संस्कृति जगेर्नासँगै जीविकोपार्जन गरिरहेका सौराहाका थारू समुदाय

बिना सुनार
  २१ फाल्गुन २०७८, शनिबार १३:२९

चितवन : सौराहा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरू बेलुकाको सात बजेदेखि एक सांस्कृतिक टोलीको प्रतीक्षामा थियो । साँझको समय सौराहाको रमझम त्यसमा पनि थारू नृत्य हेर्ने आतुरता सबैमा थियो । यसैबीच सौराहाको ल्यान्डमार्क फरेस्ट पार्कको चौरमा सेतो धोती निलो र गुलाफी रङ्गको हाफ कमिज लगाएका करिव १५ जनाको समुह ढोलक बजाएर भित्रिएपछि एक तमासको उत्साह नै छायो । एकछिनमै त्यहाँ कुनै सांस्कृतिक मेला-महोत्सव जस्तै माहोल बन्यो । आफ्नै भेषभुषा, बाजा गाजा, नाच अनि थारू भाषाको गीतमा उक्त टोलीले प्रस्तुति दिन थाल्यो । आधुनिक देखिने होटलको प्राङ्गणमा युवा टोली भित्रिँदा आधुनिकता र ऐतिहासिकताको फ्यूजन झैँ लाग्थ्यो ।

यो समूहले झण्डै एक घण्टासम्म विभिन्न प्रस्तुतिहरू दिएर मनोरञ्जन दियो । उनीहरूले आफ्नो प्रस्तुती दिँदै गर्दा हेर्न बसेका उत्साहित सहभागीले आफूलाई थाम्न सकेनन् अनि बस्न छोडेर उनीहरू सँगै नाच्न थाले । आगन्तुकहरू पनि थारू टोलीसँगै झुम्न थाले । गीतको भाषा बुझ्न कठिन भएता पनि यसको मिठासले उपस्थित सबैलाई तानिरहेको थियो । यो समूह पनि पर्यटकलाई थप मनोरञ्जन मिलोस् भनेर बेला मौकामा थारू गीतसँगै नेपाली भाषाका गीत पनि गाउँदै नाच्ने गर्थे । थारू साँस्कृतिक प्रस्तुतिमा रमाइलो गर्दागर्दै १ घण्टा बितेको कसैले पत्तै पाएनन् । यसरी निरन्तर प्रस्तुती देखाएपछि भने यो समूह थकानले लथ्रक्क पर्‍यो ।

करिव पाँच मिनेट होटलकै चौरमा थकान मारेपछि टोलीका प्रमुख महादेव चौधरी (३०) पसिना पुछ्दै “जाँऊ जाँऊ साथीहरू ढिला हुन लाग्यो” भनेर साथीहरूलाई हतार लाउँदै थिए । त्यसदिन उनीहरूको टोलीले ३ वटा होटलमा प्रस्तुती दिनुपर्ने रहेछ । दुईवटा होटलमा प्रस्तुती दिइसकेपछि तेस्रो होटलमा जानका लागि उनीहरू हतारिएका रहेछन् ।

“अहिले पर्यटक बढेका छन् त्यसैले हाम्रो माग धेरै छ । यो समयमा त भ्याइनभ्याई नै हुन्छ,” महादेव सुनाउँछन् । चितवनको सौराहामा जन्मिएका महादेव १५ वर्षको उमेरदेखि नै थारू नृत्यमा सहभागी हुँदै आएका छन् । थारू डन्डी नाच (स्टिक डान्स) समूहको नेतृत्व उनले गर्छन् । उनीसँगै तालमा ताल मिलाउने अरू २० जना साथीहरू छन् समुहमा । उनीहरूले आफ्नो संस्कृति जोगाउनका लागि यो समूह खोलेका थिए तर अहिले यही नृत्य उनीहरूको जीविकोपार्जनको बलियो स्रोत बनेको छ । उनी भन्छन्, “हाम्रो दैनिकी यही नाच देखाएर चल्ने गर्छ । पर्यटक आउने सिजनमा चाहिँ राम्रै कमाई हुन्छ।”

जीवनको आधा समय व्यवसायिक थारू नाच गरेर बिताएका महादेवलाई कहिले र कसरी यो नाच सिकियो भन्ने याद छैन । सानैदेखि आफ्नो गाउँघरमा दसैँ, माघी जस्ता चाडबाड तथा विभिन्न मेला महोत्सवमा थारू समुदायले आफ्नो संस्कृतिको नाच देखाउने हुँदा आफूभन्दा ठुलाबडाले नाचेको गाएको देखेर नै सिकेको उनी बताउँछन् । उनी भन्छन्, “बाबु बाजेले गाएको नाचेको देखेर हामीले पनि सिक्यौँ । अहिले चाँहि हामी पछाडिका पुस्ता हामीलाई हेरेरै गाउन नाच्न सिकिसके ।”

थारू समुदाय बस्ने गाउँघर नजिकै जङ्गल भएकोले बालीनाली बिगार गरिदिने, खाइदिने भएको हुँदा जंगली जनावर धपाउन लाठी खेलाउन सुरु भएको र यो अभ्यास नै समयक्रममा बिस्तारै परम्परा बन्दै गएको स्थानीय बताउँछन् । पहिले यो नाच थारू समुदायमा मात्र सीमित हुने गर्थ्यो । बिस्तारै सौराहा पर्यटकीय क्षेत्र बन्दै गएपछि यसलाई संस्कृति प्रवर्द्धन गर्दै उद्यम बनाउँदै गएको महादेव बताउँछन् ।

नेपालकै तेस्रो महत्वपूर्ण पर्यटकीय गन्तव्य हो, चितवनको सौराहा । यहाँको मनोरम वातावरणीय माहोलमा समय बिताउन, निकुञ्जको भ्रमण गर्न वर्षेनी स्वदेशी अनि विदेशी लाखौँ पर्यटक पुग्ने गर्छन् । मुख्यगरी सौराहामा वन्यजन्तु पर्यटन फस्टाएको भए पनि यहाँ आएका पर्यटकले थारू संस्कृतिमा रमाउन भने छुटाउँदैनन् । सौराहामा यस प्रकारले थारू नाच देखाउने कलाकारहरूमा अधिकांश युवा छन् । पहिले यहाँ बस्ने थारू समुदायका युवाहरू कोही कृषि व्यवसाय गर्दथे त कतिले वैदेशिक रोजगारीलाई मात्र प्रमुख जीविकोपार्जनको आधार मान्ने गर्थे । यो टोलीका नाइके महादेव पनि सौराहाबाट विदेशिने एक युवा थिए । उनी थारू नृत्य देखाउने काममा त लागे तर गुजारा नै चल्न गाह्रो भएपछि आम्दानीको नयाँ आधार खोज्दै मलेसियामा पलायन भए ।

तर मलेसियामा रहँदा बालापनदेखि नाच्दै आएको थारू नाच उनको आँखा अगाडि झल्झली आइरहन्थ्यो भने ढोल, डम्फु, मादल लगायतको धुन कानमा गुञ्जिरन्थ्यो । सँगै नाच्ने गाउने साथीहरूको यादले पनि उनलाई नेपाल फर्कन वाध्य बनायो ।

“सुरुवातमा नाच देखाएर आम्दानी हुँदैन थियो, जीविको धान्न मुस्किल भएपछि म पनि दुईचार पैसा कमाउने आशामा विदेशिएको थिएँ,” महादेव सुनाउँछन्। विदेशमा लामो समय बसेनन् महादेव । अन्ततस् उनलाई थारू संस्कृतिले पुनः देशमा बोलायो र उही धोती र कुर्थामा सजिएर हातमा डन्डी लिएर ‘सखी अई हो ‘’ भन्दै गाउन नाच्न थाले ।

पहिला यो नाचगान हेर्ने मानिस सीमित थिए । केही वर्षयता भने सौराहाको ब्रान्ड नै बनेको छ थारू नाच । त्यसैले पनि महादेव जस्ता विदेश गएका धेरै युवा फर्किएर नाच देखाउने काम गर्न थालेका छन् । “आखिर विदेशमा पनि दुःखनै गर्नु पर्ने रहेछ, मलेसिया ४ वर्ष बसेँ । त्यहाँ गर्ने जति मेहनत यहाँ गर्ने हो भने राम्रो कमाई हुने सोचेर नेपाल फर्कें,” महादेव भन्छन् ।

विशेषगरी साँझको समयमा मात्र विभिन्न होटेलमा गएर नाच देखाइने हुँदा दिनको समयमा अरू पेसा व्यवसाय पनि गर्न सकिने भएकाले यहाँका युवाहरू यो पेसाप्रति झनै आकर्षित भएका छन्। महादेव पनि दिनभरी आल्मुनियम र फलामको काम गरेर साँझमा नाच देखाउने काम गर्छन् ।

“यो काम सजिलो पनि छ । दिउँसो अरू कामलाई समय दियो अनि बेलुका नाचगान देखायो । यसो गर्दा दुई तिरबाटै आम्दानी हुन्छ,” महादेव सुनाउँछन् । यसरी दुईवटा पेसा अङ्गालेका महादेवलाई दिउँसो गर्ने कामभन्दा साँझको काममा बढी रूचि छ । उनी आफ्नो कला पनि देखाउन पाउँछन् र स्वदेशी विदेशी पर्यटकबाट तारिफ पनि सुन्न पाउँछन् । उनलाई आफ्नो पेशा, संस्कृति र समुदायप्रति गर्व छ ।

थारू समुदायको आफ्नै भाषा, संस्कृति, रहनसहन, रीतिरिवाज, लिपि तथा इतिहास रहेको छ । थारूहरू नेपालको तराई क्षेत्रको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न २० जिल्लामा विशेषतः भित्री मधेशमा छरिएर बसोबास गर्दछन् । यो जाति नेपालका आदिवासी जनजातिमध्ये बढी जनसंख्या भएको जाति हो ।

सौराहामा समूहगत रुपमा थारू युवायुवती मिलेर झमटा नाच, ठेकरा नाच, लाठी नाच, झुमरा डम्फु नाच प्रस्तुत गर्छन् । सौराहामा सीमित भएको थारू नाचले केही हदसम्म व्यावसायिकता पाएता पनि अन्य क्षेत्रमा भने यसको प्रवर्द्धन खासै भएको पाइदैन । राज्यले यसको जगेर्ना राम्रोसँग गर्न नसक्दा देशका अन्य ठाउँमा थारु संस्कृति आयआर्जनको सम्भावना भएता पनि सो अनुसारको काम प्रभावकारी रुपमा हुन सकेको छैन ।

“सरकारले थारू संस्कृति र यसलाई बचाउनका लागि कलाकारिता गर्नेहरूलाई सम्मान गर्ने, आर्थिक साहयताको व्यवस्था गरिदिने र यसको मौलिकतालाई जोगाउनलाई गम्भिर भएर पहल गरे यो संस्कृतिले थुप्रै पर्यटक तान्न सक्छ । हामी कलाकारलाई मात्र होइन पर्यटन क्षेत्रका व्यवसायी र सिङ्गो राज्यलाई नै यसबाट फाइदा हुन्छ,” महादेव भन्छन् ।

महादेव जस्तै थारू नाचगान देखाउँदै आएका कलाकारले यसका लागि छुट्टै तालिम लिएका छैनन् । पुस्तान्तरण हुँदै गर्दा उनीहरूले पनि गाउने नाच्ने कला सिके । महादेव भन्छन् “मेरो सन्तानलाई पनि म जस्तै नाच्न सिकाउँछु, हाम्रो मौलिकता र संस्कृति सँधै बाँचिरहोस् अनि हाम्रो जीविको पनि चलिरहोस् भन्ने मेरो चाहना छ ।”

जीविको डटकमबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *