६० वर्षीया तारा सदाको मुहारमा नागरिकताले फर्काएको खुसी

समताखबर
  २० माघ २०७९, शुक्रबार १६:१२

काठमाडौं, असाेज ४ : सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ की ६० वर्षीया तारा सदा मुसहरले लामो समयको दौडधुपपछि यही भदौ ५ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाइन्। अहिले उनको खास उमेर ६० वर्ष भए पनि नागरिकतामा उल्लेख भएको जन्ममितिअनुसार भने उनी भर्खर ३९ वर्ष पुगेकी छन्।

नागरिकतामा वास्तविक उमेरभन्दा २१ वर्ष कम भए पनि उनलाई त्यसप्रति कुनै गुनासो छैन। किनकि उनका लागि नागरिकता बन्नु नै ठुलो भएको छ। बरु अब एकल महिला भत्ता पाइने भयो भनेर उनी दंग छिन्। ‘नागरिकता पाउँदिनँ भन्ने डर थियो, पाएँ, त्यसैमा खुसी छु। नागरिकता भएको भए एकल महिलाको सुुविधा १५ वर्षअघि नै पाउथें,’ उनले भनिन्।

२०६२ सालमा नागरिकता बनाउने टोली गाउँमा आएको थियो। कागजात नपुगेको भन्दै टोलीले उनको नागरिकता बनाउन मानेन। ‘विवाह दर्ता नगरेको, उमेर बढी भएको भन्दै टोलीले नागरिकता बनाउनै मानेन,’ ताराले भनिन्, ‘बन्दैन भनेपछि केही बोलिनँ, चुपचाप लागेर घर फर्किएँ।’

तारालाई नागरिकता अत्यावश्यक कागजपत्र हो भन्नेसमेत थाहा थिएन। केही फरक पर्दैन भनेर चुप लागेर बसिकी थिइन् उनी। २०६४ सालमा पति राम साेगारथ माझी बिते। परिवार हाँक्ने जिम्मेवारी उनकाे काँधमा आयो। घर चलाउन गाह्राे हुँदा एकल महिलाका लागि सरकारले भत्ता दिन्छ भन्ने थाहा पाइन् तर नागरिकता नभएकै कारण उनले भत्ता पाउन सकिनन्। त्यसपछि मात्र उनले नागरिकता बनाउनेतिर चासो दिन थालिन्।

नागरिकता बनाउन सघाइदेलान् भनेर गाउँका जमिनदारहरूसँग सहयोग मागिन् तर सबैले वचन मात्रै दिए, काम गरिदिएनन्। ‘नागरिकता बनाइदिन आग्रह गर्दै थुप्रै जमिनदारकहाँ धाएँ, घरमा र खेतमा गएर काम गरिदिएँँ, बनाइदिन्न कसैले भनेनन् तर वचन पनि कसैले पूरा गरिदिएनन्।’

नागरिकता बनाउन के चाहिन्छ, कहाँ जानुपर्छ भन्नेसमेत थाहा नपाएकी तारालाई अरूको भर पर्नुहुन्न भन्ने त लाग्थ्यो तर कुनै उपाय निस्कँदैनथ्यो। ‘नागरिकता बने एकल भत्ता पाइन्थ्यो, घरखर्च टर्थ्याे’ भन्ने आशा पालेर उनी भेटिएका जोकोहीसँग नागरिकताका लागि सहयोगको याचना गर्दै हिँड्न थालिन्।

त्यही क्रममा भेटिएका थिए सोही गाउँका सामाजिक अभियन्ता पचुलाल माझी। तिनै पचुललालको सहयोगमा ताराको नागरिकता बन्यो। ‘उहाँ (पचुलाल) ले हरेक कार्यालयमा पुगेर कागजपत्र बनाउन सहयोग गर्नुभयो,’ तारा भन्छिन्, ‘उहाँसँग भेट नभएको भए मेरो नागरिकता बन्दैनथ्यो होला।’  आफ्नै तरिकाले पचुलाललाई धन्यवाद पनि दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *