बताईन ।

यो हाम्रा लागि अत्यन्त खुशीको कुरा हो, उनले भनिन्, अव कुनै महिलाले समयमै प्रसुती सेवा नपाएर मृत्यु वरण गर्नुपर्ने छैन । बिगतमा प्रसुती सेवा लिन नेपालगञ्ज तथा जिल्लाबाट अन्यन्त्र रेफर गरेका गर्भवती महिलाहरुलाई बुढीनन्दा नगरपालिकाले २० हजार रुपैया सहयोग गर्ने गरेको थियो ।

जटिल समस्या भएका महिलाहरुलाई आकस्मिक अवस्थामा राष्ट्रपति महिला उद्दार कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत पनि उद्धार गर्ने गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *