
म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयको स्तरोन्नति तथा विकासका लागि स्थानीय जुटेका छन् ।
विक्रम संवत् २०४२ सालमा स्थापना भएको विद्यालयको विकास तथा स्तरोन्नतिका लागि देश विदेशमा रहेका बगरफाँटवासी जुटेका हुन् ।
७ कक्षासम्म पढाइ हुँदै आएको विद्यालयमा १०२ विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । म्याग्दी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापाको संयोजकत्वमा ५१ सदस्यीय शैक्षिकस्तर वृद्धि तथा आर्थिक सहयोग संकलन समिति गठन गरेर अभियानलाई तीव्रता दिएको शिक्षिका घनदेवी घर्तीले जानकारी दिइन् ।
विद्यालयको स्तरोन्नति र शैक्षिक विकासका लागि अहिले देश विदेशमा रहेका विद्यालयका पूर्व विद्यार्थी, शुभचिन्तक तथा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक र स्थानीयबाट आर्थिक संकलन अभियान शुरू गरिएको अभियानका संयोजक कृष्णबहादुर थापाले जानकारी दिए ।
स्थानीय युवा तथा विद्यालयका पूर्व विद्यार्थी पद्यम घिमिरेले विद्यालयको सर्वाङ्गीण विकासका लागि समुदायको साथ र सहयोग आवश्यक पर्ने भएकाले देशविदेशमा रहेका बगरफाँटवासीले आफ्नो गाउँको विद्यालयलाई नमूना विद्यालय बनाउने अभियान सञ्चालन गरिएको बताए ।
विद्यालयको स्तरोन्नति र विकासका लागि हाल अमेरिकामा रहेका सन्देश कार्की र पोर्चुगलबाट भाइकुमार कार्कीले आफ्ना स्वर्गीय बुबा कृष्णबहादुर कार्कीको स्मृतिमा कृष्ण कार्की स्मृति अक्षयकोषका लागि १ लाख ५० हजार प्रदान गरेका छन् । कोषमा रकम वृद्धि गरी १० लाख रुपैयाँ पुर्याउने सन्देश कार्कीले घोषणा गरेका छन् ।
स्थानीय तथा समाजसेवी मीनबहादुर कार्कीले ५५ हजार ५५५, कृष्णबहादुर थापाले ५१ हजार १११, चित्रबहादुर रिजालले ५१ हजार १०५, चन्द्रबहादुर घिमिरेले ५१ हजार १०० विद्यालयका प्रधानाध्यापक छेमबहादुर पुनले ४० हजार १०५ रुपैयाँ सहयोग प्रदान गरेका विद्यालयले जनाएको छ ।
लोकान्तर डटकमबाट साभार
Leave a Reply