थारू समुदायले अटवारी पर्व मनाउँदै, सुदूरपश्चिममा सार्वजनिक बिदा

समताखबर
  १२ भाद्र २०७९, आईतवार ०९:२१

धनगढी : पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । थारू समुदायको सांस्कृतिक तथा सामाजिक पर्वको रुपमा रहेको यो पर्व उनीहरुका लागि तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा रहेको छ ।

थारु नागरिक सामाज कैलाली संयोजक तथा थारु अगुवा दीलबहादुर चौधरीलेका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि ‘अग्रासन’ (दिदी–बहिनीका लागि छुट्याइने परिकार) छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । ‘अटवारी पर्व तीजजस्तै हो, हाम्रो तीज फरक छ हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि पानीसमेत नखाई ब्रत बस्छन्’, उनले भने, ‘थारू समुदायमा यो पर्वको विशेष महत्व छ ।’

व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याई अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । आफ्ना दिदीबहिनीलाई फलफूल र रोटीमात्र खाने र दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको बेदकोट नगरपालिकाका सेटसिंह चौधरीले बताए । ‘यो पर्वमा विशेषगरी हामी दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि व्रत बस्छौँ’, उनले भने, ‘यो पर्व तीन दिनसम्म मनाउँछौँ ।’ उनका अनुसार आफ्ना दिदीबहिनीका घरमा पुगेपछि अटवारी पर्व समाप्त हुन्छ। यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धसमेत प्रगाढ हुने विश्वास थारू समुदायमा छ।

पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बर्दिया र दाङ जिल्लाका थारु समुदायले मनाउने यो पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *