बैतडीमा बढाइयो एकल पुरुषको भत्ता

समताखबर
  २६ असार २०७८, शनिबार ०९:४९

बैतडी : बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिने गरिएको छ।

जिल्लाको मेलौली नगरपालिकाले एकल पुरुषलाई भत्ता दिने गरेको हो।

नगरपालिकाले आगामी आर्थिक वर्षदेखि भत्तामा ५ सय रुपैयाँ थप्ने भएको छ। यसअघि मासिक १ हजार ५ सय रुपैयाँ भत्ता दिने गरिएको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन्।

नगरपालिकाले ३ वर्षयता ५० वर्षभन्दा माथि र ६० वर्षभन्दा मुनिका विदुरलाई सो भत्ता दिइरहेको छ।

उनले भनिन्, ‘एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा हुन्छन्, त्यसैले उनीहरूको जीवनयापन सहज होस् भनेर भत्ता दिएका हौं।’

उनका अनुुसार मेलौली नगरपालिकाका ८८ पुरुषले एकल भत्ता लिइरहेका छन्। ​

यस्तै नगरपालिकाले टुहुरा बालबालिकाको भत्ता पनि बढाएको छ। आमा बुवा दुवै गुमाएका बालबालिकाको सहयोगका लागि ३ वर्षयता टुहुरा बालबालिकालाई भत्ता दिने गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकामा आमाबुवा दुवै गुमाएका बालबालिका १९ जना छन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *