धर्नामा बसेका वादी समुदायमाथि प्रहरीद्धारा लाठी प्रहार

समताखबर
  १६ फाल्गुन २०७७, आईतवार २०:२०

सुर्खेत । व्यवस्थित बसोबासको माग राखेर धर्नमा बसेका वादी समुदायमाथि प्रहरीले लाठी प्रहार गरेको छ । प्रहरीले आइतबार दिउँसो उनीहरूमाथि लाठी प्रहार गरेको वादी समुदायका अगुवा हरि वादीले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअघि धर्नामा बसेका बादी समुदायले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै नाराबाजी गरेपछि प्रहरीले लाठी चार्ज गरेको हो ।

नाराबाजी गर्दै बादी समुदायका अगुवा मुख्यमन्त्री कार्यालयको मुख्य गेटभित्र छिर्न खोजेपछि केही समय अवस्था तनावग्रस्त बनेको थियो । आन्दोलन उग्र बन्न थालेपछि धकेलाधकेल भएको तर लाठी चार्ज नगरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यता गास र बासको माग गर्दै आन्दोलनमा रहेका बादी समुदायले नारा जुलुस गर्दा प्रहरी बल प्रयोग गर्दै लाठी चार्ज गरेको बादी संघर्ष समितिका संयोजक हिक्मत बादीले बताए । ‘आन्दोलन शान्तिपूर्ण नै थियो । तर, प्रहरीले एक्कासि दमन गर्‍यो,’ उनले भने, ‘केही घाइते भएका छन् । यो आन्दोलन थप चर्काउँदै लैजाने छौँ ।’

आन्दोलनमा दमन बढ्दै गए नाङ्गो जुलुस लिएर प्रदर्शनमा उत्रिने भूमि बादीले चेतावनी दिइन् । ‘अधिकार माग्दा प्रहरीको दमन भए अब हामीले नाङ्गो प्रदर्शन गर्ने तयारी छ,’ उनले भनिन्, ‘हामीले अरु त केही मागेका छैनौँ । नागरिकका हिसाबले बाच्नका लागि जमिन मागेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *