महामारीमा रोग र भोकसँग लडिरहेका बाढीपीडित

समताखबर
  २५ बैशाख २०७८, शनिबार १४:१६

सुर्खेत : चारैतिर घना जंगल । जंगलको बीचमा खरले छाएका टहरा (घर) । जहाँ बाढी पीडितको बसोवास छ । सुर्खेतको बराहाताल र वीरेन्द्रनगर पालिकाको सिमानास्थित गिरिघाटमा उनीहरू आठ वर्षदेखि बसिरहेका छन् ।

छेउमै छ कर्णाली राजमार्ग छ । कोभिड महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण राजमार्ग सुनसान छ । २०७१ साउन २८ र २९ गतेको अविरल वर्षापछि आएको बाढीले सुर्खेतका केही स्थानीय तहका नागरिकलाई पूर्णरूपमा घरवारविहीन बनाएको थियो ।

विनासकारी बाढीमा आफन्त गुमाउँदाको पीडा उनीहरूले बिर्सिएका छैनन् । कोभिड–१९ महामारीका कारण जारी निषेधाज्ञाले उनीहरूलाई थप पीडा दिएको छ । 

दैनिक ज्याला मजदुरी गरेर जीवन चलाउने उनीहरूको दैनिकी निषेधाज्ञाले बिथोलिएको छ । निषेधाज्ञापछि यहाँका बासिन्दाको रोजीरोटी खोसिएको छ ।

गिटी कुटेर गुजारा चलाउँदै आएका उनीहरूलाई अहिले के खाऊँ ? कसरी बाचौं भन्ने पीर छ । बाढीपीडित बस्तीका नागरिकहरू अहिले रोग र भोकसँग लडिरहेका छन् । ‘हाम्रो मुख्य काम नै गिटी कुटेर जीविका चलाउने हो,’ ६९ वर्षीया कौशिला नेपालीले भनिन्, ‘निषेधाज्ञाका कारण गिटी बिक्री भएका छैनन् ।’

उनकाअनुसार गिटी बिक्री नहुँदा भोकै बस्नुपर्छ । मौसम परिर्वतनका कारण बालबालिका बिरामी परेका छन् । उपचार गर्ने पैसा छैन । गत वर्षको लकडाउनमा विभिन्न संघ संस्थाबाट सहयोग गर्नेहरू आए पनि यो पटक अहिलेम्म कोही नआएको उनले गुनासो गरिन् । निषेधाज्ञामा विकास निर्माणका कामलाई निरन्तता दिने भनिए पनि उनीहरूको गिटी किन्न कोही आउदैनन् । 

‘७ वर्षदेखि टहरामा बस्दै आएका छौं,’ ६४ वर्षीय रूप विकले भने, ‘उमेर बढ्यो । काम गर्न सकिदैन । गिटी कुट्दा पाखुरा समेत दुख्छन् ।  राति पूरै जिउ दुख्छ । हड्डी खियाँएर कुटेको गिट्टीसमेत बिक्री नहुँदा निषेधाज्ञामा भोकै मरिन्छ कि भन्ने पीर लाग्छ ।’ 

महामारीको समयमा प्रदेश र स्थानीय सरकारले समेत केही नगरेको रूप विकले बताए । सरकार पनि हुनेखानेका लागि हो कि भन्ने आफूलाई लागेको उनले गुनासो गरे । ‘संघीय, प्रदेश तथा स्थानीय सरकार छन् । ती सबै हुने खानेहरूका लागि मात्रै रहेछन् । हामीलाई कसैले हेर्दैनन्,’ उनले भने, ‘हामीलाई साँझ बिहान के खाने चिन्ता छ ।’

इकागजबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *