यस्ता छन् मेडिटेसनका फाइदाहरु

समताखबर
  १ माघ २०७९, आईतवार १४:४९

काठमाडौं । मेडिटेसन वा ध्यान कल्याणकारी मानसिक अवस्था विकास गर्ने पद्धति हो। यसमा हामी बारम्बार मनलाई एक निश्चित स्थितिमा पुर्याउने अभ्यास गर्छौं ताकि त्यो अवस्था हाम्रो स्वभाव बनोस्। शारीरिक स्तरमा ध्यानको अभ्यासले नयाँ स्नायुपथहरूको विकास भएको पाइएको छ।

ध्यानका फाइदा :
– तनावबाट मुक्ति र थकानबाट राहत
– एकाग्र हुनसक्ने क्षमताको विकास र बेचैनीमा कमी
– चित्त शान्ति, निरन्तरको चिन्ताहरूबाट मुक्ति
– आफू र आफ्नो जीवन तथा अरुको बारेमा राम्रो सुझबुझ
– प्रेम र करुणा जस्ता सकारात्मक मनोभावमा वृद्धि

हामीमध्ये अधिकांश आफ्नो चित्त शान्त, निर्मल र अझ प्रसन्न होस् भन्ने चाहन्छौं। यदि हामी तनावमा छौं या हाम्रो मनोदशा नकारात्मक छ भने हामीलाई दुःख हुन्छ। हाम्रो स्वास्थ्यमा यसको प्रतिकूल असर पर्छ। यसले हाम्रो पेशा, पारिवारिक जीवन र मित्रताका सम्बन्धहरू नष्ट गर्न सक्छ।

जीवनका तनावहरू र सानोसानो कुरामा रिस उठ्ने स्वभावबाट आजित भएर हामी त्यसबाट मुक्त हुन ध्यान साधनाजस्ता उपायको खोजी गरिरहेका हुन्छौं। हुनपनि ध्यानले हामीलाई संवेगात्मक कमीकमजोरीबाट मुक्त हुन सहयोग गर्छ। यसको कुनै नकारात्मक असर पनि हुँदैन।

तर ध्यान अभ्यासका लागि हामीलाई एक व्यावहारिक दृष्टिकोण चाहिन्छ। यो सकारात्मक परिणामहरू ल्याउने साधन त हो, तर यसले तत्काल जादुको छडीजस्तो सबै समस्याको समाधान गरिहाल्दैन। कुनै एक कुराले परिणामहरू ल्याइहाल्दैन, त्यसका लागि विभिन्न कारणहरू र अवस्थाहरू मिलेको हुनुपर्छ। उदाहरणका लागि ध्यान अभ्यासले हाम्रो बढेको रक्तचापलाई ठीक राख्न सहयोग गर्छ, तर त्योसँगै हामीले आफ्नो खानपिनमा सुधार ल्यायौँ, शारीरिक व्यायाम गर्यौ र औषधि पनि सेवन गर्यौ भने मात्र राम्रोसँग प्रभावकारी हुन सक्छ।

बौद्ध पद्धतिमा ध्यानका प्रकारहरु :
ध्यान गर्ने तरीकाहरु धेरै हुन सक्छन्। तिनीहरु सबैले हामीलाई शान्त हुन सहयोग गर्छन्। तर त्यो ध्यानको अन्तिम लक्ष्य होइन, यद्यपि कल्याणकारी मनोभावहरूको विकासका लागि हामीले प्रथमतः आफ्ना तनावहरुको व्यवस्थापन गर्नु जरुरी हुन्छ। त्यसैले हामी आफ्नो चित्तलाई शान्त गराउनेखालको ध्यानबाट अभ्यासको शुरुवात गर्छौं। हामी प्रायः श्वासमाथि ध्यान केन्द्रित गर्ने अभ्यास गर्छौ। त्यसपछि विस्तारै ध्यानका अन्य बौद्ध पद्धतिहरूको अभ्यास गर्छौं। ध्यानका विधि मूलतः दुइखाले छन्, समीक्षा गरेर हेर्ने र मनलाई स्थिर गर्ने।

समीक्षात्मक ध्यान पद्धतिलाई प्रायः “विश्लेषणात्मक” ध्यान पनि भनिन्छ। यसमा हामी तर्क वा बुद्धि विवेकको प्रयोग गरेर प्रेमलगायतका सकारात्मक मनोदशा विकसित गर्न आफूलाई क्रमिक रुपमा तयार गर्दै लग्छौं। तर्क वा विवेकको उपयोग गर्दै कुनै पनि स्थितिको विश्लेषण गर्ने र उक्त स्थितिको क्षणभंगुरताको बोध गर्ने काम गर्छौं।अथवा हामी बुद्धको कुनै स्वरूप वा त्यस्तै सकारात्मक गुणयुक्त कुनै छविलाई मनमा ल्याएर त्यसको स्पष्ट समीक्षा गर्ने प्रयास गर्छौं।

मन स्थिर गर्ने ध्यान पद्धतिमा चाहिँ हामी होश, जागरुकता, र एकाग्रताको अभ्यास गर्दै आफ्नो मनमा ल्याएका सकारात्मक मनोभावहरूलाई सकेसम्म लामो समय कायम राख्ने प्रयत्न गर्छौं। अथवा मनमा जागृत गरेको छविप्रति अविचलित एकाग्रता कायम राख्ने प्रयत्न गर्छौं।

यी दुई प्रकारका ध्यान पद्धतिको अभ्यास हामी पालैपालो गर्छौं। प्रथमतः चाहेजस्तो सकारात्मक मनोदशा विकसित गर्छौं र त्यसमाथि समीक्षा गर्ने र त्यसलाई स्थिर गर्ने प्रयास गर्छौं। हाम्रो एकाग्रता कमजोर हुन थाल्यो वा ध्यान भंग हुन थाल्यो भने पुनः आफ्नो मनोभावलाई पुष्ट गर्ने र त्यसको विश्लेषण गर्ने काम गर्छौं।

दैनिक जीवनमा ध्यान :
ध्यानको उद्देश्य भनेको केवल आफ्नो घरको चकटीमाथि आरामपूर्वक बसेको बेला मात्र एकाग्रता र शान्तिको अनुभव गर्ने होइन्। यसले हाम्रो दैनिक जीवनमा परिवर्तन ल्याउनु पर्छ। हामीले नियमित रुपमा ध्यानको अभ्यास गर्ने गरेका छौं भने सकारात्मक मनोभावहरू हाम्रो बानी बन्छन् जसलाई हामी जतिबेला पनि आफ्नो आवश्यकता अनुसार उपयोगमा ल्याउन सक्छौं। अंततः यो बानी हाम्रो अभिन्न अंग बन्छ र हामी सहज रूपमा प्रेमपूर्ण, एकाग्रचित्त, शान्त बन्छौं।

अभ्यास गर्दै जाँदा कुनै बेला हामीमा एकदमै रिस र निराशा उत्पन्न हुनसक्छ। त्यतिबेला यस्तो भाव राख्नु पर्छ – “हामी अझ धेरै मैत्रीपूर्ण हुन सकौं।” निरन्तरको साधनाबाट हामी यो खालको मनोभावमा अभ्यस्त भैसकेका हुन्छौं। त्यसैले हामी त्यो स्थिति तुरुन्तै हासिल गर्न सक्छौं।

कोही मानिस पनि परिपूर्ण हुँदैन। हामी सबैमा कुनै न कुनै खराब बानी हुन सक्छ जसबाट हामीले मुक्ति खोजिरहेका हुन्छौं। खुशीको कुरा के हो भने ती कुनै पनि बानी ढुंगामा कुँदिएका शिलालेख होइनन्, ती सबै परिवर्तनशील हुन्छन्।

तिनलाई परिवर्तन गर्न अरु केही होइन, केवल हाम्रो आफ्नै प्रयास चाहिन्छ। हामीमध्ये धेरै जिमखानामा घण्टौं बिताउँछौं। तर हाम्रो सबैभन्दा मूल्यवान कुरालाई स्वस्थ राख्न गर्नुपर्ने अभ्यास चाहिँ बिर्सन्छौं। त्यो कुरा हो, हाम्रो मन। प्रारम्भमा केही कठिनाई हुन सक्छ, तर जब हामी ध्यानबाट जीवनमा आउने लाभहरु देख्न थाल्छौं, हामी खुशीसाथ यसका लागि समय छुट्याउन थाल्छौं।

साभार : डा.अलेक्जेन्डर बर्जिन, म्याट लिन्डेन ( study buddhism)

Leave a Reply

Your email address will not be published. Required fields are marked *