एभिन्यूज खबरकर्मी विवेक नागरीमाथि दुर्व्यवहार

समताखबर
  २८ माघ २०७९, शनिबार १५:२४

धनगढी । धनगढी उप-महानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आर्तुसा हमालले एभिन्यूज खबरकर्मी विवेक नागरीमाथि दुर्व्यवहार गरेकी छन् ।

बिहीबार बिहान करिब १०:४५ बजे सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि विवाद  भइरहेको दृश्य क्यामेरामा कैद गर्ने क्रममा मेयर हमालकी छोरी आर्तुसाले पत्रकार नागरीको क्यामेरा खोस्दै अपशब्द बोलेर धम्क्याएकी हुन् ।

मुख्य बजारको बिच सडकमै भिडभाड हुने गरी ट्राफिक जाम भएपछि पत्रकार नागरीले के रहेछ भनेर क्यामेरा खोलेर भिडियो खिच्दै गर्दा मेयर हमालकी छोरी आर्तुसाले आफू पनि दिनेश एफएमको मान्छे भएको भन्दै पत्रकार नागरीलाई उल्टै धम्क्याइन् ।

‘हामी पनि दिनेश एफएमका मान्छे हौँ,’ उनले पत्रकार नागरीलाई धम्क्याउँदै भनिन्,‘रमाइलो गर्नका लागि भिडियो खिच्ने ?’ आफू मेयरको छोरी भएको उनी आफैले सडकमा बताएकी थिइन् ।

पत्रकार नागरीका अनुसार त्यहाँ केही घटना भएको भन्ने सामान्य जानकारी पाएको र त्यही विषयमा विस्तृत बुझ्न भिडियो खिचिरहेका बेला आर्तुसाले अचानक किन खिचेको भन्दै धम्काएको बताएका छन् ।

आर्तुसाले भने पछि एक भिडियो सार्वजनिक गर्दै आफूले अनुमतिबिना भिडियो नखिच्न भनेको तर पत्रकारमाथि दुव्र्यहार नगरेको बताएकी छिन् ।

यूटुयुबमा एउटा भिडियो पोस्ट गर्दै उनले भनेकी छिन्, ‘मेरो गाडीलाई अर्को गाडीले ठोकेको विषयमा कुराकानी भईरहँदा एकजना मान्छे साइडमा उभिएर आफ्नो फोनको क्यामराले भिडियो रेकर्डिङ गर्दैथ्यो । उसको घाटीमा न पत्रकारको ट्याग थियो न कोही थियो । उसले पत्रकार जसरी नभएर एउटा सामान्य मान्छे जसरी भिडियो खिचिरहेको थियो । कोही १० जना आएर एउटा केटी मान्छेमाथि खनिएपछि कसैले पनि भिडियो रेकर्ड भएको देख्न सक्दैन ।

मैले भिडियो रेकर्ड नगर्न र बन्द गर्न भनेको हुँ । त्यो मान्छेले मानेन । किन म रोकुँ, किन म रोकुँ भन्न थाल्यो । मेरो व्यक्तिगत जीवनको भिडियो खिच्ने अधिकार तपाईलाई छैन भन्दा पनि रोकिएन । त्यसपछि मैले उसको क्यामरा हातले थुतेको हो । उमाथि हातपात गरेको होइन ।’

आफ्नो आमाले भिडियो डिलिट गर्न भन्दा आमाको हात समातेर पर धकेलिदिएको उनले भिडियोमा बताएकी छिन् ।

धनगढीखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *