बाजुरेली बालबालिकाका दुःख !

समताखबर
  २९ भाद्र २०७९, बुधबार १३:००

बाजुरा : बालबालिकाको क्षेत्रमा सरकारी तथा गैर सरकारी संस्थाहरुले बालसंरक्षण, बालबालिको अधिकारका विषयमा काम गर्दै आएको भएपनि बाजुराका अधिकांश बालबालिकाहरुको अवस्था भने निकै दयनीय छ ।

बालबालिकाहरुलाई गह्रौ भारी बोकाउँनु हुँदैन, होटेल व्यवसायमा काम लगाउँनु हुँदैन भन्ने विषयमा बालबालिका सम्बन्धि काम गर्ने संस्थाहरुले गाउँगाउँमा जनचेतनामुलक अभियान समेत गर्दै आएका छन् ।

बुढीगङ्गा नगरपालिका-१० सुनिल वि.क.ले,बाजुराका अधिकांश ठाउँमा भने सयौँ बालबालिकाहरु भोको पेट पाल्नका लागि बजारको होटल र गाउँको मेलापात गर्ने काममै व्यस्थ भएको बताए ।

उहाँले भन्नुभयो,सानै उमेरमा आमा बुवाको माया ममता नपाएका ती बालबालिकाहरु यती बेला भोको पेट पाल्नकै लागि जिल्लाका विभिन्न होटेलमा काम गर्न बाध्य भएका हुन् । सरकारी तथा गैरसरकारी संस्थाहरुले बालशोषण, कुपोषण, बालवालिकाको हनन, बालविवाह न्यूनिकरण लगायतका विषयमा जिल्लाका विभिन्न ठाउँमा काम गर्दै आएको भएपनि बाजुराका अभिभावक गुमाएका हजारौ बालवालिकाहरु भोको पेट पाल्नकै लागि सडकमा भौतारी रहेका छन् ।

कानुनी रुपमा १३ वर्ष मुनीको कुनै पनि बालबालिकालाई त्यसको कार्य क्षमताभन्दा बढी कसैले काम गराउँनु हुँदैन,यदि कसैबाट यो कार्य भयो अथवा गरायो भने नीजलाई आवश्यक कानुनी कारबाही गरिने कानुनमा उल्लेख गरिएको छ ।

तर यता अहिलेको अवस्थामा भने बाजुराका हजारौ बालवालिकाहरु शोषणको भन्दाबढी पालनपोषणको पीडाका कारण पनि आफ्नो क्षमता भन्दाबढी काम र बोज बोक्न बाध्य छन् ।आमा बुवा तथा अन्य अभिभावकहरु कोही नभएर भोको पेट पाल्नैका लागि उनीहरु पछिल्लो समयमा विभिन्न होटल तथा सडकमा काम गर्न बाध्य भएको अनाथ विकले भन्नुभयो । जिल्लाको बुढीगङ्गा नगरपाकिलाको महिला तथा बालबालिका शाखाले, बुढीगङ्गा नगरपालिकामा मात्रै ५१ जना आमा बुवा नभएका बालवालिकाहरु रहेको जनाएको छ ।

महिला शाखा प्रमुख ओम कुमारी बिकले,यहाँको प्रत्येक वडामा पुगेपछि वास्तविक आमा बुवा तथा अभिभावक समेत कोही नभएकाहरुलाई अहिले शोषण भन्दा पनि पालन पोषणको कमी बताउनुभयो । उहाँले भन्नुभयो,नगरपालिकाले ती बालवालिका तथा महिलाहरुका लागि भनेर प्रत्येक वर्ष झण्डै १३ लाख रुपियाँ विनियोजन गर्छ , तर यो रकम कता जान्छ त्यो कुरा बालवालिकाहरुलाई थाहा हुँदैन् बिकले भन्नुभयो ।

शाखा प्रमुख वि.क.का अनुसार, बालवालिकाहरुलाई भनेर एक जना प्रति दुइ हजारको दरले स्थानीय तहले रकम त दिने गरेको छ, तर यसले उनीहरुको वास्तविक पीडामा भने कुनै सहज नभएको बताए । बालवालिकाहरुको यो समस्या समाधान गर्नका लागि यहाँका १० वटै वडाका जनप्रतिनिधिहरु सँग कुरा गरेकी थिए, तर यो विषयमा उहाँहरुले केही चाँसो देखाएको प्रमुख विकले भन्नुभयो ।

शोषण भन्दा नी पालन पोषणकै पिडाले च्यापेका बुढीगङ्गा नगरपालिका पीडित प्रमोद विकले भन्नुभयो, घरमा कोही छैन, स्कुलमा पढ्ने त मन थियो, घरमा खान लगाउँनको समस्या भएपछि काम गर्न बाध्य छु । १० वर्षै कै यो बालकको कथा सुन्दा जो कोहीको मन छुन्छ, तर पनि कोहीले यो समस्या समाधानका उपाए भने ल्याएको हुँदैनन । बालवालिका रहरले नभइ पालापोषणको अभावकै कारण गाउँका विभिन्न होटेल सडक तथा कसैको घरमा काम गरेर पेट पाल्दै आउने गरेका छन् ।

वि.क.ले भन्नुभयो,पहिले यहाँका म जस्तै पीडामा परेका हुने गाउँका आफन्तसँग भारतमा गएर कोठीमा काम गरेर ज्यान पाल्ने गर्थे । भारतमा पनि साना बालवालिकाहरुलाई कोठीमा काम गर्न दिदैन भन्छन् त्यसैले मजदुरी गरेर भएपनि पेट पाल्दै आएको छु ।”वि.क.ले भन्नुभयो, “नत हामीलाई कोही व्यवस्था गरिदिन्छ, नत हामीलाई कसैको घरमा होटेलमा काम गर्न दिन्छन् । ”गाउँमा बाटो पुलपुलेसा खानेपानी जस्ता भौतिक पुर्वाधारका काम आउने गरेको छ त्यो ठाउँमा पनि बालवालिका कोहीलाई पनि काम गर्न दिएका छैनन् ।

हामीलाई न्याय दिनु भन्दा नी दैवले त ठगेकै थियो, तर विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले पनि भोकभोकै मार्न खोजेको विकले दुःखेसो पोख्दै भन्नुभयो । यो पीडा बुढीगङ्गा नगरपालिकाको बालबालिकाहरुको मात्रै होइन जिल्लाको जगनाथ,स्वामीकार्तिक, बुढीनन्दा लगायतका स्थानीय तहमा पनि उस्तै छ । यो समस्या त वि.क.को मात्र होइन ती एक हजार ६३५ हलिया घरपरिवारका झण्डै दुइ हजार भन्दाबढी बालबालिकाको पीडा पनि उस्तै छ ।

टुहुरा अपाङ्ग, असाहय बालबालिकाहरुको उद्धार गर्ने गरी जिल्लामा विभिन्न संस्थाहरुले पहिले देखि काम गर्दै आइरहेका छन् । तर पनि जिल्लाको दुरदराजका बालबालिकाहरुको पीडा भने ज्यूको त्यू नै रहेको छ । हिमाली गाउँपालिकाकी एकल महिला सरिता सार्कीले भनिन्, “मेरा दुइ छोरा दुइ छोरी छन् ती सबै साना छन् जेठी छोरी अपाङ्ग छ घरमा केही अन्न छैन एक जना साहुँकै घाँस काटेर बालबच्चा पाल्ने गरेकी छु, ।” सार्कीले भनिन्, स्थानीय सरकार जनप्रतिनिधि आउँछन जान्छन तर हाम्रा बालबालिकाहरुको पीडा पहिले देखि अहिले सम्म उस्तै छन् ।

सानै उमेरमा बिहे गरेको र पछि एकल हुनु पर्दा आर्थिक अभावका कारणमा नै छोरा छोरीको पालनपोषण गर्न उनीहरुलाई यो पीडा भोक्नु परेको सार्कीले बताए ।

तर पनि यो पीडालाई बुझ्ने गरी बाजुराका कुनै पनि स्थानीय तहले कार्यक्रम ल्याएका छैनन् । पीडामा परेको बालबालिकाहरुको वर्षेनी खोजी भएपनि उनीहरुका लागि आवश्यक कार्यक्रम नल्याएको स्थानीय पीडित महिलाहरु बताउँछन् । बालवालिकाहरुको यो पीडाका लागि अहिले प्रत्येक वडाबाट तथ्याङक सङ्कलन गर्दै आएको त्रिवेणी नगरपालिकाको महिला तथा बालवालिका शाखाले जनाएको छ ।

स्थानीय तहमा रहेका कुनै पनि नागरिकहरुको जिम्मेवारी भएकोले बालवालिका कुपोषणको सिकार नबनुन भन्ने उद्देश्यले यसका लागि त्रिवेणी नगरपालिका विभिन्न वडामा पोषण कार्यक्रम मात्र अहिले सुचारु गर्दै आएको नगर कर्णबहादुर थापाले बताए । उहाँले भन्नुभयो, “पछिल्लो समयमा विभिन्न रोगका कारण साना बालवालिकाहरुले आफ्ना अभिभावक गुमाउँदै आउनु पर्ने स्थितीको सृजना भएकोले त्यसका लागि आवासिय विद्यालयको स्थापना गर्ने तयारीमा छौ ।”

आमा बुवा गुमाएर अलपत्र परेको बालबालिकाहरुको स्याहार सुहारका लागि पहिलो जिम्मेवारी अहिले स्थानीय तहको रहेकोले स्थानीय तहले नै उनीहरुको व्यवस्थापन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

जिल्लाका नौ वटै स्थानीय तहमा रहेका बेसहरा बालबालिकाहरुको वास्तविक तथ्याङ्क स्थानीय तहबाट आएपछि त्यसका लागि पहल कदमी अगाडी बढाइने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।

सुदूरपाटीबाट शेरबहादुर सार्कीको समाचार    

Leave a Reply

Your email address will not be published. Required fields are marked *