कोरोना संक्रमणबाट जोगिन सावधानी अपनाउन चिकित्सकको सुझाव

सुष्मा सुनार
  २१ बैशाख २०७८, मंगलवार १७:२१

चितवन : भरतपुर अस्पतालका डा.भोजराज अधिकारीले नयाँ भेरियन्टको कोभिड–१९ पहिलेभन्दा धेरै जोखिमपूर्ण रहेकाले अहिलेको अवस्थामा आफु मात्र नभएर सिंगो समुदायको लागि सतर्कता र सावधानी अपनाउन आग्रह गरेका छन् ।

डा.अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कोभिड फैलावटको चेन ब्रेक गर्न भूमिका खेल्नुपर्ने बताएका छन् । उनले कोरोनाको पहिलो चरणभन्दा अहिले विभिन्न कारणले फरक रहेको औँल्याएका छन् ।

भरतपुर अस्पतालमा अघिल्लो वर्ष ११० जना भर्ना हुँदा करिब २० जनालाई मात्रै अक्सिजन लगाउनु परेकोमा अहिले शतप्रतिशतनै अक्सिजन जरूरी रहेको, गतवर्ष बढी उमेर र दीर्घरोगीमा कोभिड–१९ देखिएकोमा अहिले बालबालिकादेखि सबै उमेरका मानिस प्रभावित भएको, अहिले संक्रमित देखिएकाहरु अस्पतालको बसाइ लामो हुँदा फोक्सोमा दीर्घ क्षति हुने संकेत देखिएको उनले स्टाटसमा लेखेका छन् ।

अस्पतालमा भर्ना भएका बिरामीका आफन्त आफू संक्रमित भईकन पनि लुकाएर अस्पतालमा घुमिरहेको देखिएकाले यस्तो प्रवृत्तिले समुदायमा कोभिड–१९ झन् सक्रिय बनेर रहने सम्भावना उनले औँल्याएका छन् ।

अघिल्लो वर्ष कोभिड वेभमा माइल्ड, मोडरेट र साभिर अर्थात सामान्य, मध्यम र गम्भीर वर्गीकरण गरी उपचार गरिएकोमा अहिले एउटै बिरामीलाई चौबीसघन्टामा तीनै चरणबाट होम आइसोलेसन हुँदै एचडियू र आइसियूमा सर्नुपर्ने अवस्था देखिएको उनले जनाएका छन् ।

अघिल्लो वर्ष भेन्टिलेटरको बखान बढी भए पनि अहिलेको वेभमा अक्सिजन पाउनु नै भाग्यमानी हुनुपर्ने अवस्था देखिएकाले यस्तो अवस्थामा हाम्रो समाजबाटै यो रोग सुरू र आदानप्रदान हुने हुँदा जनस्तरमा सावधानी हुने उपाय जानेर पनि नअपनाउने गरेको उनको गुनासो छ ।

घरमा पाँच जना कोभिड–१९ पोजेटिभ भए लक्षण नदेखिने सदस्यले आफ्नो रिपोर्ट लुकाएर तरकारी बजार र औषधि लिन अस्पतालसम्म आएको पाइएको उनले बताएका छन् । संक्रमितहरु होम आइसमेलेसन र अस्पतालमा मात्र नभई समुदायमै घुम्ने कारणले रोग नियन्त्रण बाहिर जाने जोखिम बढेको उनले औँल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *