‘युवा पत्रकारिता पुरस्कार-२०७८’ बाट राष्ट्रिय दलित पत्रकार संघ नेपालकी केन्द्रीय सदस्य राधा नेपाली पुरस्कृत

अमिर रामदाम
  ३१ असार २०७८, बिहीबार १३:४२

काठमाडौं : नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट यो वर्षको  ‘युवा पत्रकारिता पुरस्कार- २०७८’ बाट सञ्चारकर्मी राधा नेपाली पुरस्कृत हुनु भएको छ ।  

युवा तथा खेलकुद मन्त्रालयले देशभरबाट आह्वान गरेको मनोनयनबाट मन्त्रालयको मूल्याङ्कन समितिले नेपाली सहित चार जनालाई बुधबार उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि प्रति व्यक्ति रु ५० हजार रहेको छ । 

मन्त्रालयमा एक कार्यक्रमको आयेजना गरी युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले दोसल्ला र प्रमाण पत्र सहित पुरस्कार प्रदान गर्नुभएको थियो ।

युवा पत्रकारिता पुरस्कारको कार्यविधि अनुसार एक महिला सहित चार जनालाई उक्त पुरस्कार प्रदान गरिएको हो । 

१६ वर्ष पहिले अग्रगती साप्ताहिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नु भएकी नेपाली अहिले तरङ्ग राष्ट्रिय पाक्षिकमा सम्पादकको रूपमा कार्यरत हुनुहुन्छ।  उहाँ २०६४ सालमा अर्घाखाँची एफएम १०५.८ मेगाहर्जको संवाददाता, २०७० सालमा सुपादेउराली राष्ट्रिय पाक्षिकमा सहसम्पादक, २०७२ सालमा नयाँ एफएम ८७.६ मेगाहर्जको समाचार प्रमुख हुँदै विभिन्न पत्रपत्रिका तथा अनलाईन मिडियाहरुमा क्रियाशील हुनुहुन्छ।  उहाँ राष्ट्रिय दलित पत्रकार संघ, नेपाल र नेपाल पत्रकार महासंघकी  केन्द्रीय सदस्य समेत हुनुहुन्छ। 

नेपाली सहित चितवनबाट ईमेज च्यानलमा कार्यरत डोलराज रानाभाट, धनुषाबाट जनता टेलिभिजनमा कार्यरत शिवकुमार अधिकारी र सिरहाबाट अप्पन टेलिभिजनमा कार्यरत अजयकुमार  साह पनि छनौटमा परी पुरस्कृत हुनुभएको छ ।

युवाहरुको सवालमा क्रियाशिल पत्रकारिता गरिरहेकाहरुलाई प्रोत्साहन स्वरुप वर्षेनी यो पुुरस्कार दिँदै आएको सचिव न्यौपानेले जानकारी दिनुभयो ।

कलम र क्यामेरा चलाउने पत्रकारहरुलाई थप प्रेरणा मिलोस् भन्ने उद्देश्यले यो पुरस्कार वितरण गरिएको उनको भनाई छ । कार्यक्रममा उपसचिव वन्दना झा, शाखा अधिकृत राजेश गौतम लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *