हलियाका पीडा : मुक्त भए तर उन्मुक्त भएनन्

समताखबर
  २२ चैत्र २०७७, आईतवार १७:४३

बाजुरा : मुक्त हलियाका सवालबारे सरकारले बेवास्ता गरेको हलिया समुदायले बताएका छन् । मुक्त हलिया समुदायले खाद्य संकटका साथै विभिन्न समस्य भोगिरहेका भए पनि सरकार बेखबर बनेको जिल्ला हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालवीर सार्कीको गुनासो छ ।
 
जिल्ला हलिया मुक्ति समाज र बूढीनन्दा नगरपालिकाको वडा नम्बर १ पिपलडालिका हलिया समुदायबीचको छलफलमा सरकार समुदायका मुद्दामा बेखबर रहेको हलियाका अगुवाले बताए ।

सरकारले २१ भदौ २०६५ मा मुक्त हलिया घोषणा गरेको थियो । नेपाल सरकारको तर्फबाट तत्कालीन शान्ति तथा पुनर्निर्माणमन्त्री जनार्दन शर्मा र राष्ट्रिय हलिया मुक्त समाजबीच ५ बुँदे सम्झौता भई मुक्त हलिया घोषणा गरिएको थियो ।
 
सरकारले मुक्त हलिया घोषणा गरे पनि भने हलिया प्रथा उन्मूलन हुन सकेको छैन् । बाजुरामा १७ सयभन्दा बढी हलिया रहेको जिल्ला हलिया समाज बाजुराको तथ्यांकमा उल्लेख छ ।

सरकारले १६ सय ३४ जनाको तथ्यांक संकलन गरे पनि १३ सय ११ जना मात्र प्रमाणीकरणमा रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । सरकारले हलियासगँको सम्झौताअनुसार हलिया मुक्त घोषणा गरेको थियो । थोरै परिवारको पुनर्थापनाका लागि सहयोग पनि गरेको थियो ।

बाँकी सहमतिअनुसार साहूबाट लिएको ऋण मिनाहा, मुक्तिपछि आइपर्ने सुरक्षा व्यवस्थालगायत विषय भने अझै कार्यान्वयन नहुँदा आफूहरू समस्यामा परेको हलिया अगुवा मनवीर सार्कीले बताए । 

चाँडै आन्दोलनका कार्यक्रम घोषणा गरेर अगाडि बढ्ने उनले जानकारी दिए । जिल्ला हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालवीर सार्कीले समुदायसँग सहकार्य गरेरै अघि बढ्ने योजना रहेको सुनाए ।

बूढीनन्दा नगरपालिकाको वडा नम्बर १ पिपलडालीका मनविरे लुहार वर्षभरि साहूको हलो जोत्ने काम गर्छन् । सोही काम गरेबापत १ बोरा धान र १ बोरा गहूँ मात्र पाउने गरेको उनी बताउँछन् । ‘त्यसले खान पुग्दैन । बाँकी समय स्थानीय कोल्टी बजारमा ज्याला, मजदुरी गरेर परिवार पाल्दै आएको छु’, उनले भने ।

पिपलडालीका दलित समुदायका ४८ परिवारको बसोबास रहेको गाउँका सबै स्थानीय गैरदलितको हलिया बसेका छन् । सरकारले हलिया मुक्त घोषणा गरे पनि पुनर्स्थापना नगर्दा हलिया बस्न बाध्य भएको दलित अगुवा प्रेम विकले बताए । उनले भने, ‘खान लाउन पुग्दैन अनि बाध्य भएर साहूको हलिया बस्ने गरेका छौँ ।’
 
यीजस्तै जिल्लाका १७ सय बढी हलियाको अवस्था दयनीय छ । उनीहरू अहिले साहूलाई सामान्य गुनासो पनि गर्दैनन् । गुनासो गरे साहूले आफूबाट लिएको ऋण पनि माग्ने र हलियासमेत छुटाइदिए के गर्ने भन्ने पीरले आफूहरू जस्तोसुकै कष्ट सहन बाध्य भएको जयलाल विक सुनाउँछन् ।

आर्थिक अभावले वर्षौंदेखि हलिया महिलाले रोग पाल्दै आएका छन् । कडा परिश्रम, धेरै बच्चा जन्माउने, सुत्केरी भएका बेला आराम कम हुने भएकाले तिनको स्वास्थ्य कमजोर हुनुका साथै विभिन्न रोगको संक्रमणमा पर्दै आएका छन् ।

श्रीमती बिरामी भएको लामो समय भइसक्दा पनि उपचार गर्न नसकेको विक सुनाउँछन् । ‘दैनिक काम गरेर मात्र बिहान-बेलुकाको छाक्क टार्ने गरेका छौँ । उपचार गर्ने रकम कहाँबाट ल्याउने ?’, विकले भने ।

गाउँका स्वास्थ्य चौकीमा सामान्य रोगको उपचार मात्र हुन्छ । गम्भीर खाले रोग भए यहाँका महिलाले धनगढी, नेपालगञ्ज र भारत जानुपर्ने बाध्यता छ । त्यहाँ जान आर्थिक अवस्था कमजोर भएकाले वर्षौंदेखि रोग पाल्दै आएको हलिया अगुवा सुनाउँछन् ।

जीवन कैलाले लेखेको समाचार पालिकाखबरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *