प्रचण्ड सरकारमा एक्लो दलित राज्यमन्त्री

समताखबर
  ५ चैत्र २०७९, आईतवार १७:५१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको वर्तमान २३ सदस्यीय मन्त्रिपरिषदमा एक जना मात्रै दलित समुदायबाट मन्त्री बनेकी छन्, सुशीला श्रीपाली, त्यो पनि राज्यमन्त्री । माओवादी केन्द्रले आफ्नो भागमा परेको राज्यमन्त्रीमा श्रीपालीलाई मन्त्रिपरिषद्मा नियुक्त पठाएको हो ।

श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । उक्त मन्त्रालयको मन्त्रीमा माओवादीकै सुदन किराँती छन् ।

पहिलो पटक सांसद बनेकी श्रीपालीले राजनीतिमा ३० वर्ष बिताइसकेपछि राज्यमन्त्री बन्ने मौका प्राप्त गरेकी छन् । माओवादी केन्द्रबाट समानुपातिकतर्फबाट सांसद बनेकी श्रीपाली कम्युनिस्ट आन्दोलनमा २०४६ सालदेखि नै लागेकी हुन् ।

राजनीतिक जीवन उनले भारतबाट सुरु गरेकी हुन् । तत्कालीन समयमा कम्युनिस्ट आन्दोलनमा सहभागी हुन उनले महिला संगठनबाट पार्टी राजनीतिमा प्रवेश गरेकी थिईन । राजनीतिका लागि उनको पहिलो संगठन अखिल भारत नेपाली एकता समाज थियो । पार्टी संगठन निर्माणका क्रममा भारतका सबैजसो राज्यमा पुगेको श्रीपाली बताउछिन् । सन् १९९५ मा अखिल भारत नेपाली महिला समाजको अध्यक्षसमेत बनेकी थिइन श्रीपाइली ।

२०५४ साल भदौमा उनी नेपाल आएकी हुन । स्वदेश फर्के लगत्तै उनी माओवादी सशस्त्र युद्धमा सहभागी हुन पुगिन । तत्कालीन समयमा गुल्मी र अर्घाखाँचीलाई मिलाएर माओवादीले एउटै जिल्ला बनाएको थियो । उक्त जिल्लाको उनी सदस्य बनिन् । पार्टी राजनीतिमा मिलिसियाका रुपमा उनी तत्कालीन समयमा लागेकी थिइन् । ‘सेनाको संरचनामा भने उनी गइनन् ।

१० वर्षे जनयुद्धकै बेला २०५५ सालमा श्रीपालीले जनवादी विवाह गरिन् । उनका श्रीमान डम्मरसिंह ठकुरी तत्कालिन माओवादीको जनमुक्ती सेनामा थिए । सेना समायोजन हुँदा उनका पति नेपाली सेनामा समाहित भए । अहिले उनी नेपाली सेनाका मेजर पदमा मिसनमा कार्यरत रहेका छन् ।

२०६४ सालमा पहिलोपटक माओवादी संविधान सभाको पहिलो निर्वाचनमा प्रवेश गर्ने बेला अवध राज्य समिति अन्तर्गतको कमिटी सदस्य बनेर काम गरिन् । त्यसअघि पार्टीले उनलाई नवलपरासी क्षेत्रमा खटाएको थियो । माओवादीको हेटौंडा राष्ट्रिय सम्मेलनबाट उनी पार्टीको केन्द्रीय सदस्य बनिन् ।

माओवादीको केन्द्रीयसमेत रहेकी श्रीपाली २०६८ सालमा दलित आयोगको अध्यक्ष बनिन् । जतिबेला आयोगले संवैधानिक मान्यता प्राप्त गरेको थिएन । यद्यपी उनको कार्यकाल सकिएपछि नेपालको संविधान जारी भएपछि आयोगले संवैधानिक मान्यता प्राप्त गरिसकेको छ ।

२०७२ सालको संविधान जारी भएपछि तत्कालिन माओवादी नेता नेता डा.बाबुराम भट्टराईले माओवादी फुठाएर नयाँ शक्ति गठन गरेपछि उनी सोही पार्टीमा आवद्ध भइन् । करिब दुई वर्ष नयाँ शक्तिमा रहेर काम गरे पनि फेरि माओवादीमै फर्किइन ।

२०३० सादमा जन्मीएकी श्रीपालीको स्थायी ठेगाना अर्घाखाँचीको सन्धिखर्क वडा नम्बर १० हो । यसअघि पार्टीले उनलाई कुनै पनि तहमा उम्मेदवार बनाएको थिएन । उनी पहिलो पटक नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकको बन्द सूचीमा परिन । बन्दसूचीबाट पनि छनौट भएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि राज्यमन्त्री बन्न पुगेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *