दयाशंकर स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित

समताखबर
  १ आश्विन २०७४, आईतवार ०५:४२

पोखरा । प्रजातन्त्रका सेनानी स्व ‘दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार, २०७४’ बाट अग्रज पत्रकार पुण्य पौडेललाई सम्मानित गरिने भएको छ ।

स्व दयाशंकर पालिखेका परिवारद्वारा स्थापित एवं नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित सो पुरस्कारको राशि ३३ हजार तीन सय ३३, दोसल्ला र सम्मानपत्र रहेको छ ।

दुई दशकदेखि लगातार पत्रकारितामा क्रियाशील पत्रकार पौडेल ‘पोखरापत्र राष्ट्रिय दैनिक’का प्रधानसम्पादक हुनुहुन्छ ।
प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीको संयोजकत्वमा गठन गरिएको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा पत्रकार महासंघको बैठकले पौडेलको नाम अनुमोदन गरेको हो ।

नेपाल पत्रकार महासंघद्वारा सञ्चालित ‘टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार’ युवा तथा क्रियाशील पत्रकार माधव पनेरुलाई प्रदान गरिने भएको छ । पोखरा लेखनाथ महानगरपालिका ५ का बासिन्दा स्व टंकादेवी तुल्सीप्रसाद कोइरालाका परिवारजनबाट स्थापित सो पुरस्कारको राशि २० हजार नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।

पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित एवं ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार’ क्रियाशील पत्रकार सरिता तिम्सिना पंगेनीलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि ११ हजार एक सय ११, दोसल्ला र सम्मानपत्र रहेको छ ।

‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार’ यही असोज ७ गते, ‘टंकादेवी तुलसीप्रसाद कोइराला स्मृति’ र ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार’ एक समारोहबीच प्रदान गरिने महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *