चमेलियाबाट बिजुली बाल्ने तयारी अन्तिम चरणमा, प्रशारण लाइनमा विद्युत चार्ज गर्दै

समताखबर
  ४ मंसिर २०७४, सोमबार ०५:१२

काठमाडौं । चमेलिया जलविद्युत आयोजनाबाट बिजुली बाल्ने काम अन्तिम चरणमा पुगेको छ ।

बिजुली बाल्नुपूर्व आयोजनाले १३२ केभी प्रसारण लाइन निर्माण गरिसकेको छ र त्यसमा आगामी बिहीबारदेखि विद्युत प्रवाह चार्ज गर्दैछ ।

दार्चुलाको शैल्य शिखर नगरपालिका वडा नम्बर १ बलाँचदेखि बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको अत्तरियासम्म प्रशारण लाइन निर्माण गरिएको छ ।

४१२ वटा टावर रहेको यो प्रशारण लाइनमा विद्युत प्रवाह गर्नुअघि आयोजनाले सार्वजनिक सूचना निकालेर टावर, तार वा अन्य संरचना छुने वा चढ्ने काम नगर्न आग्रह गरेको छ ।

यो आग्रह गर्दागर्दै पनि कसैले बर्जित क्रियाकलाप गरेर दुर्घटना भएमा आयोजना जिम्मेवार नहुने सूचनामा उल्लेख छ ।

चमेलिया जलविद्युत आयोजनाका प्रमुख अजय कुमार दाहालले भने, ‘प्रशारण लाइन बनिसकेकाले विद्युत चार्ज गर्न लागेका छौं ।

डिसेम्बर १२ मा वेटटेस्ट गर्ने प्लान छ र कुनै समस्या नदेखिएमा तत्कालै चमेलियाबाट बिजुली बल्छ ।’

यसअघि नोभेम्बर ४ देखि नै वेटटेस्ट शुरु गर्ने प्लान थियो । तर हेडवरक्सको काममा समस्या देखिएकाले बिजुली बाल्ने काम पछि सरेको दाहालले बताए ।

सिभिल तर्फ हाल हेड वर्क्समा मर्मतको काम र टनेलमा पानी भर्ने काम भइरहेको छ । २९ कात्तिकदेखि पानी भर्न शुरु गरेको र आज पानी भरिसकिने उनले बताए ।

बाहिरबाट कतै लिकेज नदेखिएमा बिजुली बाल्न तयारी अवस्थामा हुने उनले बताए ।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजना ३० मेगावाट क्षमताको छ ।

यसमा दक्षिण कोरिया सरकारले ऋण सहयोग गरेको छ भने चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी सीजीजीसीले निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *