आज असोज सक्रान्ति । बिजय उत्सवको रुपमा मनाईने मौलिक पर्व बुढी पोल्ने पर्व डोटी लगायत सात नं.प्रदेशमा धुमधाम साथ मनाईंदै छ । बुढी अर्थात राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवको रुपमा यो पर्व प्रत्येक असोज सक्रान्तिमा मनाईने गर्दछ । यसलाई बन्दुनी संक्रान्ति वा बुन्ढुनी संक्रान्तिका नामले पनि चिनिन्छ ।
परम्परागत किंवदन्ती अनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) हरुले पुतनाको शव दहन गरेको कथन छ । द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्रीकृष्णले दुध चुसी मारेको र भगवान श्री कृष्ण बाँचेको खुशियालीमा यो पर्व मनाईने गरीएको स्थानिय बुढापाकाहरुको भनाई रहेको छ ।
आज साँझपख सात नं.प्रदेशका बिभिन्न जिल्लामा गएको भाद्र संक्रान्तिका दिन गाडिएको सल्लो वा अन्य बोट बिरुवाको लिङ्गोमा बन्दुनी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ ।
त्यस्तै बुढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ । पहिलेका बर्षहरुमा यस पर्वमा रातभरी देउडा, भुवाँ जस्ता साँस्कृतिक कार्यक्रम गरिने चलन रहेको भएता पनि पछिल्ला दिनहरुमा यो प्रचलन भने घट्दो क्रममा छ ।
Leave a Reply