उम्मेदवार सुनिश्चित गर्न दलित पत्रकार संघले गरायाे ध्यानाकर्षण

अमिर रामदाम
  १३ चैत्र २०७७, शुक्रबार १७:४७

चितवन : नेपाल पत्रकार महासंघको निर्वाचनमा दलित पत्रकारहरूको उल्लेख्य सहभागिताको सुनिश्चितता गर्न राष्ट्रिय दलित पत्रकार संघ,नेपाल चितवन शाखाले नेपाल पत्रकार महासंघ चितवन, प्रेस युनियन चितवन, प्रेस चौतारी चितवन, प्रेस सेन्टर चितवनलाई आज शुक्रबार ध्यानाकर्षण गरेको छ ।

संघका अध्यक्ष अमिर रामदामले दलित समुदायका पत्रकारहरू पनि दक्ष एवम् क्षमतावान रहेको बताउँदै महासंघको निर्वाचनमा दलित सहभागिता धेरै धेरैभन्दा हुनुपर्ने माग सहित संघको तर्फबाट ध्यानाकर्षण गरेका हुन्। संघले ३ बुँदे माग सहित ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो ।

संघको ध्यानाकर्षण पत्र बुझ्दैँ नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले अबको महासंघको समितिमा दलित समुदायको उल्लेख्य सहभागिताको सवालमा विशेष पहल गर्ने प्रतिबद्धता गरेका छन्। त्यस्तै प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डित र प्रेस सेन्टर चितवनका उपाध्यक्ष प्रविण बरालले कुनै पनि राजनैतिक पूर्वाग्रही नराखी दलित पत्रकारको मागहरु सम्बोधन गर्न आफूहरु तयार रहेको बताएका छन्।

संघले नेपाल पत्रकार महासंघ चितवन, प्रेस युनियन चितवन, प्रेस चौतारी चितवन, प्रेस सेन्टर चितवनलाई हस्तान्तरण गरेको ध्यानाकर्षण पत्र यस प्रकार रहेको छ।

ध्यानाकर्षण पत्र

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति चितवन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय, समावेशी विकासका साथै सूचनाको हक कार्यान्वयनको सवालमा क्रियाशील छ ।

समावेशी मिडियालगायत मिडियाको विकास र विस्तारका सवालमा संघले बहस पैरवी गर्दै आएको छ । पत्रकारको पेशागत हकहित र सुरक्षाका साथै दलित समुदायका पत्रकारहरुको क्षमता अभिवृद्धि र समावेशीकरणका अभियानहरु संघले सञ्चालन गर्दै आएको छ । संघले जातीय भेदभाव तथा छुवाछूतसँगै सबै प्रकारका विभेदहरुको अन्त्यका लागि सामुहिक पहल र पैरवी गर्दै आएको छ ।

मिति २०७७ चैत २५ गते सम्पन्न हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचनको माहोलले यतिबेला मुलुकभर चुनावी सरगर्मी बढेको छ । यसपटक संघिय, प्रदेश र जिल्ला तहको मतदान प्रत्यक्ष प्रणालीबाट आयोजना हुने यहाँहरूलाई अवगत नै छ । महासंघको निर्वाचनमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालको गरिमा राख्नु यस जिल्ला संघको पनि दायित्व रहेकोले तपसिलको मागहरु सहित यहाँ समक्ष ध्यानाकर्षण गर्दछौं।

१) नेपाल पत्रकार महासंघको जिल्लामा आरक्षित दलित कोटाको सदस्य चयन गर्न कुनै पनि राजनीतिक भागवण्डा नगरी उक्त सदस्य छनौटका लागि यस संघलाई अधिकार प्रदान गरियोस्।

२) दलित कोटामा मात्र नभई खुल्लामा पनि दलित समुदायका पत्रकारहरूको उपस्थितिलाई सुनिश्चितता गरियोस्।

३) महासंघ चितवनको गरिमालाई अझ उच्च राख्न आगामी नेतृत्व सहमति, सहकार्यमार्फत नै चयन गर्न पहलकदमी गरियोस्।

अमिर रामदाम
अध्यक्ष
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल
जिल्ला कार्यसमिति चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *