रानाथारु समुदाय खख्डेहरा पर्व मनाउँदैं

समताखबर
  २३ चैत्र २०७७, सोमबार १०:३८

धनगढी : खख्डेहरा पर्व रानाथारु समुदायले मात्रै मनाउने मौलिक चाड हो । कैलाली र कंचनपुरका रानाथारु समुदाय आजका दिन धूमधामसँग खख्डेहरा पर्व मनाउने गर्दछन ।सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले सोमवार सार्वजनिक बिदा दिएको हो ।

प्रदेश राजपत्रमा उल्लेखित बिदा सूची अनुसार प्रदेश सरकारले रानाथारु समुदायको खख्डेहरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताए ।

उनका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद २०७७ जेठ २३ को निर्णय अनुसार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । रानाथारू समुदायले होरी पर्वको अन्तिम दिनको रूपमा मनाइने खख्डेहरा पर्व आज मनाइँदै छ ।

खख्डेहरा पर्व किन मनाउँछन
धनगढी उपमहानगर पालिका-११ बेला गाउँका पहिलाद रानाका अनुसार खख्डेहरा पर्व किन मनाउँछन ? रानाथारु समुदाय भिन्नै तरिकाले मनाउँछ होरी (होली) पर्व । होरी यस समुदायको लागि सबै भन्दा ठूलो पर्व हो ।

रानाथारु समुदायले ३८ दिन होरी मनाउने गर्छन् । माघको पूर्णिमाका दिन होरी राखिन्छ र त्यसै दिन देखि होरी सुरु हुन्छ । माघको पूर्णिमा देखि फागु पूर्णिमा सम्म गरी एक महिना जिन्दा (जिउँदा) होरी जुन रातमा मात्र खेलिन्छ । फागुनको पुर्णिमा होरीमा आगो लगाउने गरिन्छ । होरीमा आगो लगाएको अर्को दिनलाई टिका भनिन्छ ।

टिकाको दिन गाउँ भरिका मानिसले होरी जलेर भएको खरानीको टिका लगाउँछन् । यसरी टिका लगाउँदा स्वस्थ हुने । रोग नलाग्ने तथा दीर्घ जीवन बाच्ने जन विश्वास छ । टिकाको दिन देखि ८ दिन सम्म मरी होरी (मरेको होरी) खेल्छन् । मरी होरी रातमा र दिनमा पनि खेल्न पाईन्छ ।

खख्डेहरा पर्वको बिशेषता
टिकाको आठौँ दिन नै खख्डेहरा हो । खख्डेहरा भनेको होरीको बिदाईको दिनका रुपमा पनि लिइन्छ । खख्डेहराका दिन बिहानै उठेर गाउँ भरीका (हरेक घरबाट एक एक जना) मान्छे खख्डेहरा फुटाउन जाने गर्दछन ।

खख्डेहरा फुटाउन जाँदा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङग्रा, सतनजा (सातअन्न), शुद्ध पानी, कन्डी (सुकेको गोबर) आदी चाहिन्छ । घर घरबाट एका बिहानै खप्टोमा (माटोको भाँडोमा) सुइरो गाँसिएका मट्याँग्रा बोक्दै आबओ रिउ लुली लंगडी, कानी खुत्री, रोगधोग, भूत ब्यार भन्दै घर घरबाट खख्डेहरा लगेर जाने चलन छ ।

खख्डेहरा गाउँभन्दा बाहिर गाउँलेले ल्याएको सामग्री एक जुट पारी गाउँको प्रधान वा चाकर (गाउँको चौकीदार) ले फुटाउने चलन छ । खख्डेहरा फुटाइ सके पछि घर आइन्छ र आउने बेलामा खख्डेहरालाई फर्केर नहेर्ने चलन छ । फर्केर हेर्दा दानव (राक्षस) देखिन्छ भनेर रानाथारु पूर्खाको भनाई छ ।

खख्डेहरा फुटाएर आउनेहरु फेरि होलीमा जलाइएको धुलो (खरानी) लिएर गाउँका भलमन्सा, पधना, अगुवा लगायत सबैको घर घरमा पुगी सबैलाइ सो खरानीको टिका लगाई आशिर्बाद दिँदै खुसियाली मनाउने गर्छन र गाउँका प्रतिष्ठित व्यक्तिबाट दक्षिणा पनि उठाउने गर्छन साथै सो दिन गाउँभरिका मान्छेले आफ्नो खेतिपाती, गोरु गाडा समेत बन्द गर्नुपर्ने चलन छ, कसैले अटेर गरि गोरु गाडा चलाएमा डण्ड (जरिवाना) गर्ने चलन रहिआएको छ ।

खख्डेहरा पर्वको महत्व
सदियौँ देखि तराईका जंगलको छेउछाउका गाउँमा बस्दै आइरहेका रानाथारु भूत,पिचास, दरिद्र, महामारी जस्ता निकै ठुला बिपत्तिसँग जुद्धै आइरहँदा होरी नाचमा सबै महिनौँ रमाउँदा काममा बाधा पर्नुका साथै थुप्रै समाजिक समस्या, रोग,दरिद्र, भूत,पिचास, स्वास्थ्य लगायत सबै क्षेत्रमा स
मस्या निस्तेज गर्न सामुहिक रुपमा खख्डेहरा फुटाउने चलन छ । खख्डेहरा सबै समस्या (भूतप्रेत) को प्रतिक पनि हो जो गाऊँ भन्दा बाहिर/जंगल गएर आजकै दिन फुटाउने/कुट्ने गरिन्छ ।

तराई क्षेत्रमा गर्मी बढे सँगै महामारी, मलेरिया, प्रकोप बढ्ने समय सुरु भएकाले ति प्रकोपहरु नआउन भनेर सामुहिक रुपमा रानाथारुहरुले खख्डेहराको नाममा ति सबै समस्यालाई कूटेर फुटाएपछि मनोबल बढ्ने मान्यता अनुसार खख्डेहरा पर्व मनाउन थालिएको रानाथारु समुदायका अगुवाहरु बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *