मुक्त हरवाचरवाको नेतृत्व विकास गर्न दुई दिने तालिम

समताखबर
  २९ फाल्गुन २०७९, सोमबार ०७:०८

लहान ।  लहानको सिराहामा नेतृत्व बिकास र आन्दोलन निर्माण सम्बन्धी दुई दिने तालिम शुरु भएको छ । नेपाल सरकारद्धारा मुक्त घोषणा भएका हरवाचरवाहरुको न्यायिक पुर्नस्थापनाको लागी जनवकालत अभियान सञ्चालन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । 

उक्त तालिमको उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशसभा सदस्य माननीय ललिता बिद्रोहीले मधेसप्रदेश सभाबाट पारित भएको दलित सशक्तिकरण बिधेयकको परिमार्जन गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि आफनो संग्लनता रहने बताए। उहाँले मुक्त हरवाचरवाहरुको न्यायिक पुर्नस्थापनाका लागि मधेस प्रदेश सरकार जवाफदेहि हुनुपर्नेमा बताए।

राष्ट्रिय दलित नेटवर्क नेपालका केन्द्रीय अध्यक्ष एवं मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवा बस्तुस्थिती अध्ययन समितिका सदस्य गणेश बिश्वकर्माले मुक्त हरवाचरवाहरुको न्यायिक पुर्नस्थापनाका लागि स्थानिय, जिल्ला र राष्ट्रिय स्तरका हरवाचरवा संगठनहरुले सामुहिक रुपमा स्थानिय, प्रदेश र संघीय सरकारलाई दबाव श्रृजना गरिनुपर्नेमा जोड दिए । साथै उहाँले स्थानिय र प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा मुक्त हरवाचरवाको सवाल मात्र सम्बोधन गराउन सके यसले उनीहरुको सामाजिक र आर्थिक समस्याहरु सामाधान गर्न सकिने कुरा बताए ।

द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराईले मुक्त हरवाचरवाको आगामी अभियानलाई स्वतःस्फुर्त रुपमा अगाडी बढाउनका लागि मुक्त हरवाचरवाका संघ, संगठनहरु क्रियाशिल हुनुपर्ने बताए ।

आन्दोलनलाई सशक्त रुपमा अगाडी बढाउन सबै मुक्त हरवाचरवाका अगुवाहरुले आआफनो समुदायबाटै मौनताको संस्कृतीलाई तोड्नका लागि पछाडी नहट्न आग्रह गरे । 

तालिमको उद्धघाटन सत्रमा सामाजिक अभियान्ता अर्जुन थपलिया, द फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार ब्रहमदेव राम लगायतले शुभकामना मन्तब्य ब्यक्त गरे । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलको अध्यक्षतामा सम्पन्न उद्धघाटन कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित नेटवर्क नेपालका जवकालत अधिकृत सञ्जय महराले गरेका थिए भने नेटवर्कका कार्यकारी निर्देशक हुकुम बहादुर सार्कीले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको बारेमाा जानकारी दिएका दिए ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चसंगको सहकार्यमा नेटवर्कद्धारा आयोजित  उक्त तालिममा परिवर्तित सन्दर्भमा मधेस प्रदेशका १ लाख भन्दा बढी मुक्त हरवाचरवाको अवस्था बिश्लेषण, हरवाचरवा मुक्तिको घोषणा र कानुनी प्रावधान, जनवकालत र आन्दोलन निर्माण, मुक्त हरवाचरवाको व्यस्थापनको समस्या सम्बन्धी छलफल भई आगामी तीन महिने जनवकालत योजना समेत निर्माण गरिनेछ । तालिमको सहजीकरण नेटवर्कका केन्द्रीय अध्यक्ष बिश्वकर्मा, द फ्रिडम फण्डका कानूनी सल्लाहकार अधिबक्ता भट्टराई, फण्डका कार्यक्रम सल्लाहकार राम र सामाजिक अभियान्ता थपलियाले गर्नेछन् ।

जिल्ला र केन्द्रीय हरवाचरवा अधिकार मञ्चका पदाधिकारीको लागि सञ्चालन गरिएको उक्त तालिममा मधेस प्रदेशका ८ वटै जिल्लाका ४० जना मुक्त हरवाचरवाहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *