जुम्लाका सन्ताेष खत्री : बेवारिसे `बालक´ देखि राष्ट्रिय खेलालीसम्म

समताखबर
  ३० मंसिर २०८०, शनिबार ११:३४

काठमाडौं । नेपालकै ठूलो दशरथ रंगशालामा अहिले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चलिरहेको छ । सन्तोष खत्री प्रतियोगिताकै ‘हाइलाइटेड’ नेपाली खेलाडी दरिएका छन् । गणितीय हिसाबबाट पूर्वेली क्लब स्पोर्टिङ इलाम एफसीको शीर्ष चारमा पुग्ने चुनौती समाप्त भइसकेको छ । यही इलामका प्रमुख खलाडीमध्ये एक हुन् सन्तोष । उनी मिडफिल्डमा छाउँछन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९/८० मा फ्रेन्ड्स क्लबबाट खेलेका सन्तोषले ‘डेब्यु’ सिजनमै सबैको मन जितेका थिए । अवस्था अहिले पनि त्यस्तै छ । अझ बढी । भलै, इलामका लागि यसपालिको सिजन बिर्सनलायक रह्यो । सन्तोषले भने सबैको मन जिते । एनएसएलमा गरिरहेको प्रदर्शनले सन्तोषलाई छुट्टै पहिचान दिएको छ । सन्तोषलाई नेपाली फुटबलको भविष्यको आसलाग्दो खेलाडीमा हेर्न थालिएको छ । नेपाली फुटबललाई नजिकबाट बुझ्नेहरू भन्छन्, ‘सन्तोषसँग पुजन उपरकोटीलाई प्रतिस्थापन गर्नसक्ने क्षमता छ ।’ यिनै सन्तोष कुनै बेला बेवारिसे, असहाय अवस्थामा थिए ।

२०६४ साल जेठ ११ गतेको कुरा हो । हाल बूढानीलकण्ठ नगरपालिकामा रहेको महांकाल परिसरमा बेवारिसे अवस्थामा भेटिएका सन्तोषलाई महानगरीय प्रहरी विभाग जनसेवाले फेला पार्यो । त्यसको दोस्रो दिन सन्तोषलाई नक्सालस्थित बालमन्दिरमा रहेको नेपाल बाल संगठनमा भर्ना गराइयो । जतिबेला उनी ३ वर्ष ४ महिनाका थिए ।

‘एकदमै सानो भएकाले मलाई केही याद छैन । पछि रेकर्ड फाइल हेरेर थाहा पाएँ । १६ वर्ष अगाडि मलाई जनसेवाले फेला पारेको रहेछ । अनि बालमन्दिरमा लगेर भर्ना गरिदिएको रहेछ,’ सन्तोष विगत सुनाउँछन्, ‘त्यतिबेला मैले पुनर्जन्म पाएछु ।’

नेपाल बाल संगठन गैरनाफामुखी संस्था हो, जसले ६२ वर्षयता असहाय बालबालिकालाई आवासीय हेरचाह प्रदान गर्नुका साथै उनीहरूको अधिकार संरक्षण गर्दै आएको छ ।

सन्तोषले केन्द्रीय कार्यालय बालमन्दिरभित्रै रहेको विद्यालयमा पढ्ने मौका पाए । भर्ना भएकै बेला उनले आफ्नो पूरा नाम पाएका थिए, ‘बालक’का रूपमा सन्तोष । ‘त्यतिबेला केटीको उपनाम ‘बालिका’ भनेर राखिन्थ्यो भने हामी केटाहरूको ‘बालक’ हुन्थ्यो,’ सन्तोष सुनाउँछन् ।

केही वर्षपछि काभ्रेको पाँचखालस्थित संगठनकै शाखा समाज कल्याण बालगृहमा सरुवा भए । त्यहीं हुर्के, बढे । सिनियर दाइहरूको देखासिकीमा फुटबल खेल्न सिके । नजिकै रहेको पाँचखाल भ्याली माध्यमिक विद्यालयमा स्कुले जीवन बिताएका सन्तोषले सात कक्षामा छँदा बल्ल आफ्नो परिवार रहेको थाहा पाए ।

‘सात कक्षामा पढ्दै थिएँ । घरमा मेरो खोजी भएको रहेछ । मुद्दाहरु उठ्न थालेपछि खोजी कार्य तीव्र रूपमा भएको थियो । बालगृहमा जुम्लाकै एकजना कर्मचारी हुनुहुन्थ्यो । पछि अनुसन्धान गर्दा मेरो घर जुम्ला रहेको पुष्टि भयो । घरमा मेरो आमा, दुई दिदी र एक भाइ रहेछ । त्यसपछि मैले मेरो थर खत्री रहेको थाहा पाएँ,’ भावुक हुँदै सन्तोषले सुनाए ।

‘प्लस टु’ सकिएपछि बालगृह छाड्नुपर्ने नियम रहेकाले सन्तोष दुई वर्षयता काठमाडौंको सिफलस्थित एक होस्टलमा बस्दै आएका छन् । उनी विद्यालयमा खेलकुद शिक्षकका रूपमा काम पनि गर्छन् । यसबीच फुटबललाई निरन्तरता दिन केही समय कुकको तालिम पनि लिए । परिवारसँग त्यति नजिकको सम्बन्ध बनाएका छैनन् । ‘जुम्लातिर फोन लाग्दैन । घर थाहा पाएपछि जुम्ला गएको थिएँ एकचोटि त्यसपछि गएको छैन । परिवारसँग त्यति बोलचाल छैन,’ सन्तोष परिवारसँग नजिक हुन चाहेका छैनन् । सायद सानैमा अलपत्र छाडिएकाले हुन सक्छ ।

सडक बालबालिकाको विश्वकपमा
पाँच वर्षअघि सन्तोषले सडक बालबालिकाको विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएका थिए । सन् २०१० दक्षिण अफ्रिका विश्वकपदेखि फिफाले विश्व फुटबलको कुम्भमेला सुरु हुनुभन्दा एक महिनाअगाडि सेभेन ए साइड सडक बालबालिका विश्वकप आयोजना गर्दै आएको छ ।२०१८ मा रुसको मस्कोमा आयोजना भएको १२ देशसम्मिलित उक्त विश्वकपमा नेपालले पनि सहभागिता जनाएको थियो । ९ सदस्यीय अन्तिम टोलीमा सन्तोष पनि अटाएका थिए । ‘स्ट्रिट चाइल्ड युनाइटेड इनिसिएटिभ’को आयोजनामा भएको प्रतियोगिताका लागि नेपाली टोलीको खेलाडी छनोट ‘सेल्टर आश्रय नेपाल’ले गरेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विभिन्न संगठनबीच फुटबल लिगको आयोजना गरिएको थियो । त्यसका लागि जापानको फन रुट्स फुटबल एकेडेमीले सेल्टर आश्रयलाई ३० जोडी बुट र १० वटा बल सहयोगसमेत गरेको थियो ।

‘हामीले हाम्रो संगठनबाट एउटा टोली बनाएर गयौं । लिगमा हामी उपविजेता बन्यौं । प्रारम्भिक २० जनाको टोलीमा म र मेरो साथी रमेश शाह परेका थियौं । अन्तिम ९ सदस्यीय टोलीमा पनि हामी पर्न सफल भयौं,’ सन्तोषले भने ।

पहिलो खेलमा केन्यालाई १–० र दोस्रो खेलमा ताजकिस्तानलाई ३–१ ले हराएको नेपाल क्वाटरफाइनलसम्म पुग्न सफल रह्यो । क्वाटरफाइनलमा ब्राजिलसँग १–० ले पराजित भएसँगै नेपाली टोली स्वदेश फर्किएको थियो । प्रतियोगितामा सन्तोषले तीन गोल गरेका थिए ।

प्रशिक्षक मिश्रको त्यो विश्वास
बालगृहमा हुर्कँदै गर्दा सन्तोषले सैनिक आवासीय महाविद्यालयमा फुटबल प्रशिक्षक विकर्ण श्रेष्ठबाट फुटबल सिक्ने मौका पाएका थिए । श्रेष्ठ फुटबल प्रशिक्षण दिन हप्तामा एक पटक बालगृह पुग्थे । फुटबलमा रुचि बढ्दै गएपछि सन्तोषले फुटबलबाहेक केही सोचेनन् । विद्यालयबाटै विभिन्न प्रतियोगिताहरूमा सहभागिताा जनाउन थाले ।

सन्तोषले दुई वर्षअघि दक्षिणकाली परोपकार क्लबबाट ‘सी’ डिभिजन लिगको छनोट खेल खेले । त्यसको एक वर्षपछि उनी ‘सी’ डिभिजन छनोटमै कालिका महावीर क्लबको जर्सीमा देखिए ।

२०७८ को फागुनमा हेटौंडामा सम्पन्न प्रथम प्रदेश खेलकुदमा सन्तोषले काभ्रेको प्रतिनिधित्व गरेका थिए । त्यतिबेला बालगृहले सन्तोष यतै हुर्केको प्रमाणसहित चिठी पठाएपछि सन्तोषले हेटौंडामा खेल्न पाएका थिए । हेटौंडामा गरेको प्रदर्शनका आधारमा नवौं बृहत राष्ट्रिय खेलकुदका लागि वागमतीले खेलाडी छनोट गरेको थियो । सन्तोषको काभ्रे पछिल्ला चरण नपुगे पनि सन्तोषको खेलले भने प्रशिक्षक टोली प्रभावित भए । सन्तोष अर्को वर्षको असोजमा हुने राष्ट्रिय कुम्भमेलाका लागि वागमतीको प्रारम्भिक टोलीमा परे ।वागमतीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन थिए भने सहायकमा मृगेन्द्र मिश्र । पोखरामा हुन लागेको प्रतियोगिताका लागि वागमतीले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रशिक्षण गरेको थियो । अन्तिम टोलीमा सन्तोष पनि परे । तर, नागरिकता जुम्लाको भएकाले खेल्न पाएनन् ।

सन्तोषले राष्ट्रिय खेलकुदमा आफ्नो प्रतिभा देखाउन त पाएनन् । त्यसपछि करियरले नयाँ मोड लियो । गत जेठमा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कुपन्डोलको फ्रेन्ड्स क्लबले मिश्रको सुझावमा सन्तोषलाई क्लबमा बोलाए । एक वर्षअगाडि मुख्य प्रशिक्षकको भूमिकामा रहेका मिश्र यसपालि गोलकिपिङ प्रशिक्षणको जिम्मेवारीमा थिए । मुख्य प्रशिक्षकमा थिए, उर्जन श्रेष्ठ । श्रेणी फुटबलको पहिलो अनुभवमै सन्तोषले हकलाग्दो मौका पाए । लिगको अन्तिम खेलमा फ्रेन्ड्सले शीर्ष डिभिजनको हैसियत जोगाएको थियो । सन्तोषको प्रदर्शन चर्चा गर्न लायक भएको थियो । उनी अट्याकिङ र डिफेन्सिभ मिडफिल्ड दुवै भूमिकामा अब्बल साबित भए । विपक्षी आक्रमणको बल खोस्ने सन्तोषको विशेष खुबी हो ।

लिगकै प्रदर्शनका आधारमा जारी एनएसएलमा ‘बी’ क्याटगोरीका सन्तोषलाई पाँच टोलीले उच्चतम बोली लगाए । अन्तमा उनलाई पाउने भाग्यशाली टोली रह्यो इलाम ।

अन्तर्राष्ट्रिय डेब्युको पर्खाइ
लिगकै प्रदर्शनका आधारमा सन्तोष विश्वकपका लागि फिफा र एएफसीको संयुक्त छनोटको पहिलो चरणका लागि प्रारम्भिक टोलीमा परेका थिए । लाओसविरुद्धको पहिलो चरणको नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको ३३ सदस्यीय टोलीमा सन्तोषलाई समावेश गरेका थिए । १९ दिनको बन्द प्रशिक्षणमा रहेका सन्तोषले अन्तिम टोलीमा भने स्थान बनाउन सकेनन् ।

यही माघमा सन्तोष २० वर्षका हुँदै छन् । यस्तोमा उनीसँग अझै धेरै समय छ, नेपाली फुटबलमा योगदान दिने । तर, त्यो दिन टाढा छैन, जब सारा नेपालीले थाहा पाउनेछन् सन्तोषको कथा, उनले भोगेका दुःखपीडाहरू । अहिलेलाई सन्तोष भन्छन्, ‘नेपालको जर्सीबाट खेल्न कस्लाई पो रहर हुन्न र ? यो त मेरो सपना नै हो । आशा छ देशको प्रतिनिधित्व चाँडो गर्नेछु ।’

साभार : खेलाडी डटकम/ keladi.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *