लमहीमा २५ शैय्याको एचडियू अस्पताल सञ्चालनमा

समताखबर
  २१ बैशाख २०७८, मंगलवार १४:५४

देउखुरी : लमहीमा कोरोना सङ्क्रमितको उपचारका लागि २५ शैय्याको एचडियू अस्पताल सञ्चालनमा आएको छ।

देउखुरीका चार स्थानीय पालिकाको लगानीमा अस्पताल सञ्चालनमा आएको र सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु भएको अस्पतालले जनाएको छ। 

कोरोना अस्पताल निर्माण गरेर उपचार थालिएको छ, अस्पतालका प्रमुख डा.पुष्प भुसालले भने, ‘अक्सिजनसहितको अस्पताल तयार भएको हो। यसले कोरोनाका बिरामीको उपचारमा केही सजिलो हुने छ।’ 

अक्सिजन दिएर उपचार गर्नु पर्ने सङ्क्रमितलाई अस्पतालमा भर्ना गरेर उपचार गरिने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए। पहिलो चरणमा १२ शैय्या तयारी अवस्थामा रहेको र छिटै शैय्या थपेर २५ पुर्‍याइने उनको भनाइ छ ।

दाङका सबै पालिकाले कोरानाका बिरामीको उपचारका लागि अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाएका छन्। देउखुरीमा चार पालिका मिलेर बनाइएको कोरोना विशेष अस्पताल पनि सञ्चालनमा आएको छ।

जिल्लाका दुई उपमहानगरपालिकाले पनि आइसोलेशन सेन्टर तयारी अवस्थामा रहेको जनाएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैय्याको आइसोलेशन सेन्टर तयार पारेको छ भने घोराही उपमहानगरपालिकाले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरी कोरोना बिरामीका लागि आवश्यक पर्ने शैय्या तयार गर्न शुरु गरेको नगर प्रमुख नरुलाल चौधरीले बताए।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *