मुक्त कमैयाका सवालमा रणनीति तयार पार्न कार्यशाला

समताखबर
  ४ माघ २०७८, मंगलवार १६:०८

बुटवल : लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा मुक्त कमैयाका सवालमा प्रदेश स्तरीय परामर्श कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ ।

राष्ट्रिय दलित नेटवर्कले नेपालमा कृषी बधुवा मजदुरहरुः हरवाचरवा,मुक्त हलिया र मुक्त कमैया प्रथाको अन्त्यका लागि संयुक्त रुपमा रणनीति निर्माण गोष्ठीको आयोजना गरेको हो । 

कार्यशाला गोष्ठीको उद्घाटन संबिधानसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी बिनोद पहाडीले गरेका थिए । उद्धघाटनको क्रममा पहाडीले नेपालमा शोषणको मारमा परेका बर्ग समुदायको समग्र मुक्तिका लागि एकिकृत कान्ति जरुरी रहेको कुरा बताए । पहाडीले भने,आवाज बिहिनहरुको आवाज बुलन्द गर्न एकिकृत आन्दोलन र संगठनको अपरिहार्यता रहेको कुरामा जोड दिए ।

०६४ सालमा काठमाडौंमा भएको ४८ दिने बादी आन्दोलनले गर्दा नै नेपाल सरकार आन्दोलनकारी समक्ष झुकेको उदाहरण प्रस्तुत गर्दै उनले संयुक्त रुपमा लड्नुको विकल्प नरहेको बताए ।

राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष गणेश बिश्वकर्माले अहिले पनि नीतिगत सवालमा दोहोरोपना भएकोले दाश प्रथाको अवशेषको रुपमा रहेको हरवाचरवा, मुक्त हलिया र कमैयाहरुको बास्तविक मुक्ति हुन नसकेकोले उनीहरुले मानवअधिकार र स्वतन्त्रताको अनुभुति गर्न नसकेको कुरामा जोड दिए । त्यसका लागि नयाँ युगको शुरुवात नयाँ ढंग र परिवेशबाट हुनुपर्ने कुरा विकले औल्याए ।

द फ्रिडम फण्डका परामर्शदाता एवं कानुनी सल्लाहकार बालाराम भट्टराईले समाजमा अन्यायपूर्ण श्रम सम्बन्ध बाँकी रहेसम्म बाध्यकारी श्रम उन्मुलन नहुने भएकोले यसका लागि साझा र ऐक्यबद्धता अभियानको आवश्यकता रहेको बताए । उनले आधुनिक दासत्व प्रणालीका लागि नेपाल सरकारले तिन वटै तहमा आवश्यकतामुखी कानुन निर्माण गरि त्यसको प्रभावकारी कार्यान्वयन र अनुगमन संयन्त्रको बिकास गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा जिफण्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम, एक्सन एड ईन्टरनेसनल नेपालका सुजात श्रमनेरा, दियालो  कमैया महिला जागरण समाजका केन्द्रीय सचिव संगिता थारु, मुक्त कमैया तथा सुकुम्बासी संगम समाजका अध्यक्ष भक्त बिश्वकर्मा र नेपालका अध्यक्ष तारा थापाले महत्वपूर्ण बिचार ब्यक्त गरेका थिए ।

मुक्त कमैया समाजका केन्द्रीय कोषाध्यक्ष हरीचन्द्र चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेटवर्कका केन्द्रीय सदस्य मीना परियारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण नेटवर्कका टीम लिडर हुकुम बहादुर सार्कीले गरेका थिए ।

कैलाली,कञ्चनपुर,बाँके, बर्दिया र दाङ्गबाट कार्यशालामा सहभागिता रहेको थियो । मुक्त कमैया संगठनका प्रतिनिधिहरुबीच गरिएको कार्यशालामा यस अघि सम्बन्धित ५ वटा जिल्लाहरुमा आयोजना गरिएका परामर्श गोष्ठीहरुको निष्कर्ष प्रस्तुतीकरणका आधारमा मुक्त कमैया सवालमा स्थानिय र प्रदेश स्तरमा अपेक्षा गरिएका परिवर्तनहरुको पहिचान गरि त्यसको प्राथमिकिकरण गरिने र त्यसलाई राष्ट्रिय स्तरको संयुक्त रणनीति योजना कार्यशाला गोष्ठीमा प्रस्तुत गरिने कमैया महिला जागरण समाजका परियोजना अधिकृत दुर्गा चौधरीले जानकारी गराईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *