हामीलाई खोइ खाना,छाना र नाना ?

अस्मिता बादी
  ६ चैत्र २०७७, शुक्रबार १९:१३

सुर्खेतमा बादी समुदायले गत फागुन १० गते आन्दोलन गर्‍यो, माग एकदमै साधारण थियो— ‘खाना, छाना र नाना’ । यता काठमाडौंमा पनि नागरिक समाजको आन्दोलन चलिरहेको थियो ।

कर्णालीमा बादी आन्दोलन चर्किंरहँदा राज्यले कुनै चासो देखाएन, त्यसैले आफ्नो समुदायको आन्दोलनको प्रतिनिधित्व गर्दै म बादी समुदाय पनि यो देशमा छ भन्नका लागि सुर्खेतबाट काठमाडौं आएँ । यहाँ चलिरहेको आन्दोलनमा मिसिएर मेरो समुदायको आवाजलाई कविताका रूपमा यहाँका लेखक, साहित्यकारहरूमाझ सुनाएँ । उहाँहरूले ‘तिम्रो कविता मन पर्‍यो अनि तिम्रो माग हाम्रो पनि हो’ भन्नुभयो । मलाई थप हौसला मिल्यो ।

बादीका बारेमा काठमाडौंले थाहा पाएको २०६४ सालमा हो । त्यस बेला उमादेवी बादीको नेतृत्वमा अठचालीस दिन आन्दोलन चलेको थियो । त्यतिखेरका मुख्य मागहरू शिक्षा, स्वास्थ्य, रोजगारी, आमाको नामबाट नागरिकतालगायत थिए । सुरुमा आन्दोलन शान्तिपूर्ण थियो, पछि कसैले चासो नदिएकाले अर्धनग्न भएर प्रस्तुत हुनुपर्‍यो । राज्य त्यस बेला हाम्रा कुरामा सहमत भयो । त्यति बेला सरकारले बादी विकास बोर्ड पनि गठन गरेको थियो तर त्यो अझै ‘कोमा’ मै छ । सरकारले हाम्रो कुरा सुन्ला भन्दाभन्दै निकै वर्ष बिते । सहमति लागू हुनुपर्छ भनेर हामीले सरकारलाई निकै घचघच्यायौं । प्रतिवेदन, रिपोर्ट, चिठी त कति लेख्यौं कति १ तैपनि सरकार मौन बसिरह्यो । बादी समुदायको कुनै पनि माग कार्यान्वयन नहुनुको कारण के हो रु हामीले यो प्रश्न कसलाई गर्ने ?

२०६२ साल वा त्योभन्दा अगाडि आन्दोलन गर्ने हाम्रा आमा, दिदीबहिनीहरू बोल्नु त हुन्थ्यो तर लेखपढमा पछाडि नै हुनुहुन्थ्यो । हाम्रो आन्दोलन र समुदायबारे अरूले नै लेख्थे । त्यसरी अरूले लेख्दा हाम्रा कुरा हामीले सोचेजसरी आउँदैन थिए । हाम्रो समुदायले आफ्ना कुरा आफैं लेख्नुपर्छ । हामी आफैंले आफ्ना बारेमा लेख्नु र पढ्नु पनि आन्दोलन नै हो भन्ने ठान्छु, म ।

पहिला हामी घुमन्ते, फिरन्ते भएर हिँड्थ्यौंस जहाँ पुग्यो त्यहीँ मागेर खान्थ्यौं । अब मागेर खाने जमाना सकियो । कोरोना महामारीका बेला हामी कैयौं रात भोकै सुत्यौं । रोजगारी थिएनरछैन, खेतीको उब्जनीले पेट भरिदिन्छ भनूँ भने खेत पनि छैन । हामीसँग जग्गा भएको भए लकडाउनका बेला केही न केही उब्जनी गरेर पेट भर्थ्यौं होला । जग्गाको महत्त्व हामीले त्यतिखेर बुझ्यौं । त्यसैले खेतीयोग्य जग्गाजमिन हामीले पनि पाउनुपर्छ भन्यौं । जाजरकोट, रोल्पा, रुकुम, दैलेखतिरका बादीहरूले अझै भात खान दसैं आउनुपर्छ । माग्न निस्कौं भने जताततै सहरैसहर भइसक्यो । सहर गाउँजस्तो हुन्न, सहरका मान्छेले त पानी माग्दा पनि दिँदैनन् ।

लकडाउनले हामीलाई आफूसँग केही पनि रहेनछ भन्ने महसुस गरायो । यस्तोमा अब आन्दोलन नगरी नहुने भयो भनेर हामी सुर्खेतमा कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालयअगाडि धर्ना बस्यौं । पसिना बगाएर खान्छौं, रोजगारी देऊ भन्यौं । छोराछोरीलाई पढाउन चाहन्छौं, शिक्षाको व्यवस्था गरिदेओ भन्यौं । शिक्षा नहुँदा हामी जहिल्यै थिचोमिचोमा परेका छौं । हामी पनि पढेर योग्यताअनुसारको जागिर खान चाहन्छौं । पढ्न चाहने बालबालिका बादी समुदायमा पनि धेरै छन् । हामी दलितभित्रका पनि हामी दलित हौं । सरकारले छुट्याएको दलित कोटामा हामीभन्दा जान्ने–बुझ्ने जान्छन् । हामी पछाडिको पछाडि नै छौं । त्यसैले ‘बादी कोटा’ पनि हुनुपर्छ भन्ने हाम्रो माग हो ।

कोरोना महामारीले एकआपसमा भौतिक दूरी कायम गर्नुपर्छ भनेर सिकायो । यो महामारी फैलिरहँदा मान्छेले मान्छेलाई छुनु हुन्न भन्ने भयो । एकअर्कालाई नछुँदा धेरैलाई उकुसमुकुस भयो होला तर हामीलाई त्यस्तो भएन । किनभने हामीले वर्षौंदेखि त्यही कुरा भोग्दै आएका छौं । हामी मान्छे भएर मान्छेलाई छुन नहुने अवस्थामा छौं । मान्छे भएर मान्छेको घरभित्र जान नसकिने, मन्दिरमा जान नसकिने, पानीपँधेरोमा जान नसकिने १ हामीले छोएको खान नहुने चलन छ । अछुत भनेर यस्ता धेरै हेपाइ, चेपाइहरू हामीले सहँदै आयौं । म पनि मान्छे हुँ । मन्दिरमा, पाटीपौवामा हामीलाई कसैले रोक्दाखेरि मन खिन्न हुन्छ ।

पछिल्लो समय बादी भन्नेबित्तिकै हाम्रा आमा, दिदीबहिनीहरूले यौन पेसा मात्र गर्छन् भन्ने ठानिन्छ । आममानिस र सरकारको यस्तो दृष्टिकोणले हामीलाई सधैं घोच्छ । उनीहरू यस्तो ठान्छन्, मानौं हामी अर्कै ग्रहबाट यहाँ झरेका हौं । तर, हामी यही भूमिमा बसेको निकै भयो । वर्षौंदेखि राज्यले बिर्सेको एक सीमान्तकृत समुदायलाई लोकतान्त्रिक व्यवस्थामा पनि अगाडि ल्याउन केले रोक्यो  ? हामी यो देशमा आत्मसम्मानसहित बाँच्न चाहन्छौं । हामी पनि यो देशका नागरिक हौंस हामीले पनि अरूले जस्तै हक, अधिकार र इज्जत पाउनुपर्छ । बादी समुदाय यो राज्यभित्र किन नअटाएको  ? कि राज्यले नै हामीलाई अटाउन नचाहेको हो  ? हामीलाई राज्यले बहिष्कार नै गरिरहेको महसुस हुन्छ, अचेल । हामीलाई नागरिक नै ठानिँदैन ।

वाद्य सामग्री बनाउने र बजाउने भएका कारण हामीलाई बादी भनियो । पहिलेपहिले बादीहरू राजा–महाराजाहरूका दरबारमा हुने विवाह, पास्नीजस्ता शुभकार्यमा मनोरञ्जन दिने गर्थे । बादीको मुख्य पेसा काठ र छालाका वाद्य सामग्री बनाउने हो । समयसँग परम्परागत पेसाबाट विस्थापित भएपछि बादीहरू जीवन धान्नका लागि माछा मार्न, गिट्टी–बालुवा कुट्न, घुमन्ते भएर माग्न बाध्य भए । तर बढ्दो सहरीकरण र विकास–निमार्णका कारण यस्ता कामहरूबाट पनि बादी समुदाय विस्थापित हुँदै छ ।

खोलानालामा माछा लाग्न छाडे, बालुवा–गिट्टीमा ठेक्कापट्टा लाग्न थाल्यो र अब मागेर खान पनि पुग्दैन । बादीहरू सबैतिरबाट मारमा परेका छन् । आफ्नो स्थायी बसोबास, जग्गाजमिन र काम नहुँदा बाँच्नकै लागि ‘मर्नुभन्दा बहुलाउनु बेस’ भन्दै कैयौं दिदीबहिनीले बाध्य भएर देहव्यापार अपनाएको भेटिन्छ । हामी बादीहरूले गाँस, बास र कपासकै लागि संघर्ष गरिरहेका हौं । वर्षौंसम्म खाना र छानाकै लागि मात्र बारबार सडकमा उत्रनुपरेपछि हाम्रो आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक विकास कहिले हुने रु यस विषयमा राज्य र सरोकारवालाहरूको ध्यान कहिले पुग्ने रु

सोह्र दिनको लगातारको आन्दोलनपछि कर्णाली सरकार र बादी समुदायको वार्ता टोलीबीच पाँचबुँदे सहमति भएसँगै सडकबाट बल्लतल्ल उठेर हामी घर पुगेका छौं । सहमति त भयो तर यसको कार्यान्वयन हुन्छ भन्नेमा हामी ढुक्क छैनौं । सरकारले माग पूरा गर्छु भन्नु सकारात्मक हो तर यो आन्दोलन रोकिएको छैन । आन्दोलन निरन्तर चलिरहनेछ ।

चैत्र ६, २०७७ मा कान्तिपुरमा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *