निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व बढाउन माग

समताखबर
  ६ भाद्र २०७९, सोमबार ०७:२९

धनगढी : आसन्न प्रदेश र संघको निर्वाचनमा दलहरुले समानुपातिक समाबेशिता बाहेक पनि क्षमताको आधारमा दलित समुदायलाई प्रत्येक्ष तर्फ उम्मेदवार बनाउनु पर्ने आवाज उठेको छ ।

आइतबार धनगढीस्थित होटल पुष्पाञ्जलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले आसन्न निर्वाचनमा दलितको प्रतिनिधित्व बढाउन माग गरेका हुन् ।

राष्ट्रिय दलित नेटवर्कले २२ औं स्थापना दिवसको अवसरमा आगामी निर्वाचन र दलित सहभागिता सम्बन्धमा राजनीतिक दलका दलित जनवर्गिय संगठन, संभावित उम्मेदार र दलित अधिकारकर्मीबिच अन्तरक्रिया बिषयक कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का नेता वसन्त बागचनले नेपालमा व्यवस्था परिवर्तत भएपनि दलित समुदायको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि गुणात्मक परिवर्तन नभएको बताए ।

नेपालमा जनगणतन्त्र नभई बुर्जवा गणतन्त्र भएकोले बास्तविक परिवर्तनका लागि अझै आन्दोलनको खाँचो रहेको जिकीर गरे । साथै उहाँले राष्ट्रिय दलित नेटवर्क नेपालका संस्थापक संरक्षक स्व.रबिन्द्रसिंह गहतराजले आफुलाई डोटीको सिलगढीस्थित हरिजन स्कुलमा पढाई यहाँसम्म पुरयाउनु भएकोले उहाँप्रति श्रृद्धासुमन ब्यक्त गरे । पार्टी जुनसुकै भएपनि दलित समुदायको प्रतिनिधित्व हुन आवश्यक भएको बताए । उनले आफ्नो वर्ग समुदायको उत्थानका लागि दलितहरु विभाजित नभएर एकजुट हुन आवश्यक रहेको बताए ।

कार्यक्रमका बिशिष्ट अतिथी एवं नेपाल दलित संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष छत्र बहादुर टेलरले २०५३ सालदेखी एक्सन टीमको अवधारणाबाट निर्माण भएको राष्ट्रिय दलित नेटवर्कले बिगत २२ बर्षदेखि नेपालका आम दलित समुदायको राजनीतिक, सामाजिक र आर्थिक अधिकारका क्षेत्रमा चमत्कारी काम गरेको आफुलाई महसुशिकरण भएको बताए ।

राजनीतिक दलमा पनि जातीय विभेद कायमै रहेकाले निर्वाचनमा दलित सहभागिता हुन नसकेको बताउँदै उनले निर्वाचनमा दलित सहभागिता बढाउनका लागि सम्पूर्ण दलित अधिकारकर्मीहरु एकजुट भएर दवाव सृजना गर्नुपर्ने बताए । उनले वर्षौसम्म दलितहरुले अरुलाई नेता बनाउन लागेको बताउँदै अब दलितले पनि आफ्नो वर्ग समुदायबाट नेता बनाएर अधिकार सुनिश्चितताका लागि लड्नुपर्ने बताए ।

नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय कार्यालय सदस्य गोबिन्द विकले नेपालमा संघीयता र समावेशीको अभ्यास भइरहेको सन्दर्भमा अझैपनि दलित आन्दोलनले उठान गरेका सवालहरु संस्थागत हुने काम अझै पनि बाँकी रहेकोले त्यसलाई प्रणालीगत तरिकाले सम्बोधन गर्नका लागि राजनीतिक दलहका दलित जनवर्गिय संगठनहरुले समान बुझाई कायम गर्दै एकिकृत ढंगले आन्दोलन गर्नुपर्ने जिकीर गरे ।

नेकपा एकिकृत समाजबादी निकट नेपाल दलित मुक्ति संगठन सुदूरपश्चिम प्रदेश सचिव चक्र विकले आरडिएनले दलित अग्रजलाई सम्मान गर्ने अभ्यासको थालनी गरेकोले आफूहरुमा आत्मविश्वासको भावना जागृत हुदै जिम्मेवारी बोध भएको औल्याए । साथै उनले आगामी प्रदेश र संघीय तहको निर्वाचनमा दलितहरुको समानुपातिक प्रतिनिधित्वका लागि आफ्नो पार्टीभित्र व्यापक ढंगले आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे ।

संघीय दलित मुक्ति प्रान्तीय मंचका केन्द्रीय अध्यक्ष शर्मिला बागचन्दले दलित समुदाय पनि राज्यका उत्पादनशिल शक्ति भएकोले सधैभरी तालि बजाउनका लागि राजनीतिमा संग्लन नभएको जिकीर गरिन ।

उनले नेपालमा विगत ३५०० बर्षदेखि दलितहरु राजनीतिक रुपले वहिष्करण, सामाजिक रुपले अपहेलित, आर्थिक रुपले गरिवीको रेखामुनी जीवन बिताउन बाध्य भएकाले त्यसको एकिकृत समाधानका लागि दलितहरु संयुक्त मोर्चा बनाई आन्दोलनमा होमिने दिन आएको बताइन । साथै उनले नेपालका ठूला राजनीतिक दलहरुले अझै पनि पूर्णरुपले आरक्षणलाई स्विकार गर्न नसक्नु तितो यथार्थ भएकोले मुक्तिको लागि दलितहरुलाई सशक्त संघर्ष गर्न आब्हान गरिन ।

जिल्ला समन्वय समिति कैलालीका निवर्तमान सदस्य मालती सार्की विकले दलित नेतृत्वले आम दलितहरुलाई समेटेर लग्न नसकेको, राजनीतिक दलका नेताहरु आमरुपले परिवारवादमा फसेको र निर्णायक तहमा दलित सवाल स्थान नपाएको गुनासो गरिन ।

गौरीगंगा नगरपालिका कैलालीका पूर्व कार्यपालिका सदस्य एव नेकपा (माओवादी केन्द्र) की नेता  अमृता विकले अहिलेसम्म पनि दलित समुदाय एकता हुन नसकेका कारणले अन्तत गैरदलित समुदायलाई फाइदा पुगेको दावी गरिन ।

दलित अभियान्ता सुमन देवलले आरडिएन नेपालले विगतदेखि हामी दलितहरुका लागि अभिभावकको काम गर्दै नेतृत्व उत्पादनका लागि सहजीकरण गर्दै आईरहेकोले आरडिएनप्रति आभार व्यक्त गरिन ।

बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य मनमायाँ गहतराजले आरडिएनले आफनो कामलाई अब ग्रामीण स्तरसम्म पुरयाउनका लागि आफना पहल कदमीहरु अगाडि बढाउनुपर्नेमा जोड दिइन । साथै उनले दलित सवाललाई सम्बोधन गर्नका लागि सबै राजनीतिक दलहरुमा आबद्ध दलित नेताहरुले एकताबद्ध हुनुपर्नेमा जोड दिइन ।

सो अन्तरक्रिया कार्यक्रममा समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियारले आधारपत्र प्रस्तुत गरेका थिए । उनले दलित समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्ति निर्णायक तहमा पुगेपनि दलित समुदायको आवाज बुलन्द गर्न नसकेको गुनासो गरे । उनले दलित समुदायका अगुवा एनजिओकर्मी हुन सकेको तर राजनीतिकर्मी बन्न नसकेको बताए ।

राष्ट्रिय दलित नेटवर्क नेपालका कार्यवाहक अध्यक्ष मोहन ओडको अध्यक्षतामा भएको कार्यक्रममा  नेटवर्कका कार्यकारी निर्देशक हुकुम सार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै आगामी निर्वाचनमा बढीभन्दा बढी दलित उम्मेदवार उठाउन आ–आफ्नो क्षेत्रबाट दबाब दिनुपर्ने बताए ।

उनले दलितहरुको अधिकारका लागि पढेलेखेका महिला तथा पुरुषहरुलाई निर्णायक तहमा पुर्याउन सम्पूर्ण दलित अधिकारकर्मी एकजुट हुन आवश्यक रहेको बताए ।

कार्यक्रमको संचालन आरडिएन केन्द्रीय सदस्य श्याम सुनारले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *