क्षमता वृद्धिसगैं हट्यो विद्युत् भोल्टेजको समस्या

समताखबर
  २७ भाद्र २०७४, मंगलवार १०:१२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले कैलालीको लम्कीमा रहेको सवस्टेशन र ट्रान्सफर्मरको क्षमता वृद्धि गरेपछि सुदूरपश्चिम क्षेत्रमा रहेको विद्युत् प्रणालीमा रहेको भोल्टेजको समस्या समाधान भएको छ । 

प्राधिकरणले सोमबार लम्कीस्थित सवस्टेशनलाई १३२ /३३ केभी क्षमतामा स्तरोन्नति गरेको हो । आठ एमभीए क्षमतामा रहेको ट्रान्सफर्मरलाई पनि १६ एमभीएमा रुपान्तरण गरिएको छ ।

लम्कीमा रहेको ट्रान्सफर्मरको स्तरोन्नति गरिएपछि टीकापुर लम्की क्षेत्रमा भइरहेको अघोषित विद्युतभार कटौती अन्त्य हुने भएको छ । भोल्टेज समस्याका कारण देखिएको समस्या समाधान भएको क्षेत्रीय कार्यालय अत्तरियाका प्रमुख तारानाथ शर्माले बताए ।

धनगढीका उद्योगी तथा व्यवसायीले अघोषित विद्युतभार कटौती हटाइदिन ‘प्रचण्ड’लाई आग्रह गरेका थिए । आग्रहपछि दाहालले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

अत्तरिया क्षेत्रीय कार्यालयका प्रमुख शर्मालगायतको प्राविधिक टोलीले सोमबारदेखि समस्या समाधान गरेको छ । केही दिन पहिले स्थलगत अवलोकनमा पुगेका ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले एक दिनमा समस्या समाधान हुने बताएका थिए ।

सबैभन्दा बढी भीमदत्तनगर, धनगढी, नेपालगञ्जलगायतका शहर मारमा पर्दै आएका थिए । ट्रान्सफर्मर र सवस्टेशनको क्षमता विस्तारपछि रातको समयमा खेर जाने विद्युत् समेत सुदूरपश्चिम र आसपासको क्षेत्रमा पठाउन सकिने बताए ।

प्रसारण लाइन ११ केभीको रहेको र लामो दूरीमा समेत हुने भएकाले पनि केही स्थानमा अझै समस्या रहेको छ । प्राधिकरणले त्यस्तो समस्या हटाउन अभियानकै रुपमा ट्रान्सफर्मर तथा सवस्टेशनको क्षमता विस्तार गर्ने कार्य शुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *