थरुहट मोर्चाले चरणबद्ध आन्दोलन गर्ने

समताखबर
  १४ फाल्गुन २०७७, शुक्रबार ११:३२

धनगढी : थरुहट–थारूवान् मोर्चाले चरणबद्ध आन्दोलन गर्ने भएको छ । मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारूले चरणबद्ध आन्दोलनको तयारी थालिएको बताए।

मोर्चाले बिहिबार कैलालीको हसुलियामा पत्रकार सम्मेलनको आयोजना गर्दै शान्ति,सद्भाव,न्याय र अधिकारका लागि दासताविरुद्ध विशेष राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जनाएको छ।

मोर्चाका नेता थारूले उक्त सम्मेलनमा सम्पूर्ण राजनीतिक दलका नेता तथा प्रतिनिधि, मानव अधिकारकर्मी, सांसदलगायत सहभागिता गराई हरेक पार्टीभित्र थारूप्रतिको बुझाइबारे बृहत छलफल गरी निष्कर्षको विन्दुमा पुग्ने बताए।

फाल्गुन १६ गते हुने बन्द सत्रमा दलित, खसान, तमुवान मगरात लगायत सम्पूर्ण पहिचानबादीबीच छलफल हुने पनि थारूले जानकारी दिए।

यस्तै मोर्चाका केन्द्रीय प्रवक्ता मीनराज थारूले सम्पूर्ण थहरुहट शक्तिलाई एकताबद्ध गर्न सम्मेलनको आयोजना गरिएको बताए। सम्मेलनमा मेचीदेखि महाकालीसम्मका नेता तथा प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ ।

कानुनी लडाइका लागि सर्वोच्च अदालत जाने र सडक संघर्ष गर्ने मोर्चाले दुबै रणनिति लिने बताइएको छ । अबको आन्दोलन प्रतिरोधात्मक र प्रतिकात्मक हुने प्रवक्ता थारुले बताए । थरुहट यूवा मोर्चाका केन्द्रीय अध्यक्ष सीताराम थारुले सम्मेलनमा सहभागीहरुमाथि सरकारले खानतलास गरे प्रतिकारमा उत्रिने बताए ।

टीकापुर सम्मेलनमा सुरक्षा निकायले धेरै खानतलासी गरेर कार्यक्रमका सहभागीहरु मनोबैज्ञानिक रुपले त्रसित भएको बताउँदै सुरक्षाकर्मीलाई सहयोग गदिदिन अनुरोध समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *