आँखै अघि आमाको मृत्यु देखेका शिवि विकले जब डाक्टर बन्ने सपना देखे

रामहरि ओझा डोटी 
  २ पुष २०८०, सोमबार ०८:४४

‘शिवि डाक्टरी पढ्न पाउने भयो दाइ,’ के आई सिंह गाउँपालिका–४ का जोगे लुहार–लाई झिमेमालिका मावि वायलका प्रधानाध्यापक नरबहादुर कार्कीले घरमै गएर यो खबर सुनाए ।

आरन पिट्दै गरेका ६५ वर्षीय जोगेलाई सुरुमा यो खबरप्रति विश्वास लागेन । तर, सुख दुःखमा साथ दिने नजिकैका छिमेकीले बिहान बिहानै भनेपछि विश्वास गर्नै पर्‍यो । आरन पिटिरहेको उनको आँखाबाट आँसु खस्यो, एक छिन् मौन बसे ।  ‘सबै देवी देउता दाहिना पक्षमा भया बुई ’ केही बेरको मौनता तोड्दै जोगेले डोटेली भाषामा भने ‘तम सबैले अर्याको सहयोग फल्यो ।’

उनले आरन पिट्दै छोरालाई हुर्काएको सम्झिए, आफ्नो बुढेसकालको एक्लो जीवन सम्झिए र आफ्नो रोगी शरीर सम्झिए ।

छोरो डाक्टर बन्ने भनेपछि उनलाई झट्ट आफ्नो उपचारको सम्झना आयो ।

‘खान मन नइलाग्दो, उल्टी आए जसो हुनु, हातगोणा टुट्टा, रङ्ङाइ हुनी’ उनले डोटेली भाषामै थपे ‘शिवि डाक्टर भएपछि सब इलाज अरिमाग्दे हुँ, खुब निकरी उपचार अरिमाग्दे हुँ ।’

जोगेले छोरो डाक्टर पढ्ला भन्ने सोचेका थिएनन् । गाउँकै विद्यालयमा २-४ कक्षा पढेर आँखा–कान उघ्रिएला र विदेश (भारत) जाला भन्ने सोचेर उनले विद्यालय पठाएका थिए । खरले छाएको चुहिने घरमा छोराछोरी हुर्काएको सम्झिए उनले । उनी शिविको भाग्यले डाक्टर पढ्न पाएको बताउँछन् ।  छोरो डाक्टर भएपछि पैसाको अभावमा उपचार गर्न नपाएकाले उपचार पाउने आस गर्छन् जोगे ।

‘समयमै राम्रो औषधी उपचार हुन नसक्दा मैले कलिलै उमेरमा जीवन साथी गुमाउनु प¥यो’ जोगे भन्छन् ‘थुप्रै रोगसँग लड्दै जीवनको भारी बोकिरहेकाहरूले पनि सहजै उपचार पाएको देख्ने रहर छ ।’

यसरी आयो शिविको मनमा डाक्टर बन्ने सपना

‘आमाको उपचार गराउन काठमाडौँ वीर अस्पताल गएको थिएँ, आमा अस्पतालको बेडमा छटपटाइरहनु हुनुहुन्थ्यो । म आमाको पीडा सहन नसकेर बाहिर आएर रुन्थे । त्यसै बेला मनमा एउटा कुरा खेलेको थियो, यदि म डाक्टर भएको भए आज सजिलै आमाको उपचार गर्न सक्थेँ ।’

कक्षा ८ मा पढ्दा आमाको उपचारको क्रममा अस्पतालकै आँगनमा रुँदै १५ वर्षीय शिवि विकले देखेको डाक्टर बन्ने सपना पूरा हुने भएको छ । उनी नेपाल सरकारको पूर्ण छात्रवृत्ति कोटाबाट एमबिबिएसको पढ्न पाउने भएका छन् ।

साँझ बिहानको छाक टार्ने परिवारका शिवि डाक्टर बन्न पाउने भएपछि आफूलाई पढाउन हुर्काउनका लागि आमाबुवाले गरेको दुःख सम्झन्छन् ।

उनी भन्छन् ‘मलाई यहाँसम्म आई पुग्नमा धेरैले सहयोग गर्नुभयो । शिविको डाक्टर बन्ने सपनामा सहयोग पुर्‍याए आमाको उपचारका क्रममा भेट भएका वीर अस्पतालका एक डाक्टरले । ‘नाम त म बिर्से, तर उहाँको थर खड्का हो । उहाँले छात्रवृत्तिमा नाम निस्किने सम्भावना हुन्छ, तिमि तयारी गर भन्नु भयो’ उनी भन्छन् ‘त्यसपछि मेरो सपना लक्ष्यमा परिणत भयो ।’

आमाको उपचार सम्भव नभएपछि घर फर्किएका शिविले आमाको मृत्युको शोकलाई डाक्टर बन्ने शक्तिमा बदले । दिनरात परिश्रमपछि उनी एसइईमा ‘ए’ ग्रेड ल्याउन सफल भए ।

त्यसपछि उनलाई काठमाडौँको ह्वाईट हाउस कलेजमा विज्ञान छात्रवृत्ति कोटाका लागि उनले आवेदन गरे । उनी छनौटमा परे पनि । अब उनी युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल, भैरहवाबाट एमबिबिएस गर्नेछन् ।

उनी आफूलाई यो मुकामसम्म पुग्नमा उत्प्रेरित गर्ने मुख्य पात्र नरबहादुर कार्कीलाई मान्छन् । उनी भन्छन् ‘सानै उमेरदेखि मलाई हरेक कुरामा सहयोग गर्ने, हौसला प्रदान गर्ने र मलाई कखरा सिकाउने मेरा पहिलो गुरु नै नरबहादुर हुनुहुन्छ ।’

बिरामी आमा बचाउन नसकेको पीडा

शिविकी आमा कलसी लुहारलाई सामान्य स्वास्थ्य समस्या हुँदा गाउँकै स्वास्थ्य चौकीमा चेकजाँच गराए । स्वास्थ्य चौकीले दिएको औषधी खाँदा अलि विशेष भयो तर फेरी पीडा सुरु भयो । त्यसपछि धामी–झाँक्री, झारफुक जस्ता कुरामा लागे । कलसीलाई निको हुनुको सट्टा झन् बल्झियो । फेरि स्थानीय स्वास्थ्य चौकी जाँदा उनलाई जिल्ला अस्पताल डोटी रिफर गरियो । गाउँबाट २ हजार ऋण दान गरेर शिविले आमालाई जिल्ला अस्पताल पुर्‍याए । अस्पतालले कलसीलाई मुटुसम्बन्धी समस्या भएको भन्दै सेती अस्पताल धनगढी जान सुझाव दियो ।

१४ वर्षको उमेरमा रोगी आमाको सहारा बनेर आएका शिविलाई धनगढीसम्म जाने खर्च पनि भएन । उनले भारतको पुनामा रहेका दाजु तेजलाई फोन गरेर विवरण सुनाए । तेजले आमालाई उपचारका लागि भारत ल्याउन भने ।

‘तिमि आमालाई धनगढीसम्म ल्याएर आऊ, म यताबाट धनगढी आउँछु र आमालाई ल्याउँछु भन्नुभयो दाइले’ शिवि भन्छन् ‘त्यसपछि म आमालाई लगेर नाइट बसमा धनगढी गएँ ।’ तेज आउन ढिलो हुने भएका कारण शिविले सेती अस्पतालमा आमाको चेकजाँच गराए । चेकजाँचपछि आमा सलकीको दुवै मिर्गौलाले काम गर्न छोडेको रिपोर्ट आयो ।

गाउँकै सामुदायिक विद्यालयमा कक्षा ९ मा पढ्दै गरेका शिविलाई आकाश खसे जस्तो भयो । उनी आमाको मुख हेर्दै रुन मात्र सक्थे, गर्न केही सक्दैनथे । उनका लागि विकल्प पनि केही थिएन । बिरानो सहर, न कोही आफन्त छन्, न गोजीमा पैसा, कहाँ बस्नु, के खानु, कुनै ठेगान थिएन । उनका अगाडी दाइको बाटो कुर्नु बाहेक अरू कुनै उपाय भएन । धनगढी बसपार्कको प्रतीक्षालयमा बिरामी आमाको शिरानी बनेर भोक भोकै चिसो रात बिताएको सम्झना छ उनलाई । बिहान तेज आएर आमालाई भारत लगे । भाइ शिविलाई आफ्नो पढाई गर्न भन्दै घर फर्काए । तेजले भारत पुर्‍याएर अस्पताल भर्ना गरे । डाक्टरहरूले मिर्गौला प्रत्यारोपण बाहेक अर्को उपाय नभएको बताएपछि तेज आफ्नो मिर्गौला दिन तयार भए । तर अस्पतालमा ८ लाख भारतीय रुपैयाँ लाग्ने र मुटुको समस्या भएका कारण यस क्रममा आमाको ज्यान पनि जान सक्ने भनेपछि तेजले आँट गरेनन् ।

अरूसँग ऋण सापट गरेर चेकजाँचकै क्रममा ३०/३५ हजार खर्चिसकेका तेजलाई ८ लाख जम्मा गर्ने आँट केही गरी आएन । बिरामी आमालाई बोकेर उनी आफ्नो गाउँ फर्की आए । त्यसपछि सलकीको उपचारका लागि आर्थिक सहयोग जुटाउन कलसी बचाउ अभियान सुरु भयो । करिब ३ लाख रुपैयाँ जम्मा पनि भयो र कलसीलाई नेपालगन्ज हुँदै काठमाडौँ लगियो । वीर अस्पतालमा १५ दिन राखियो पनि । तर, सलकीको मुटुमा पनि समस्या भएका कारण उपचार सम्भव भएन । फेरी आमालाई बोकेर घर फर्किए शिवि ।

अन्ततः आमा कलशीले रोगी श्रीमान् जोगेलाई १५ वर्षीय छोरा शिविको जिम्मा लगाउँदै २०७५ सालमा ४९ वर्षकै उमेरमा सदाका लागि छोडेर गइन ।  ‘आफ्नो आमालाई त बचाउन सकेन र समयमै उपचार नपाएर आमा जस्तै समस्यामा परेका तमाम आमाहरूको उपचार गर्न पाए हुन्थ्यो जस्तो लाग्छ’ शिवि भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *