
पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा वर्तमान र पूर्व राज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन् ।
बर्तमान शेरबहादुर देउवा सरकारमा वाणिज्य राज्यमन्त्री रहेका लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका नेता नरबहादुर चन्द र वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका नेता पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी प्रतिनिधिसभाको लागि चुनावी मैदानमा छन् ।
पूर्व अर्थराज्यमन्त्री भण्डारी केपी ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री बनेका थिए । दुबै उम्मेदवार यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । बैतडीमा २०७० सालको संविधानसभा निर्वाचनको बेला २ निर्वाचन क्षेत्र रहेका थिए । भण्डारी क्षेत्र नं १ बाट विजयी भएका थिए भने चन्द क्षेत्र नम्बर २ बाट विजयी भएका थिए ।
दुवै गठबन्धनका उम्मेदवार भएकाले कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । दुवै उम्मेदवारले मनोनयन दर्ता गर्ने क्रममा आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । सबै कम्युनिष्टहरु एक भएर आएकोले परिस्थिति अनुसार सबै लोकतान्त्रिक शक्ति एक भएर चुनाब लड्नु परेको वाणिज्य राज्यमन्त्री चन्दले बताए ।
२०७२ सालमा जारी गरिएको संविधानलाई कार्यान्वयन गर्दै आत्मनिर्भर अर्थतन्त्रको बाटोबाट मुलुकको विकास गरी समाजवादको दिशातर्फ अघि बढ्न आफूहरुको उम्मेदवारी भएको बाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार दामोदर भण्डारीको भनाइ छ । बैतडीमा नेपाली कांग्रेस र राप्रपाले लोकतान्त्रिक गठबन्धन र एमाले र माओवादी केन्द्रले बाम गठबन्धनसहित उम्मेदवारी दर्ता गरेका छन् ।
प्रकाशित ८ कार्तिक २०७४, बुधबार
Leave a Reply