राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पहाडी

समताखबर
  २ चैत्र २०७७, सोमबार ०७:३३

बुटवल । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले बिनोद पहाडिको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

तीन दशक देखि पत्रकारितामा संलग्न पहाडी संविधान सभा सदस्यसमेत हुन् । संघको वरिष्ठ उपाध्यक्षमा गोपाल बराइली, उपाध्यक्ष (खुल्ला) समताखबर डटकमका प्रधान सम्पादक मिलन परियार,उपाध्यक्ष (महिला) कमलाकुमारी विक तथा प्रदेश उपाध्यक्षहरुमा पर्वत पोर्तेल (प्रदेश १),भोला पासवान (प्रदेश २), बुद्धि विश्वकर्मा (बागमती), दीपक परियार (गण्डकी), विनोद परियार (लुम्बिनी),टेकेन्द्र विश्वकर्मा (कर्णाली) र करन ताम्राकार (सुदूरपश्चिम) चयन भएका छन् ।

त्यसैगरी महासचिवमा लक्ष्मण दर्नाल,सचिवहरुमा सन्तोष गन्धर्व,बिरु नेपाली, शिकेन्द्र पासवान र रिता बुढाथोकी तथा कोषाध्यक्षमा भिम घिमिरे चयन भएका छन ।                                                                              

महाधिवेशनमा संघले टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट कर्णाली प्रदेशका कलेन्द्र सेजुवाल र प्रदेश २ का बृजलाल पासवान, देवब्रत परियार स्मृति पुरस्कार रुपन्देहीकी मिना ढकाल, राममाया च्यामे लोक पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी,परशु सवरी पत्रकारिता पुरस्कार रोल्पाका मानसिंह विश्वकर्मा र राम सोवि सामाजिक पत्रकारिता पुरस्कार गुल्मीका प्रेम सुनारलाई प्रदान गरेको छ ।

यस्तै लोकदोहोरी गायक राजु परियार र गायिका पूर्णकला बि.सी.,सुनितामी परियार,सविता परियार र बरिष्ठ डेउडा गायिका डिग्रादेबी बादीलाई पनि संघले सम्मान गरेको छ । देशभरबाट करिव ४ सय भन्दा बढि पत्रकारहरुको सहभागिता रहेको महाधिवेशनमा ‘आमसञ्चार र समावेशिताको सवाल’, ‘मिडियामा महिला र दलित महिला’ र ‘दलित आन्दोलन युवा र आम सञ्चार’ विषयमा छुटाछुट्टै कार्यशाला गोष्ठी समेत भएको थियो ।

संघको हालसम्म ६५ जिल्ला शाखा, ७ प्रदेश र काठमाडौँ उपत्यका समितिहरु क्रियाशील रहेका र देशभर झण्डै १५ सय भन्दा बढि दलित समुदायका पत्रकारहरु आवद्ध भइसकेका संघका अध्यक्ष पहाडीले बताए । संघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय, समावेशी विकासका साथै सूचनाको हक कार्यान्वयनको सवालमा भूमिका खेल्ने उहाँको भनाइ छ।

महाधिवेशन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले उद्घघाटन गरेका हुन्। १३ बुँदे घोषणापत्र जारी गर्दै महाधिवेशन आइतबार सम्पन्न गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *